पूर्वप्रधानमन्त्री आउने की विदेशमन्त्री जाने

प्रचण्ड र नेपालले भेटेनन्, देउवा र भट्टराई भने होटलमै पुगेर भेटे

काठमाडौं । नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेट्ने विषयमा पूर्वप्रधानमन्त्रीले प्रोटोकलको विषय उठाएका छन् । विदेशीमन्त्रीलाई भेट्न जाने की विदेशमन्त्री नै भेट्न आउने भन्ने विषयमा विवाद निस्किएको हो ।

बुधबार नेपाल आएका विदेशमन्त्री जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओली र राजपाका नेताहरूलाई भेटेका थिए । सोही दिन नेपाल–भारत परराष्ट्रमन्त्रिस्तरीय बैठकमा सहभागी भए । बिहिबार बिहान पशुपतिनाथको दर्शन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टचार भेटवार्ता गरे । त्यसपछि पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल‘प्रचण्ड’, माधवकुमार नेपाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र डा. बाबुराम भट्टराईलाई भेट्ने कार्यक्रम थियो । तर, प्रचण्ड र नेपालले जयशंकरलाई भेट्न मानेनन् । कारण थियो, प्रोटोकलअनुसार कुनै देशको विदेशमन्त्रीलाई होटलमा गएर भेट्न नमिल्ने भन्दै उनीहरू गएनन् ।

जयशंकर बत्तीसपुतलीस्थित होटल द्वारिकाजमा बसेका थिए । उनले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका प्रचण्डलाई बिहान ८ बजे र त्यसपछि माधवकुमार नेपाललाई आफू बसेकै होटलमा भेट्न निम्ता पठाएका थिए । पूर्वप्रधानमन्त्री एवम् पार्टीको अध्यक्ष र वरिष्ठ नेताको हैसियतमा अर्को मुलुकमा विदेश मन्त्रीलाई भेट्न जानु कूटनीतिक मर्यादाविपरित हुने भन्दै भेट अस्वीकार गरेका हुन् । नेपालभन्दा अगाडि बोलाइएका प्रचण्डले आफू नजाने बताएपछि नेपालले पनि सोही आधारमा जयशंकरका तर्फबाट आएको निम्तो अस्वीकार गरेको उनी निकट स्रोतले बताएको छ । यद्यपी दुवै नेताले भेट गर्ने नै हो भने आफ्नो निवासमा आउन निमन्त्रणा पठाएका थिए । तर, सो निमन्त्रणा जयशंकरले स्वीकार नगरेको स्रोतको भनाइ छ ।

यद्यपी पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र डाक्टर बाबुराम भट्टराई भने भारतीय विदेशमन्त्रीलाई जयशंकरलाई भेट्न उनी बसेको द्वारिकाज होटेलमै पुगे । जयशंकरसँग देउवाले दिउँसो १२ बजे भेटेका थिए । यसअघि गत जेठमा कांग्रेस सभापति देउवाले भारतीय विदेशमन्त्री नियुक्त भएकोमा जयशंकरलाई बधाइ दिएका थिए । प्रोटोकल बाहिर गएर बधाइ दिनु अशोभनीय भएको भन्दै देउवाको आलोचना भएको थियो । देउवाले भेटेपछि एक बजेतिर अर्का पूर्वप्रधानमन्त्री भट्टराईले समाजवादीका नेताहरूसँगै भेटवार्ता गरेका थिए ।

जयशंकरलाई भेट्न बाबुराम भट्टराईसँगै उपप्रधान तथा स्वास्थ्यमन्त्री एवम् समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि सँगै गएका थिए । २०७२ सालमा भारतका तत्कालीन प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले नेपाललाई नाकाबन्दी लगाउँदा भारतीय विदेशसचिव रहेका जयशंकरको विवादास्पद भूमिका खेलेका थिए ।

प्रतिक्रिया