सिटी हल निर्माण अन्तिम चरणमा

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माणको क्रममा रहेको सिटी हलको निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । ठूला हलविहीन रहेको कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा २६ करोडको लागतमा बन्ने उक्त हल कर्णालीकै पहिलो सुविधासम्पन्न र धेरै जना अट्ने क्षमता भएको हल हुनेछ ।

वीरेन्द्रनगर नगरपालिका–६ मा उक्त हल साढे तीन बिघा जग्गामा निर्माण भइरहेको छ । भवन डिभिजन कार्यालय सभाहलको निर्माणको जिम्मा काठमाडौंस्थित समानान्तर चक्रेश्वरी–शिवशक्ति जेभीलाई दिएको थियो । सभा हल निर्माणको जिम्मा पाएको समानान्तर चक्रेश्वरी–शिवशक्ति जेभी, काठमाडौंले तोकिएको समयभन्दा अगाडि भवन निर्माण गर्ने लक्ष्यअनुरूप भवन निर्माण कार्य छिट्टै सम्पन्न हुन लागेको जनाएको हो ।

भवन डिभिजन कार्यालयले समानान्तर, चक्रेश्वरी, शिवशक्ति जेभीलाई ०७३ चैत २४ मा सभाहल निर्माणको जिम्मा दिएको थियो । भने हल निर्माणको अवधि तीन वर्ष रहेको थियो । अर्थात कम्पनीले ०७६ चैत २४ भित्र काम सम्पन्न गरी भवन डिभिजनलाई हस्तान्तरण गर्नुपर्नेछ । तर, कम्पनीले सम्झौता अवधिभन्दा केही महिना पहिले नै निर्माण कार्य सम्पन्न गरिसक्ने दाबी गरेको छ ।

काम गर्ने समयमा कुनै पनि बाधा र अवरोध नआएका कारण तोकिएको समयभन्दा अगाडि काम सम्पन्न गरी भवन डिभिजनलाई हस्तान्तरण गरिने कम्पनीले जनाएको हो । कम्पनीका इन्जिनियर चन्द्रनारायण पण्डितले निर्माण सम्पन्न अवधिभन्दा पहिले नै काम सम्पन्न गरी भवन डिभिजनलाई हस्तान्तरण गर्ने तयारी रहेको बताए । हलमा ७ सय ६८ जना अट्ने एक हल तथा अन्य सात वटा बैठक कक्षको स्ट्रक्चर पूरा भइसकेको र फिनिसिङको काम मात्रै बाँकी रहेको उनको भनाइ रहेको छ । निर्माणाधिन सभाहलको पार्किङमा चार सय मोटरसाइकल र दुई सय गाडी राख्न मिल्ने हुनेछ । सभाहलमा दुई गेट रहनेछन् । जसमध्ये एउटा मुख्य र अर्को साइटगेट बन्नेछ ।

प्रतिक्रिया