दलका आ-आफ्नै नाम र राजधानी

जनकपुरधाम । प्रदेश–२ को नामकरण र राजधानीका लागि दलहरूबीच सहमति जुट्न सकेन् । सहमति जुट्न नसकेपछि दलहरूले आ–आफ्नो छुट्टा छुट्टै नाम र राजधानी प्रदेशसभा सचिवालयमा दर्ता गराएका छन् ।

उनीहरूले मधेश प्रदेश, जानकी प्रदेश, मिथिला–भोजपुरा र मध्यप्रदेश नामको प्रस्ताव विभिन्न दल र दलको निर्णयप्रति असहमति राख्ने प्रदेशसभा सदस्यले बिहीबार सचिवालयमा दर्ता गराएका हुन् । समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीले संयुक्तरूपमा मधेश प्रदेशको नामको प्रस्ताव दर्ता गराएको छ भने नेकपाले जानकी प्रदेश र नेपाली कांग्रेसले मिथिला–भोजपुरा नामको प्रस्ताव दर्ता गराएका छन् । त्यस्तै प्रदेशको राजधानीको नामकरण गर्न विभिन्न नाम गर्दा भएको छ ।

सचिवालयका अनुसार समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टीले संयुक्तरूपमा जनकपुरधाम (परिक्रमा क्षेत्रसहित ढल्केवर, कमलाहुँदै सीमावर्ती क्षेत्रसम्म), नेकपाले परिक्रमा क्षेत्रसहित धनुषा जिल्ला र नेपाली कांग्रेसले जनकपुरधाम नाम दर्ता गराएको छ । समाजवादी पार्टी नेपालका सात प्रदेशसभा सदस्यले पार्टीले दर्ता गराएको प्रस्तावप्रति असहमति राख्दै वीरगञ्जको नाम प्रस्ताव दर्ता गराएका छन् । सो दलका प्रदेशसभा सदस्य सिंहासन कलावार, करिमा बेगम, जन्नत अन्सारी, अञ्जु यादव, भीमा यादव, रागिनी देवी वर्णवाल र प्रह्लाद गिरी गोस्वामीले वीरगञ्जको नाम दर्ता गराएका छन् ।

त्यस्तै कांग्रेसका प्रदेशसभा सदस्य राजेश्वरप्रसाद साह, शकंरप्रसाद चौधरी, असिया देवी र ओम शर्माले दलले सिफारिस गरेको प्रदेशको नाम र राजधानीको प्रस्तावप्रति असहमति राख्दै मध्यमधेश र वीरगञ्जको नाम दर्ता गराएका छन् । प्रदेशसभामा नेकपाको ३२, समाजवादी पार्टी नेपालको ३०, राष्ट्रिय जनता दलको २५, नेपाली कांग्रेसको १९ र एक स्वतन्त्र प्रदेशसभा सदस्य छन् । नामकरण र राजधानीका लागि दुई तिहाइ मत आवश्यक हुन्छ । सबै दल मिल्नुको विकल्प नभएपछि यो विवाद अझै केही दिन लम्बिने देखिएको छ ।

प्रतिक्रिया