थारुवान/थरुहट सम्मेलनका लागि उच्च सुरक्षा सतर्कता

धनगढी । यही ७, ८ र ९ भदौमा टीकापुरमा हुने थारुवान÷थरुहट सम्मेलनमा सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाउने भएको छ । चार वर्षअघि ७ भदौमा भएको टीकापुर हत्या काण्डकै दिन टीकापुरमै गर्न लागिएको सम्मेलनमा सबैखाले सुरक्षा सतर्कता अपनाउने रणनीति सुरक्षा निकायले लिएको छ ।

यसकै सन्दर्भमा जिल्ला सुरक्षा समिति कैलालीको बैठक बसी सुरक्षा सतर्कताका लागि आफ्नो रणनीति तयार गरेको बुझिएको छ । जिल्ला सुरक्षा समिति कैलालीको बैठकले आयोजकले कार्यक्रम शान्तिपूर्ण र सामाजिक सद्भाव कायम गर्ने गरी गर्ने र सो का लागि आयोजकले कार्यक्रममा सहभागीहरूलाई परिचय खुल्ने प्रवेश पासको व्यवस्था गर्ने तथा कार्यक्रमका सहभागीलाई सोही प्रवेश पासका आधारमा सुरक्षा चेकजाँच गरेर मात्र प्रवेश गराउने, आयोजक तर्फका स्वयंसेवकहरूलाई सुरक्षा निकायसँग समन्वय गरेर परिचालन गर्ने निर्णय गरेको बुझिएको छ ।

सुरक्षा समितिले कार्यक्रमका सहभागीले सामाजिक सद्भाव खलबलिने र शान्ति सुरक्षामा असर पर्ने गरी कार्यक्रम अवधिभर कुनै किसिमका नारा, जुलुस, वक्तव्य र सम्बोधन नगर्ने÷नगराउने कार्यक्रम सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । कार्यक्रमलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न भदौ ६, ७, ८ र ९ गते टीकापुरमा मदिरा सेवन, बिक्री वितरण र ओसारपसारमा प्रतिबन्ध लगाउने निर्णयसमेत सुरक्षा समितिले गरेको छ ।

कार्यक्रमको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर कार्यक्रम स्थल, आसपासको क्षेत्र र बजार एरियामा कसैले पनि लाठी, घरेलु हतियार र अन्य हातहतियार बोक्न, प्रयोग गर्न तथा प्रदर्शन गर्न नपाउने र यसो गरेमा सुरक्षाकर्मीहरूले कानुन बमोजिम कारबाही गर्नेसमेत निर्णय गरेको छ ।

सुरक्षा समितिको बैठकले शान्ति सुरक्षा कायम गर्न सुरक्षा निकायले सबै उपाय अबलम्बन गर्नेसमेत निर्णय गरेको छ । सुरक्षा समितिको बुधबार धनगढीमा बसेको बैठकमा सबै राजनीतिक दलका प्रतिनिधि तथा आयोजकका प्रतिनिधिको समेत उपस्थिति रहेको थियो ।

बैठकले जिल्लाको समग्र शान्ति सुरक्षा कायम गर्न जिल्लास्थित सबै राजनीतिक दलहरूले स्थानीय प्रशासनलाई सहयोग गर्ने निर्णयसमेत गरेको छ । यस्तै बैठकले टीकापुरमा हुने कार्यक्रम शान्ति र सद्भावपूर्ण बनाउन सबै राजनीतिक दलले सहजीकरण गर्ने र आयोजकले स्थानीय प्रशासनलाई पूर्ण सहयोग गर्ने निर्णयसमेत गरिएको थियो ।

प्रतिक्रिया