तोरीखेती गर्न छाडेपछि मिल विस्थापित

तनहुँ । केही वर्षअघि मिलमा तोरी पेल्न मानिसको घुँइचो लाग्थ्यो । तोरी पेल्ने कामदारलाई भ्याइनभ्याइ हुन्थ्यो । टाढाटाढाबाट आउने कतिपय मानिस त दुई दिनसम्म पालो कुरेर तोरी पेलेर लैजानपथ्र्यो तर अहिले एकादेशको कथा जस्तो भएको छ । ग्राहकको सेवा गर्ने र परिवार पाल्ने खर्च जुटाउन पनि धौधौ हुने गरेको छ । यो पीडा तनहुँको व्यास नगरपालिका–४ स्थित चन्द्र राइस मिलका सञ्चालक आशकुमार श्रेष्ठको हो । पछिल्लो समयमा युवा वैदेशिक रोजगारीमा जाने प्रवृत्ति बढेसँगै गाउँमा वृद्धवृद्धा मात्रै रहेका कारण जग्गा जमीनमा तोरीखेती गर्न छाडेपछि मिल नै विस्थापित हुने अवस्थामा पुगेको उनले जानकारी दिए ।

मैले जान्दा दमौली र आसपास क्षेत्रमा छ वटा तोरी मिल सञ्चालनमा थिए । मिल सञ्चालक श्रेष्ठले भने, ‘पाँच वटा मिल विस्थापित भइसकेका छन्, अहिले यही एउटा मिल मात्रै जसोतसो सञ्चालन हँुदै आएको छ ।’ आफ्नै घरमा मिल राखिएकाले अहिलेसम्म टिक्न सकिएको हो । उनले भनिन, ‘भाडामा लिएर मिल सञ्चालन गरिएको भए जमानामा विस्थापित भइसक्ने थियो ।’ छिमेकी जिल्ला लम्जुङ जिल्लाका केही भागका मानिस, जिल्लाको भानु, जामुने, मानुङ, छिपछिपे, बैदीलगायतका स्थानबाट मिलमा तोरी पेल्न आउने गरेका छन् ।

विसं २०२९ मा स्थापना भएको उक्त तोरी मिललाई आफूले पनि बाबुको बिँडोलाई धान्दै आएको उनले बताए । विशेषगरी दशैँ, तिहार, माघेसङ्क्रान्ति र तीजजस्ता चाडपर्वको समयमा दिनमा ३० देखि ४० जना मानिस तोरी पेल्न आउने र अन्य समयमा पाँच÷सात जना हुने गरेका छन’ उनले भने । पहिला मिलमा पाँच÷छ जना कामदार हुन्थे’, उनले भने, ‘अहिले तोरी पेलेर मिलमा राखिएको दुई जना कामदारका परिवार र आफ्नो परिवार पाल्नुबाहेक अन्य उपलब्धि गर्न सकिएको छैन ।’ तोरी पेलेको प्रतिकिलो आठ लिने गरिएको छ । ग्राहकले पिना पनि लान चाहेमा प्रतिकिलो २० शुल्क लिने गरेको उनले बताए ।

राइस मिल भनेर राखिएकाले शुरुमा धान पनि कुटिन्थ्यो तर अहिले धानखेती गर्न छाडेपछि मानिस धान कुट्न आउन छाडे त्यसपछि धान मिल हटाइयो, मकै कोदो पिस्ने काम भने चलिरहेको छ । ‘सुरुसुरु कमाएर राखेको पैसाले अहिले छोराछोरीलाई शिक्षादीक्षा प्रदान गर्दै आएको छु’, श्रेष्ठले भने, ‘दुई छोरा अष्ट्रेलियामा सूचना प्रविधि शिक्षा, एक छोरा न्यूजरल्याण्डमा इञ्जिनीयर र एक छोरी काठमाडौंमा नसिङ विषयमा अध्ययनरत छन ।’

प्रतिक्रिया