दुई रोपनीलाई १४ रोपनी बनाइदिएपछि…

काठमाडौं । मालपोत कार्यालय धादिङले प्रस्तावित बुढीगण्डकी जलविद्युत् आयोजनाभित्र पर्ने जग्गाको लालपुर्जा जथाभावी बनाइदिएको खुलेको छ । सो आयोजनाबाट ठगी गरेर रकम असुलेको समाचार सौर्य दैनिकले लेखेपछि रकम लिने व्यक्तिहरू सम्पर्कमा आएपछि यो खुलेको हो ।

मालपोत कार्यालय धादिङकै गल्तीले आफूहरूले बद्मानी भोग्नुपरेको उनीहरूले दाबी गरेका छन् । साउन ३१ गते सौर्य दैनिकमा मालपोतकै सहयोगमा ठगी शीर्षकमा समाचार छापिएपछि उनीहरू आपत्ति जनाउँदै आएका थिए । साविकको बुढाथुम गाविस–९, हाल गंगाजमुना–७, निवासी होमनाथ पौडेलले मुआब्जाको रकम पाउन करिब दुई रोपनी मात्र रहेको जग्गालाई ११ रोपनीभन्दा बढी देखाई रकम लिएको समाचार छापिएको थियो ।

पौडेलले सो रकम आफूहरूको मिलेमतोमा नभई मालपोतको गल्तीले गर्दा भएको दाबी गरेका छन् । मुआब्जा लिएका पौडेलका अनुसार खोलाको पाखोमा आफ्नो कति जग्गा थियो भन्ने एकिन नभएको र पुर्जा पनि पुरानो भएकाले आफूलाई थाहा नभएको बताए ।

२०७३ वैशाख १३ गते मालपोतले आफूहरूलाई पुरानो पुर्जा खिची नयाँ पुर्जा दिएको उनले बताए । ८४ वर्ष उमेर पुगेका पौडेलले पुर्जा बनाउन जाँदा मालपोतका कर्मचारीले कति जग्गा हो भनेर सोधेको र आफूलाई थाहा नभएको सबै कुरा पुर्जामा रहेको उल्लेख गरेको बताए ।

कर्मचारीले कति जग्गा भरे आफूलाई थाहा नभएको उनको भनाइ छ । पौडेलका अनुसार मालपोतकै कर्मचारीको बदमासीले अहिले आफूले दुख व्यहोर्नु परेको दाबी गरेका छन् । उनीहरूले तत्कालीन मालपोत अधिकृत रेवती प्रसाद ढकाल र शाखा अधिकृत (फाँटवाला) माधव ढुंगेलले बढी जग्गा हालिदिएको दाबी गरेका छन् ।

मालपोतले दिएको लालपुर्जामा पाँच वटा कित्तामा फिल्डबुकमा भएको भन्दा लालपुर्जामा धेरै क्षेत्रफल उल्लेख छ । उनीहरूको कित्ता नम्बरमा ९ (घ) ६४ मा फिल्डबुकमा २ रोपनी ४ आना २ पैसा रहेकोमा लालपुर्जामा १४ रोपनी ९ आना १ पैसा ३ दाम रहेको देखिएको छ ।

यस्तै, किता नम्बर १३ लाई २ रोपनी १३ आना हुनुपर्नेमा ६ रोपनी ३ आना, एक आना ३ पैसा २ दाम हुनुपर्ने २६ नम्वर कितालाई लालपुर्जामा ३ रोपनी १ आना ३ दाम बनाइदिएको छ । मालपोतले कसैको प्रलोभनमा वा फिल्डबुक नै नहेरी हचुवाका भरमा लालपुर्जा बनाइदिने गरेको खुलेको हो । यसविषयमा तत्कालीन मालपोत अधिकृतसँग सम्पर्क गर्न खोज्दा सम्पर्क भएन ।

पौडेलको लालपुर्जामा कित्ता नं. ५८ फिल्ड बुकमा रेकर्ड भएको क्षेत्रफल ०–१२–२–१ रहेको तर, नयाँ लालपुर्जामा बढेर आएको ६ रोपनी ६ आना, कित्ता नं ५९ फिल्ड बुकमा रेकर्ड भएको क्षेत्रफल ०–११–०–० रहेको थियो । तर, नयाँ लालपुर्जामा बढेर आएको ४ रोपनी ६ आना र कित्ता नं १४० फिल्ड बुक र नयाँ लालपुर्जा दुबैमा ०–९–२–१ एउटै क्षेत्रफल कायम भएको देखिएको छ । जम्मा २–३–०–२ को १४ लाख ८५ हजार मात्र मुआब्जा पउनुपर्नेमा ११ रोपनी क्षेत्रफलको कुल ७५ लाख (कर कट्टा पछि) बुझेका हुन् । सो कुरा स्वयम पौडेलले पनि स्वीकार गरेका छन् ।

तर, उनीहरूले मालपोतले आफूलाई दुःख दिएकाले उनीहरूमाथि कारवाही गर्नुपर्ने माग गरेका छन् । ‘फिल्डबुकअनुसार नै मालपोतले लालपुर्जा दिएको भनेर आफूले स्वीकार गरे’, पौडेलले भने,‘म लेखपढ गर्न जान्दिनँ, मालपोतकाले बुझेर लालपुर्जा दिए होलान् भनेर लिए ।

तर उनीहरूले हचुवाका भरमा लालपुर्जा भिडाइदिएछन् ।’ पौडेलले सोही लालपुर्जा आयोजनालाई बुझाएपछि आयोजनाले सोहीअनुसार रकम दिएको हो । स्रोतका अनुसार मालपोतले अन्य जग्गाधनीलाई पनि यसैगरी लालपुर्जा बनाएर दिएको हुन सक्ने आशंका गरेका छन् । फिल्डबुक र आयोजनामा बुझाइएको लालपुर्जा भिडाएर हेर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

आयोजनाले पनि स्थानीयले बुझाएको लालपुर्जाअनुसार रकम दिएको थियो । तर, पछि मालपोतको चिठी आएपछि आफूहरू झस्किएको पौडेलले बताए । मालपोतमा गएर बुझ्दा बढी जग्गा बनाईदिएको आफूले थाहा पाएको बताउँदै पौडेलले बढी भएको रकम फिर्ता गर्न थालेको जानकारी दिए । ‘रकम पाएपछि आफूहरूले जिन्सीमा खर्च ग¥र्यो, अहिले पैसा हातमा छैन’, उनले भने,‘सोही जिन्सी सामान बेचर आयोजनालाई रकम फिर्ता गरिरहेको छौंँ ।’

पौडेलले बुढीगण्डकी जलविद्युत आयोजनाको खाता रहेको राष्ट्रिय वाणिज्य बैंकमा विहिवारमात्र दश लाख रुपैयाँ फिर्ता गरेको गरेको कागज समेत देखाए । उनले बाँकी रकम फिर्ता गर्दै लैजाने समेत बताए । ‘मैले कोहीसँग पनि मिलेमतो गरेर बढी रकम लिएको होइन्’, निक्कै भावुक हुँदै उनले भने,‘तर मालपोतका कारण आज मैले ठगी गरेँ भनेर समाजमा इज्जत गुमाउनु परेको छ । यसको क्षतिपूर्ति कसले दिन्छ ।’

प्रतिक्रिया