पर्यटन मन्त्रीद्वारा विमानस्थलको अनुगमन

इलाम । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले इलाम नगरपालिका–९ गोलाखर्कमा निर्माणाधीन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको अनुगमन गरेका छन् । बुधबार गृह जिल्ला ताप्लेजुङ फर्कने क्रममा मन्त्री भट्टराईले निर्माणाधीन विमानस्थलको अनुगमन गरेका हुन् । अनुगमनपछि भट्टराईले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै विमानस्थललाई पूर्णता दिन आफू लागिपर्ने प्रतिवद्धता जनाए ।

पहाडी जिल्लाका लागि आवश्यकता महसुस भएर नै निर्माण थालिएको बताउँदै मन्त्री भट्टराईले विमानस्थलले चाँडै पूर्णता पाउने भन्दै निराश नबन्न स्थानीयलाई आग्रह गरे । १५ महिनाको ठेक्का लागिसकेको जानकारी दिँदै भट्टराईले सो अवधिमा हेर्न लायकको प्रगति हुने र त्यसपछि थप रकम विनियोजन गरेर विमानस्थल निर्माणलाई पूर्णता दिने बताए । पर्यटन प्रवद्र्धनका लागि सहयोगसिद्ध हुने बताउँदै भट्टराईले सरकारले यसलाई उच्च प्राथमिकतामा राखेको बताए ।

विमानस्थलको गतवर्ष नै परीक्षण उडान भइसकेको छ । इलाम सदरमुकामबाट पाँच किलोमिटर दक्षिणमा रहेको विमानस्थलको सात सय मिटर लम्बाई र ६० मिटर चौडाइ कच्ची धावनमार्ग निर्माण सम्पन्न भइसकेको छ । भल व्यवस्थापनका लागि विमानस्थलबाट माइखोलासम्म नाली निर्माणको काम पनि सम्पन्न भइसकेको छ ।

तर, बाँकी काम नहुँदा विमानस्थलले पूर्णता पाउन सकेको छैन । विमानस्थल सञ्चालनमा ल्याउन टर्मिनल टावरका लागि भवन निर्माण, धावन मार्ग कालोपत्रे, विमान पार्किङ र कार पार्किङ, भञ्ज्याङदेखि विमानस्थलसम्मको सडक र नाली निर्माण गर्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । तर, ती काम अघि बढ्न सकेको छैन । विमानस्थलको शिलान्यास ०६८ सालमा तत्कालीन नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले गरेका थिए । निर्माण सुरु भएको आठ वर्ष बितिसक्दासमेत पर्याप्त बजेट नभएको भन्दै विमानस्थलले पूर्णता पाउन सकेको छैन ।

समुद्र सतहबाट १ हजार १ सय ५० मिटर उचाइमा रहेको उक्त स्थानमा प्रायः घाम लागिरहने भएकोले विमानस्थलका लागि उपयुक्त मानिन्छ । विमानस्थल निर्माणले पूर्वी पहाडका जिल्ला र सीमापारी भारतको दार्जिलिङ र सिक्किमका बासिन्दाका लागिसमेत सहज हुने ठानिएको छ । १८ यात्रु अटाउने ट्विनअटर जहाज चल्ने विमानस्थलका लागि सरोकारवाला निकाय र व्यक्तिबाट ३ सय २६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो ।

प्रतिक्रिया