दाङमा बन्दैछन् खेल पूर्वाधार

दाङ । दाङमा पछिल्लो समय खेलकुद पूर्वाधारको विकास हुन थालेको छ । खेल क्षेत्रको विकासका लागि अहिले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले खेल मैदानमा लगानी गर्न थालेका छन् ।  स्थानीय तहले आ–आफ्नै क्षेत्रमा अलग–अलग खेल मैदान बनाइरहेका छन् भने जिल्ला सदरमुकाम, बजार क्षेत्र तथा जमिनको उपलब्धता हुने अन्य क्षेत्रमा प्रदेश र संघको लगानीमा खेल मैदान बनिरहेका छन् ।  लमहीमा क्रिकेट मैदान, बेलझुण्डीको सेन्थेटिक एथलेटिक्स ट्रयाक, घोराहीको कर्भड हल, बास्केटबल कोर्ड निर्माण भएर खेल खेल्न समेत सुरु भइसकेको छ भने घोराहीमै अरू दुईओटा खेल मैदान निर्माण भइरहेका छन् । दुवैमा प्रदेश सरकारको लगानी छ ।

गुलरियामा निर्माणाधीन मैदान क्रिकेटका लागि हो भने वडा नम्बर १६ मै रहेको अर्को मैदान सबै प्रकारका खेलका लागि निर्माण भइरहेको छ । यो मैदानमा घोराही उपमहानगरले लगानी गरिरहेको छ भने वडा नम्बर १६ को मैदानमा प्रदेश सरकारले लगानी गरिरहेको छ ।  दाङमा बढी खेलिने खेलहरूका लागि आवश्यक मैदान बन्न थालेको क्रिकेट संघ दाङका पूर्वअध्यक्ष किशोरचन्द्र गौतम बताउँछन् । बन्न थालेका यी संरचनाहरूको काम पूरा भई अभ्यास खेलहरू हुन थाले यसले खेलाडीलाई मात्रै नभई दाङलाई नै फाइदा हुने गौतम बताउँछन् ।

लमहीको मैदानमा नगरविकास समितिले अहिलेसम्म दुई करोडभन्दा बढी लगानी गरिसकेको छ । अहिले बन्दै गरेका संरचना संरक्षणका लागि ठोस योजना साथ अगाडि बढ्न भने आवश्यक रहेको खेलाडीहरूको भनाइ छ । यी संरचनाहरू समयमै निर्माण सम्पन्न भए पाँच नम्बर प्रदेशभित्रका महत्वपूर्ण खेल मैदान भएको जिल्लाका रूपमा दाङको अर्को परिचय थपिने खेलाडीहरूको विश्वास छ ।

प्रतिक्रिया