काठमाडौँमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी

काठमाडौँ । अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालको आोजना तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) को सहकार्यमा काठमाडौँमा १० दिने ‘अन्तर्राष्ट्रिय कला प्रदर्शनी’ हुने भएको छ ।

समाजको तेस्रो स्थापना दिवसको अवसर पारेर यही भदौ ७ देखि १७ गतेसम्म काठमाडौँथित प्रतिष्ठानको कार्यालय नक्सालमा कला प्रदर्शनी हुने आइडब्लुएस नेपालका अध्यक्ष एनवी गुरुङले जानकारी दिए ।

उनका अनुसार प्रदर्शनीमा नेपालसहित भारत, बङ्गलादेश, चीनका चर्चित कलाकारको चित्रहरु समावेश हुनेछ । प्रदर्शनीमा चीनबाट ११, बङ्गलादेशबाट ११, भारतबाट १५ र अरु नेपालको गरी झण्डै ९० वटा चित्र समावेश हुने जनाइएको छ । कलाको माध्यमबाट ती देशहरुबीच सम्बन्धलाई थप मजबुत बनाउने लक्ष्यसहित प्रदर्शनीको आयोजना गरिएको हो ।

प्रदर्शनीको तयारी अन्तिम चरणमा पुुगेको आयोजकले जनाएको छ । अन्तर्राष्ट्रिय जलरङ समाज नेपालका कोषाध्यक्ष भीम श्रेष्ठले कलाकारहरुको स्वतःफूर्तरुपमा उठेको सहयोगबाट प्रदर्शनी गर्न लागिएको जानकारी दिए । यसका लागि झण्डै रु दुई लाख खर्च लाग्ने अनुमान छ ।

प्रतिष्ठानको मूर्तिकला विभाग प्रमुख लालकाजी लामाले अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरिसकेका कलाकारको चित्र समावेश हुने यस्ता प्रदर्शनीले सहभागी देशबीचको आपसी सम्बन्ध विस्तार हुने विश्वास व्यक्त गरे । यस्ता कार्यक्रमले जलरङबाट कला कोर्दै गरेका कलाकारको अनुभव आदानप्रदान हुने र नयाँ कलाकारलाई सिक्ने अवसर मिल्ने लामाले बताए ।

प्रदर्शनीमा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य, सदस्य सचिव विपिनकुमार घिमिरे, वरिष्ठ कलाकार श्यामलाल श्रेष्ठलगायतका अनुभवी र अगुवा कलाकारको चित्रहरु समावेश हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया