कृष्णजन्माष्टमी अर्थात् प्रेम दिवस

भनिन्छ कि, भगवान् श्रीकृष्ण धरतीमा प्रादुर्भाव भएको दिनलाई श्रीकृष्णजन्माष्टमी भनिन्छ । यस दिनलाई वैष्णव धर्मावलम्बीहरू, वल्लभ सम्प्रदाय, चैतन्य सम्प्रदाय, राधाकृष्ण सम्प्रदाय, श्रीकृष्णप्रणामी सम्प्रदायलगायत अन्य हिन्दू धर्मावलम्बीहरूले विशेष महत्वका साथ व्रतोवास गरी मनाउँछन् ।

यस दिन भक्तजन उपवास बस्छन् र आधा रातमा भगवान्को पूजाअर्चना गर्दै रातभर भजनकीर्तन तथा कथाश्रवण गर्दै जाग्राम बस्छन् । श्रीकृष्णजन्माष्टमीको दिन रोहिणी नक्षत्र र बुधबार पर्नुलाई अत्युत्तम मानिन्छ । यसै नक्षत्र र बुधबार भगवान् श्रीकृष्णको जन्म भएको थियो । हाम्रो देशको कुरा गर्ने हो भने कृष्णजन्माष्टमीको अवसरमा मुलुका सबैजसो कृष्ण मन्दिरहरूमा भक्तजनको भीड लाग्ने गर्छ । खासगरीकन ललितपुरको मंगलबजारको कृष्णमन्दिरमा पनि यस अवसरमा दिनभर हजारौँ संख्यामा भीड लाग्ने गर्दछ ।

यस दिन यस मन्दिरमा दर्शन पूजा गर्नका लागि राष्ट्रप्रमुख नै आउने प्रचलनसमेत रहिआएको छ । राष्ट्रप्रमुखका रूपमा राष्ट्रपतिले कृष्ण मन्दिरका पुजारीको हातबाट टीका थापी जल तथा फूलप्रसाद ग्रहण गर्नुपर्ने धार्मिक मान्यता रहेको पाइन्छ । त्यस्तै गरी उपत्यका रहेको हनुमानढोकास्थित अष्टकोणाकार कृष्ण मन्दिरमा पनि यस दिन भक्तजनको भीड लाग्ने गर्दछ । यसै अवसरमा काठमाडौंको असनदेखि बालकुमारीसम्म पनि ठाउँ ठाउँमा श्रीकृष्णका विभिन्न तस्बिरहरू झुन्ड्याइने गरिन्छ ।

श्रीकृष्णले गोपिनी र राधासित गरेको प्रेम प्रसंगका कारण यो महिनाभर प्रेम उत्सव अर्थात् झुला उत्सवका रूपमा समेत मनाउने गरिन्छ । यो नै पूर्वीयजगतको प्रेम दिवस हो र भ्यालेन्टाइन डेका नाममा नेपाल भारतलगायत पूर्वीय दर्शनलाई अँगाल्दै आएका देशमा गरिने तामझाम पश्चिमी संस्कृतिको अन्धानुकरण हो

श्रीकृष्ण जन्माष्टमीको दिन श्रद्धालु भक्तजनहरूले साँझमा स्नानपूजा गरी आधारातमा नौनी हातमा लिएका बालकृष्णलाई वा शालिग्रामको शीलालाई काँक्रोभित्र राखी राख्छन् । ठीक मध्यरातमा शिलालाई त्यसबाट निकालेर हर्षोल्लासका साथ जन्मोत्सव गरिन्छ । यसलाई मध्यरातमा श्रीकृष्ण जन्मेको संकेतका रूपमा लिइन्छ ।

त्यसपछि पञ्चामृत वा शुद्ध जलले भगवान्लाई स्नान गराई श्रीखण्ड, चन्दन, तील, अक्षता र फूलले भगवान्को पूजा गरिन्छ । भगवान्लाई वस्त्र र जनैसमेत अर्पण गरी धूपदीप बालिन्छ र भोग चढाइन्छ । नैवेद्यको भो लगाउँदा विशेषतः हलुवा, पेडा, मिठाई तथा केरा, नासपाती, स्याउ आदि फलफूलको भोग लगाइन्छ । त्यसपछि भजनकीर्तनसहित आरती गरिन्छ र पुष्पाञ्जली चढाएर भगवान्लाई साष्टांग प्रणाम गरी अखण्ड दीप बालिन्छ । अनि रातभर श्रीकृष्णको भजनकीर्तन गाएर जाग्राम बस्ने चलन छ ।

भगवान् श्रीकृष्ण पौराणिक ग्रन्थमा मात्र नभई ऐतिहासिक पुरुष हुन् भनी चर्चाहरू उठ्न थालेको छ । भगवान् श्रीकृष्णसम्बन्धित तिथिमितिहरू संस्कृतिकर्मी नुतनधर शर्माले एक सांस्कृतिक पत्रिका साप्ताहिक अमलेखमा यसरी लेख्छन् श्रीकृष्णको जन्म मथुरा नगरीमा भाद्रकृष्ण अष्टमीका दिन ३२२८ ईसापूर्वमा भएको हो । उहाँले एक सय २५ वर्षको उमेरमा फागुपूर्णिमाको दिन अर्थात् फेब्रुवरी १८, ३१०२ ईसापूर्वमा देहत्याग गरेका थिए । यसै दिनबाट कलियुग प्रारम्भ भएको मानिन्छ । त्यस्तै गरी अर्का विद्वान विश्वनाथ चक्रवर्तीको भनाइअनुसार भगवान् श्रीकृष्णले आफ्नो जीवनको सुरुका तीन वर्ष चार महिना गोकुलमा बिताए । त्यत्तिकै समय वृन्दावन, नन्दग्राम र द्वारकामा बिताएका थिए ।

अन्त्यमा भन्नुपर्दा भगवान् श्रीकृष्णले गीतामा भन्नुभएको छ, जबजब यस संसारमा पापीहरूको अत्याचार बढ्छ र धर्मको उत्थान एवं साधुसन्तहरूको जीवनरक्षाका निम्ति म पृथ्वीमा तीन कारणले गर्दा अवतरित हुन्छु भनेका छन् । पहिलो कारण म मेरो मधुरलिलामय चरित्रद्वारा आत्माराम मुनिलाई मेरो प्रेम भक्तियोगमा लगाउन, दोस्रो दास्य, सख्य, वात्सल्य एवं शृंगार प्रेमरसास्वादनद्वारा स्वयं सुखी भएर उहाँहरूलाई पनि प्रेमरसास्वादन गराएर सुखी गराउन र तेस्रो दुदीन्त–दैत्यको दुदर्मनीय सेनापतिको भारले दबिएको पृथ्वीको अतिसय भारलाई भाररहित बनाउनु हो । त्यसरी नै द्वापर युगमा पनि श्रीकृष्णले धर्म रक्षाका निम्ति भगवान् विष्णुका दस अवतारमध्ये आठौँ अवतार मानिएको छ ।

पृथ्वीमा आत्मराम आन्मकाम पूर्णब्रम्ह श्रीकृष्णको ह्दयमा जीवनमाथिको करणा नै पशुपंक्षी, जलघर आदि प्राणीको रूपामा आवतरित हुनाको मुख्य कारण हो । जब श्रीकृष्णको ह्दयमा मनुष्यमाथि अहैंतुकीकृपा वर्षाउने इच्छा हुन्छ । तब स्वयं भगवान् श्रीकृष्ण अनेक अवतारको रूपामा अवतरित नभईकन स्वयं नै नन्दबाबा यशोदा मैयाको घरमा नरवतलिला गर्ने क्रममा मनुष्यको रूपमा जन्म लिला गर्नुहुन्छ । यसर्थ कंशको अत्याचारबाट मथुरा र मथरावासीलाई मुक्ति दिलाउन र गीतामा वर्णित अनेकौँ जीवनोपयोगी दर्शनज्ञान संसारलाई दिन नै कृष्णवतार भएको हो भन्नुमा कुनै दुईमत नहोला ।

अन्त्यमा भन्नुपर्दा भगवान् श्रीकृष्ण पतित पावन अवतार भगवान् चैतन्य महाप्रभु कलिकालको जीवको लागि विशेष रूपले भगवानको नाम कीर्तनको शिक्षा दिनु हुन्छ । साधनामा भगवान्को नामजस्तो श्रेष्ठ साधना अरू छैन, जसले प्रेम प्राप्त गरावस् । यो नै देश काल द्रव्य आदिद्वारा परिच्छेद्रहित अधिकार विवर्जित, जीव मात्रको परमहित, सज्जनद्वारा अनुमोदित अनन्तसिद्ध साधकहरूद्वारा आधारित नाम संर्कीतन नै सबै शास्त्रमा प्रेम प्राप्तिका परम उपायको रूपमा निर्णीत भएको छ । त्यसै कारणले गर्दा संसारमा धेरैले दुःख भोगी रहनुपरेको छ । त्यसबाट उम्कन एक मात्र उपाय कृष्ण शरणागति नै हो ।

कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रूपमा आजको दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । कंशले जेलनेलसहित बन्दी बनाएको अवस्थामा देवकीबाट श्रीकृष्णको जन्म भएको थियो । चारैतिर सेनाको कडा सुरक्षा हुँदा पनि भगवान् विष्णुको मोहित पार्ने शक्तिका कारण श्रीकृष्ण जन्मिएका वेलामा सबै सैनिक गहिरो निद्रामा परेका थिए । त्यसैवेला आकाशवाणीमार्फत वासुदेवलाई ‘नवजात शिशु कृष्णलाई वृन्दावनस्थित मित्र नन्दका घरमा पु¥याऊँ’ भन्ने आकाशवाणी भएको थियो । यही मोहित पार्ने शक्ति भएका कारण आजको रात्रिलाई मोहरात्रि पनि भनिन्छ ।

वासुदेव नन्दको घरमा गई कृष्णलाई त्यहीँ छोडी त्यही दिन नन्द पत्नी यशोदाको गर्भबाट जन्मिएकी बालिकालाई लिएर आएपछि मात्र सैनिक ब्युँझिएको प्रसंग महाभारत ग्रन्थमा उल्लेख गरिएको छ । श्रीकृष्णले नै पापका पर्याय बनेका मामा कंशको वध गरी हजुरबा उग्रसेन, माता–पिता देवकी एवं वासुदेवलाई जेलमुक्त गरिदिनुभएको थियो । अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रूपमा श्रीकृष्ण भई धरतीमा जन्म लिएको स्मृतिस्वरूप आजको पर्व मनाउने गरिएको हो । श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई पे्ररित गर्नुभएको थियो ।

कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डव मध्येका अर्जुनको सारथीका रूपमा श्रीकृष्णले युद्धको शिक्षा दिनुभएको थियो । युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई प्रेरणा दिँदै सत्यको पक्षमा हौसला प्रदान गर्नुभएको थियो । यही युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिनुभएको उपदेश नै ‘श्रीमद्भागवत् गीता’ हो । यसैकारण, श्रीमद्भागवत् गीतालाई हिन्दूको पवित्र ग्रन्थ मानिन्छ । बाल्यकालदेखि नै विचित्र लीला देखाउँदै आउनुभएका श्रीकृष्णले गोपिनी र राधासित गरेको प्रेम प्रसंगका कारण यो महिनाभर प्रेम उत्सव अर्थात् झुला उत्सवका रूपमा समेत मनाउने गरिन्छ । यो नै पूर्वीयजगतको प्रेम दिवस हो र भ्यालेन्टाइन डेका नाममा नेपाल भारतलगायत पूर्वीय दर्शनलाई अँगाल्दै आएका देशमा गरिने तामझाम पश्चिमी संस्कृतिको अन्धानुकरण हो ।

प्रतिक्रिया