पासाङल्हामु राजमार्ग अवरुद्ध

नुवाकोट । पासाङल्हामु राजमार्गको त्रिशूली–बेत्रावती सडकखण्डको गेर्खुखोलामा राखिएको डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको छ ।

गए राति वर्षाको कारण खोलामा आएको बाढीले डाइभर्सन बगाएको हो । विदुर नगरपालिका वडा नं १ र १० को सीमामा रहेको गेर्खुखोलाले गत वर्षको वर्षामा पुल भत्काएपछि अस्थायीरूपमा बनाइएको डाइभर्सन यसपालि बगाएको हो ।

डाइभर्सन बगाएपछि यातायात ठप्प भएको विदुर नगरपालिका– १० का वडाध्यक्ष गणेशकुमार नेपालले बताए । ‘गत वर्ष नै पुल भत्काएपछि नयाँ बनाउन पटक–पटक ताकेता गरे पनि निर्माण गरिएन, अहिले पनि दुःख पाइयो’, वडाध्यक्ष नेपालले भने ।

गल्छी त्रिशूली मैलुङ–स्याफ्रु सडक योजनामा परेको यो सडकको पुल आयोजनाले बेलैमा नबनाउँदा अहिले समस्या आएको हो । एक वर्षअघि नै पुल निर्माण थालिए पनि अहिलेसम्म पूरा भएको छैन् । गत वर्ष खोलाले पुरानो पुल भत्काएपछि डाइभर्सन राखेर यातायात सञ्चालन हुँदै आएको थियो ।

‘अवरुद्ध यातायात सञ्चालनका लागि अर्को डाइभर्सन बनाउने काम शुरु भइसकेको छ’, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले भने, ‘साँझसम्ममा यातायात सञ्चालन हुन्छ ।’

डाइभर्सन बगाएका कारण नुवाकोट, रसुवाको यातायात ठप्प भएको छ । रसुवाबाट काठमाडौँ आउनेजाने सवारीसाधान यहाँ रोकिएका छन् । रसुवा जानका लागि वैकल्पिक सडक त्रिशूली, तुप्चे, मनकामना पहिरेबेँसी सडक पनि पहिरोले ठाउँठाउँमा अवरुद्ध भएको छ ।

प्रतिक्रिया