एसियाली दर्शन र माक्र्सवाद

काठमाडौं । माक्र्सवाद र एसियाली दर्शन अन्तर्राष्ट्रिय सम्मेलन दुईबुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । पहिलोपटक आयोजना गरिएको उक्त सम्मेलनको नेपाल संस्कृत विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय र माक्र्सीय गुरुकुलले संयुक्तरूपमा सोमबारदेखि काठमाडौंमा आयोजना गरेका थिए । उक्त कार्यक्तममा नेपाल, चीन, भारत, बेलायत, जर्मनीलगायतका देशबाट तीन सयभन्दा बढी प्रतिनिधि सहभागी भएका थिए । सम्मेलनले माक्र्सवाद र एसियाली दर्शनलाई दार्शनिकबीच खुला संवाद एवं बहस गराई विचार, ज्ञान र दर्शनको समृद्धीकरणमा निरन्तर जुटिरहने घोषणा गरेको छ ।

यसैगरी, वर्षमा कम्तीमा एउटा बृहत् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलन गर्ने प्रतिबद्धता पनि गरिएको आयोजक समितिका सदस्यसचिव डा.प्रेमराज न्यौपानेले जानकारी दिए । समापन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ माक्र्सवादी चिन्तक मोहन वैद्यले नेपालका मौलिक दर्शनदेखि माक्र्सवादको विषयवस्तुबारे बहस सुरु हुनु सकारात्मक रहेको बताए ।

उनले संस्कृत भाषा ज्ञानको भण्डार भएकाले सबैलाई अनिवार्य पढ भन्न नसकिए पनि जान्न र बुझ्नका लागि पनि अध्ययन गर्नुपर्नेमा जोड दिए । नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक डा.काशीनाथ न्यौपाने, माक्र्सीय गुरुकुलका अध्यक्ष सोनाम साथीलगायतले एसियाली र माक्र्सवादी दर्शनका राम्रा विषयलाई छनोट गरी अध्ययन–अनुसन्धान गरिनुपर्ने धारणा राखे ।

प्रतिक्रिया