आइसिसी वरीयतामा नेपाल एक स्थान तल

 

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को एकदिवसीय वरीयतामा नेपाल एक स्थान तल झरेर १६औँ स्थानमा पुगेको छ । आसिसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १५ बाट एक स्थान तल झर्दै १६ औँ स्थानमा पुगेको हो । नयाँ वरीयताअनुसार नेपालले ८ खेलबाट १९ अंक पाएको छ । एकदिवसीय वरीयतामा नेपालभन्दा तल युएई र पपुवा न्युगिनी रहेका छन् । नेपालले पछिल्लो समय एउटा पनि एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको छैन ।

पछिल्लो पटक नेपालले ६ महिनाअघि युएईविरुद्ध तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो । ओमानले डिभिजन लिग–२ मा राम्रो प्रदर्शन गरेका कारण नेपाल वरीयतामा एक स्थान तल झरेको हो । एकदिवसीय वरीयताको शीर्ष स्थानमा विश्वकप विजेता इंग्ल्यान्ड र दोस्रोमा भारत छन् ।

तेस्रोमा न्युजिल्यान्ड, चौथोमा अस्ट्रेलिया र पाँचौँ स्थानमा दक्षिण अफ्रिका रहेका छन् । आइसिसी ट्वान्टी–२० वरीयतामा भने नेपाल यथावत रहँदै ११औँ स्थानमा छ । नेपालले १४ खेलमा २०१ रेटिङ पाएको छ । ट्वान्टी–२० वरीयतामा नेपालभन्दा तल टेस्ट खेल्ने राष्ट्र जिम्बाब्वे र आयरल्यान्ड रहेका छन् ।

प्रतिक्रिया