पहिलो चरणमा सेरेनाको प्रतिद्वन्द्वी सारापोभा

एजेन्सी, सिड्नी । सेरेना विलियम्सले मंगलबार पहिलो चरणमा चिरपरिचित प्रतिद्वन्द्वी मारिया सारोपोभाविरुद्ध चुनौती प्रस्तुत गर्ने भएकी छन् । अस्ट्रेलियन खेलाडी मार्गरेट कोर्टको नाममा रहेको २४औँ ग्रान्डस्लामको रेकर्ड बराबरी गर्नेका लक्ष्यका साथ सेरेनाले युएस ओपनको पहिलो खेलमा सारापोभाविरुद्ध चुनौती प्रस्तुत गर्ने भएकी हुन् । अमेरिकी स्टार सेरेना धेरै ग्रान्डस्लाम जित्ने खेलाडीको सूचीमा दोस्रो स्थानमा छिन् । उनले २३औँ पटक ग्रान्डस्लाम जितेकी छन् । उनी लामो सयमदेखि मार्गरेटको उक्त रेकर्ड बराबरी गर्ने लक्ष्यमा छिन् ।

घरेलु मैदानमा हुने युएस ओपनमा सेरेना लामो समयदेखिको प्रतिक्षा यसपटक पूरा गर्न चाहन्छिन् । त्यसका लागि सेरेनाले पहिलो चरणमा रुसी सुन्दरी सारापोभालाई पन्छाउनु पर्नेछ । सारापोभासँगको हेड टु हेडमा पनि सेरेना अगाडि छिन् । सारापोभासँगको कुल २२ भेटमा सेरेनाले १९ जित आफ्नो पक्षमा पारेकी छन् । यी दुई बीच सन् २०१६ भित्र नै १८ पटक भेट भएको थियो । गत वर्ष अन्तिमपटक रोलान्ड गारोसमा भेट हुँदा सारापोभा वाकओभर पाउँदै प्रिक्वार्टरफाइनलमा पुगेकी थिइन् ।

यद्यपि, पछिल्ला पटक तीनवटा ग्रान्डस्लामको फाइनल गुमाएपछि रेकर्ड बराबरी गर्ने सेरेनाको लक्ष्य धकेलिँदै गएको थियो । यस वर्षको अन्तिम ग्रान्डस्लाम सोमबारबाट सुरु हुँदा सेरेना त्यसलाई जोगाउने लक्ष्यमा हुनेछिन् । गत महिना विम्बल्डनको फाइनलमा सिमोना हालेफसँग हार बेहोरेकी ३७ वर्षीया सेरेना गत संस्करणको युएस ओपनको उपाधि भिडन्तमा जापानिज युवा स्टार नाओमी ओसाकासँग स्तब्ध भएकी थिइन् ।

ओसाकासँगको भिडन्तमा अम्पायर कार्लोस रामोससँग विवादका कारण सेरेनामाथि जरिवाना पनि भएको थियो । युएस ओपनको अफिसियलका अनुसार रामोसले यसपटक विलियम्स दिदीबहिनाका कुनै पनि खेल खेलाउने छैनन् । यता, शीर्ष स्थानकी ओसाकाले विश्व वरीयतामा ९३औं स्थानमा रहेकी रसियाकी अन्ना ब्लिनकोभासँगको खेलबाट प्रतियोगिता सुरुआत गर्नेछिन् ।

ओसाकाले लगातार खेल जितेमा सेमिफाइनलमा चौथो वरीयताकी सिमोना हालेफलाई प्रतिद्वन्द्वीका रूपमा पाउनेछिन् । ओसाका पनि यसपटक युएस ओपनको उपाधि रक्षा गर्ने योजनामा छिन् । यद्यपि, उनले यसै हप्ता सम्पन्न सिनसिनाटीमा चोट भोगेकी थिइन् । जसको कारण उनी उक्त प्रतियोगिताको क्वार्टरफाइनलबाटै बाहिरिन् । तथापि, उनले आफू अहिले फिट भइसकेको बताइसकेकी छिन् ।

प्रतिक्रिया