बाढीपहिरोको क्षति : न्यूनीकरणका उपाय

के.बी. बस्नेत

प्राकृतिक विपत्बाट निकै नै पीडा सहनु परे पनि यसले जात–भात, धनीगरिब र पहाड तथा मधेसको विभेद नगरी मिलेर जिउन सिकाएको छ । यस्तो विपत्बाट कुनै पनि व्यक्तिले हार खानु हुँदैन । बरु यसको रोकथाम गर्न उत्साही हुनुपर्छ । यति मात्र होइन, यस्तो विपत््लाई नविन विकासको कडीको रूपमा लिई अग्रसर हुन सरकार, गैरसरकारी संस्था, नागरिक अगुवा तथा सर्वसाधारण कटिबद्ध हुनुपर्छ ।

विश्वमा प्रत्येक वर्ष बाढीपहिरोले धेरै नोक्सान गर्छ । यदि विश्वइतिहास मनन गर्ने हो भने बाढीपहिरोको कारणबाट अनगिन्ती जनधनको क्षति भएको कुरा प्रष्ट हुन्छ । बाढीपहिरोको जोखिमबाट नेपालमुक्त छैन । यो विश्वको बिसौँ बहुआयामिक जोखिमयुक्त मुलुकको रूपमा चिनिन्छ । सन् २००४ मा संयक्त राष्ट्रसघंद्वारा प्रकाशित एक प्रतिवेदनअनुसार नेपाल जलवायु परिर्वतनको जोखिममा चौथौँ, भूकम्पीय जोखिममा एघारौँ र बाढी–पहिरोको जोखिममा तेस्रो स्थानमा रहेको छ ।

केही वर्षयता नेपालमा बाढी–पहिरोले निकै जनधनको क्षति गरेको छ । साँच्चै भन्ने हो भने जलवायु परिर्वतन, आवास निर्माण, पूर्वाधार निर्माण, नदीको बहाव परिवर्तन र विभिन्न निर्माण कार्यहरूमा डोजरको अत्याधिक प्रयोगको कारण यो देशको करिब ७० प्रतिशत भूमि बाढी–पहिरोको जोखिममा छ ।

भौगोलिक रूपमा नेपाल पहाडी देश हो । यहाँ सानाठूला गरी अन्दाजी ६ हजार नदीनाला उत्तरबाट दक्षिण बगिरहेका छन् । यहाँ हुने वर्षामध्ये सरदर ८० प्रतिशत असारदेखि भदौभित्र नै हुन्छ । यहाँ जलवायु परिवर्तनको कारण अतिवृष्टि, खण्डवृष्टि र खडेरीको प्रकोप प्रत्येक वर्ष बढ्दो क्रममा छ । विभिन्न कारणले यहाँका ४९ जिल्ला बाढीको जोखिममा छन् । एक आधिकारिक तथ्यांकअनुसार हाम्रोदेशमा बाढीपहिरोको कारणले वार्षिक सरदर ३ सय व्यक्तिको निधन हुन्छ ।

पछिल्लो आठ वर्षमा यहाँ भएका दैवी प्रकोपलाई विहंगम दृष्टि दिने हो भने ०६५ साल भदौ २ गते सप्तकोसीको पूर्वी तटबन्ध फुट्दा कोसीब्यारेजनजिक सुनसरी जिल्लाको कुसाह, हरिपुर श्रीपुर, लौकीलगायतका धेरै बस्तीहरू तहसहस भए । त्यसवेला अन्दाजी ७ हजार ५ सय परिवार अन्य ठाउँहरूमा विस्थापित भए । वि.सं. २०७० मा बाढी–पहिरोमा परी २ सय १९ व्यक्तिले ज्यान गुमाए भने महाकाली नदीमा उर्लिएको बाढीले एक सय ५८ घरहरू बगाउँदा दुई सयभन्दा बढी परिवार प्रभावित भए ।

०७१ मा बाढीपहिरोमा परी २ सय ४१ व्यक्तिको मृत्यु भयो भने सुनकोसीको जुरेमा भीमकाय पहिरो जाँदा एक सय ५६ व्यक्तिले ज्यान गुमाए, २ सय १९ परिवार विस्थापित भए । यति मात्र होइन, अरबौँ रुपियाँको लागतको सडक, जलविद्युत् परियोजना, घरबारी, पशुधन र अन्नपातको क्षति भएको थियो ।

जुरेको घाउ निको हुन नपाउँदै उक्त वर्षको साउनमा मध्य तथा पश्चिम नेपाल तहस–नहस भयो । त्यहाँ बाढीले दुई सय ६० जनाको ज्यान गयो भने हजारौँ बिघा उर्बर जमिन बगरमा परिणत भयो । ०७२ जेठमा उत्तरपूर्वी नेपालमा १ सय ३० मिलिमिटर वर्षा भयो जुन ०४५ यताकै भीषण वर्षा थियो । उक्त वर्षको वैशाख १२ र २९ गतेको भूकम्पले कमजोर भएको पहाड बग्दा रोल्पा जिल्लाका केही गाउँ नराम्रोसँग प्रभावित भए । उक्त वर्षाले सोही जिल्लाका विभिन्न गाउँका ५५ व्यक्तिको ज्यान गयो ।

०७३ सालको साउनमा आएको बाढी–पहिरोले पूर्वी तराई र मध्यपश्चिममा निकै नै ठूलो नकारात्मक असर प¥यो । उक्त वर्षको साउन १२ गते आएको वर्षाले प्युठान, दाङ, गुल्मी, बाग्लुङ र रोल्पामा वितण्डा मचायो । सिरहा, सप्तरी, बाँके र महोत्तरी डुबानमा परे भने करिब ६ दर्जन व्यक्तिहरू हताहत भए । उक्त जिल्लाका भौतिकपूर्वाधारहरू तहसनहस भए भने धेरै घर–खेत र धनमाल बाढीले निल्यो । उपर्युक्त कुराहरू नेपालले बाढीको वितण्डा कसरी झेलिरहेको छ भन्ने केही दृष्टान्तहरू हुन् ।

बाढी–पहिरोको ठूलो विपत् पश्चात् जनजीवन सामान्य हुन धेरै दिन लाग्न सक्छ । यसले कुनै पनि मुलुकलाई आर्थिक संकटमा धकेल्छ, भोकमरी बढाउँछ र आर्थिक वृद्धिदर न्यून गर्छ । यसले सडकलगायत अन्य भौतिक पूर्वाधारको क्षति हुने हुँदा नेपालजस्तो कमजोर अर्थतन्त्र भएको देशमा नकारात्मक असर धेरै पार्छ । वास्तवमा बाढी–पहिरोबाट बाली–नाली नोक्सान हुने, उर्बर जग्गा बगरमा परिणत हुने, बाटो–घाटो तथा पुलपुलेसा भत्कने हुनाले राज्यले थप व्ययभार बहन गर्नुपर्छ ।

वस्तुतः बाढी–पहिरोको क्षतिलाई दुई विधिद्धारा न्यूनीकरण गर्न सकिन्छ । पहिलो विधि विपत् पूर्वको तयारी हो भने दोस्रो विधि विपत् पछिको व्यवस्थापन हो । जोखिम पहिचान गर्नु, सम्भाव्य जोखिम कम गर्न आवश्यक उपाय अवलम्बन गर्नु, समुदायमा आधारित विपत्को पूर्वतयारी गर्नु र पूर्वसूचना प्रणाली तयार गर्नु विपत््पूर्व अवलम्बन गर्नुपर्ने तयारीहरू हुन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र रेडक्रस सोसाइटीको समन्वयात्मक परिचालन गरी उद्धार कार्यमा जुट्नु, केन्द्रीय दैवीप्रकोप उद्धार समितिलाई प्रभावकारी बनाउनु, जनधनको थप क्षति हुन नदिने उपाय अवलम्बन गर्नु, औषधि मूलोको राम्रो प्रबन्ध गर्नु, सम्बन्धित ठाउँमा छिटो–छरितो तरिकाबाट राहत उपलब्ध गराउनु, अस्थायी रूपमा पुनस्र्थापना गर्नु र नाश भएका भौतिक संरचनाहरूको पुनर्निर्माणलगायत विपत् पश्चात् गर्नुपर्ने मुख्य कामहरू हुन् ।

जसरी मानव जीवनमा वातावरणले प्रभाव पार्छ त्यसरी नै उसको काम–काज, रहन–सहन, रीतिरिवाज आदिले पनि वातावरणमा निकै प्रभाव पार्छ । वास्तवमा मानवले आफ्नो ज्ञान, सीप र प्रविधिको प्रयोग गरेर वातावरणलाई बढी आफू अनुकूल पार्ने प्रयत्न गर्छ । फलतः वातावरणमा प्रतिकुल असर पारी बाढी–पहिरोलगायत विभिन्न किसिमका दैवीप्रकोपको सामना गर्नुपर्ने हुन्छ ।

वास्तवमा सृष्टिकालदेखि नै यस धरतीमा वेलावेलामा बाढी–पहिरोले मानवजातिलाई दुःख दिँदै आएको छ । प्राकृतिक विपत्बाट निकै नै पीडा सहनु परे पनि यसले जात–भात, धनीगरिब र पहाड तथा मधेसको विभेद नगरी मिलेर जिउन सिकाएको छ । यस्तो विपत्बाट कुनै पनि व्यक्तिले हार खानहुँदैन । बरु यसको रोकथाम गर्न उत्साही हुनुपर्छ । यति मात्र होइन, यस्तो विपत््लाई नवीन विकासको कडीको रूपमा लिई अग्रसर हुन सरकार, गैह्रसरकारी संस्था, नागरिक अगुवा तथा सर्वसाधारण कटिबद्ध हुनुपर्छ ।

प्रतिक्रिया