पुस्तकमा १० प्रतिशत भन्सार र नेपाली भाषाका दुई सय वर्ष

नेपाली प्रकाशन क्षेत्र दुई सय वर्ष पुरानो हुँदैछ । सन् १८२० को एटनको ग्रामर र १८२१ को बाइबलबाट नेपाली भाषाका किताबहरू छापिन सुरु भएको बताइन्छ । नेपाली भाषाको दुई सय वर्षमा प्रत्येक वर्ष पाँच सयका दरले लगभग १ लाख पुस्तक प्रकाशित भएको अनुमान छ । छिमेकी देश चीनमा प्रत्येक वर्ष चार लाख ७५ हजार र भारतमा ९० हजार नयाँ किताब छापिन्छन् ।

संस्करणका आधारमा नेपाली भाषाका सबैभन्दा धेरै बिक्री–वितरण भएका किताबहरूमा भानुभक्तको रामायण, लक्ष्मीप्रसाद देवकोटाको मुनामदन, माधवप्रसाद घिमिरेको गौरी, पारिजातको शिरिषको फूललगायत छन् । एउटै लेखक, प्रकाशक, संस्करण वा एक कृतिका आधारमा सबैभन्दा लोकप्रिय भनेर भन्न नसकिए पनि हाम्रो समाजले सबैभन्दा धेरै उपयोग गरेको विषय यही हो । यसले हाम्रो पठन संस्कृति र हामीले पढ्ने विषयको अवस्था देखाउँछ । नेपाली मुद्रण परम्परा र प्रकाशित पुस्तकलाई हिन्दी, संस्कृत, बंगाली तथा अन्य कतिपय स्थानीय भाषाका सामग्रीले प्रभाव पारिरह्यो ।

आर्थिक वर्ष ०७५-७६ देखि पुस्तकमा भन्सार शुल्क १० प्रतिशत लगाउन गरेको निर्णय अहिले कार्यान्वयनमा पनि आइसक्यो । सरकारले विदेशबाट आयात हुने सबै प्रकृतिका मुद्रित सामग्रीमा भन्सार लगायो । एकोहोरो गाता भएका वा नभएका मुद्रित किताब, पत्रपत्रिकामा भन्सार शुल्क अनिवार्य बनायो । केटाकेटीको तस्बिर भएको, रेखांकन गर्ने वा रङ भर्ने किताबमा पनि भन्सार शुल्क लाग्ने भयो । यसअघि यो विषय थिएन

सरकारले आर्थिक वर्ष ०७५-७६ बाट पुस्तकमा भन्सार शुल्क लगाउने निर्णय गरेपछि साउन १९ गते नेपाल राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशक संघका ९ जना प्रतिनिधि अर्थमन्त्री युवराज खतिवडालाई भेट्न सिंहदरबार पुगे । यसपटक कानुन बनिसकेकाले त्यसमा पुनर्विचार गर्न नसकिने जवाफ दिएर कानूनअनुसार नै आयात गर्न सल्लाह दिएर पठाए । सरकारले आर्थिक वर्ष २०७५÷०७६ देखि पुस्तकमा भन्सार शुल्क १० प्रतिशत लगाउन गरेको निर्णय अहिले कार्यान्वयनमा पनि आइसक्यो ।

सरकारले विदेशबाट आयात हुने सबै प्रकृतिका मुद्रित सामग्रीमा भन्सार लगायो । एकोहोरो गाता भएका वा नभएका मुद्रित किताब, पत्रपत्रिकामा भन्सार शुल्क अनिवार्य बनायो । केटाकेटीको तस्बिर भएको, रेखांकन गर्ने वा रङ भर्ने किताबमा पनि भन्सार शुल्क लाग्ने भयो । यसअघि यो विषय थिएन । नेपालमा किताब आयात गर्न सहज थियो । अब गाता हालेको वा नहालेको, निर्देश चित्र भएको वा नभएको, हस्तलिखित वा छापेको संगीत किताबमा समेत भन्सार लगाइयो ।

नेपाली कांग्रेसका सांसद गगन थापाले संसद्मै बोले– ‘किताबलाई महँगो बनाउँदै यसमा नियन्त्रण गर्न र प्रकारान्तरमा ज्ञानमा नियन्त्रण गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो ।’ नेपालमा पुस्तक भन्सारको लफडा यो नै पहिलो होइन, आव ०५४÷५५ मा किताबमा भन्सार शुल्क लगाउने निर्णय गरिएको थियो, तर विरोधपछि निर्णय फिर्ता भयो । लेखक युग पाठकले भने– ‘अनुमान गरौँ, हाम्रोमा बौद्धिक अभ्यास हुँदैन थियो भने के हुन्थ्यो ? अनुमान गरौँ, हामीले सोच्न छाडिदियौँ भने के हुन्थ्यो ? ज्ञान उत्पादनको काम यहाँ समस्याग्रस्त छँदैछ ।

त्यसमाथि संसारभर भएका चिन्तन नेपालभित्र आइपुग्ने कुरालाई झनै महँगो बनाइदिने हो भने यहाँको हालत के होला ? यो त पढ्न निरुत्साहित गर्ने काम भयो । अव्यवहारिक अभ्यासमा उत्रिनु हुँदैन ।’ त्यसैले अहिले सरकारले थोपरिदिएको भन्सारले ज्ञान उत्पादनका क्षेत्रमा भइरहेको प्रयासलाई मलजल गर्नुको सट्टा वेलैमा संकट सिर्जना गरेको छ ।

हिमालय बुक्सका प्रकाशक वसन्त थापाले भने– ‘भन्सार मात्रै होइन, भ्याट पनि लागू गरिदिन सक्छ । यो त सुरुवात हो, यसैसँग जोडिएर अन्य सानातिना कर त अहिले पनि तिर्नुपर्छ । यहाँबाट ठूलो राजस्व उठ्ने पनि होइन, त्यसैले सरकारको नियतमाथि शंका गरेको हौँ, हामीले । कर र उमेर कहिल्यै घट्दैन, यो बढ्छ । अर्को साल फेरि बढाउँछ । यो गलत सुरुवात हो, नगरौँ । सवाल के हो भने कुन प्रयोजनमा उपयोगी हुन्छ भन्नेबारे स्पष्ट हुनुपर्छ । यो व्यापार वा नाफा–घाटाको विषय नै होइन । बाहिर ज्ञान छ, त्यसलाई हामीले सरल मूल्यमा पढ्न पाउनुपर्छ । हाम्रो यही विचारलाई सरकारले मन पराइरहेको छैन ।

पढ्नु पर्दैन भन्ने सरकारको सोचाइ हो भने त्यो हास्यास्पद छ । नेपालमा अध्ययन संस्कृति जुर्मुराउँदै गरेको समयमा अहिले एकदमै अप्रिय निर्णय गरियो ।’ नेपाल राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशक संघका अध्यक्ष लिखत पाण्डेले भने– ‘एकातिर पुस्तक स्टकमै हुन्छ । सबै बिक्दैन । अब भन्सार पनि तिर्नु परेपछि कसरी टिक्ने ? अब त छुट दिन पनि गाह्रो छ ।’ तर, अर्थ मन्त्रालयका प्रवक्ता उत्तम खत्रीले भने– ‘स्वदेशी मुद्रण उद्योगलाई संरक्षण गर्न भन्सार बढाइएको हो । विदेशी पुस्तकलाई महसुल नलाग्ने व्यवस्थाले स्वदेशी मुद्रण उद्योगलाई असर गरिरहेको थियो ।’

राज्य ज्ञान लिने, नयाँ कुरा सिक्ने, तुलना गर्न सिकाउने वा प्रश्न गर्न सिकाउने कुरामा प्रतिबन्ध लगाउन वा दुःख दिन सदैव तल्लिन थियो र छ । मूल कुरा नेपालीहरूले भर्खर नयाँ कुरा पढ्न सिकिरहेको, दुनियाँ बुझ्न र चिन्न सिकिरहेको, संसारले के पढिरहेको छ, के सोचिरहेको छ वा बुझिरहेको छ भनेर चासो राखेको कुरालाई प्रोत्साहन गर्नुपर्ने कि नपर्ने भन्ने हो । मूल प्रश्न हाम्रा बालबालिकाका लागि संसार बुझ्न आवश्यक पर्ने थप सामग्री दिने कि पाठ्य पुस्तक मात्र पढाउने भन्ने हो । वास्तवमा लगभग १२ करोड कर उठाएर वा नउठाएर समृद्धिको नाफा र सपनामा कुनै फरक पर्दैन । नियति भए सम्हालिन, सुधार्न सकिएला, तर नियत नै खराब भए केही उपाय छैन । त्यसैले प्रश्न नियतको हो, उद्देश्यको हो, विचारको हो र हामीले विश्वास गर्ने राज्य कता जाँदैछ भन्ने कुराको संकेत पनि हो ।

प्रतिक्रिया