इन्द्रजात्रालाई अन्तराष्ट्रियमा चिनाउन विदेशीलाई निम्तो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नेपालको राष्ट्रिय इन्द्रजात्रा पर्वलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने बताएका छन् । मेयर शाक्यले बुधबार इन्द्रजात्रा व्यवस्थापन समितिका पदाधिकारीसँगको छलफलमा सो कुरा बताएका हुन् । ‘इन्द्रजात्रा पर्व नेवार समूदायको मात्र होइन, यो राष्ट्रिय पर्वलाई सबै जातजातिको साझा पर्वकारुपमा मनाउनुपर्छ,’ उनले भने ।

उनले काक्रममा विगतका वर्षभन्दा यो वर्ष इन्द्रजात्रालाई भव्यरुपमा सम्पन्न गर्न महानगरपालिकाले विषेश समन्वय गरेको बताए । ‘हामीले इन्द्रजात्रा अवलोकनका लागियो वर्ष महानगरपालिकासँग भगिनी सम्बन्ध भएका विभिन्न देशका धेरै नगर प्रमुखहरूलाई निम्तो गरेका छौँ ।

त्यस मध्ये १३ वटा नगरपालिकाका ५ मेयरसहित ४८ जनाले सहभागिता जनाउने निश्चित भइसकेको छ,’ शाक्यले भने, ‘हामी अहिले नेपाल भ्रमणवर्ष २०२० को तयारीमा छौँ । हामीले उहाँहरुलाई निम्तो गर्नुको मुख्य कारण नेपाललाई चिनाउनका लागि पनि हो ।’ चीन, जापान र संयुक्त राज्य अमेरिकाबाट इन्द्रजात्रा अवलोकन गर्न आउने पाहुनालाई यहाँको मूर्त–अमूर्त सम्पदाका बारेमा जानकारी गराउने तयारीसमेत महानगरपालिकाले गरेको छ ।

‘चार रात पाँच दिनका लागि नेपाल आउने पाहुनालाई हनुमानढोका दरबार, स्वयम्भू, चन्द्रागिरी पाटन, भक्तपुर दरबारलगायतका स्थानको अवलोकन गराउने तयारी भएको छ,’ मेयर शाक्यले भने, ‘यहाँको सस्कृति, सम्पदा र पर्यटनका बारेमा जानकारी गराउन पाहुनालाई नासल चोकमा रात्रिभोज सहित सांस्कृतिक कार्यक्रम गर्ने तयारी पनि हामीले गरेका छौँ ।’

त्यसै गरी महाकाली नाच, लाखे नाच, पुलुकिसि नाचसँगै कुमारीको दर्शन र जात्रासँग सम्बन्धित विभिन्न गुठी बारे जानकारी गराउने पनिमहानगरपालिकाले तयारी गरेको छ । उनले यसले भगिनी सम्बन्ध स्थापित गरेका नगरसँग यहाँको पर्यटन प्रवद्र्धनका बारेमा अनुभव आदन–प्रदानहुने बताए ।

विगतमा इन्द्रजात्राका लागि केन्द्र सरकारले नै आर्थिक सहयोग गर्दै आएको स्मरण गराउँदै मेयर शाक्यले सरकारको अनुमतिअनुसार नै अघिल्लो वर्षदेखि स्थानीय सरकारले सहयोग गर्ने गरेको जानकारी पनि गराए । ‘इन्द्रजात्राको सबै तयारी गर्नुहोला महानगरपालिकाले आर्थिक अभाव हुन दिँदैन,’ उनले भने, ‘स्थानीय सरकारसँग मिलेर यहाँका पर्व जात्रालगायत सबै सम्पदा र संस्कृतिको जगेर्ना गरौँ ।’

इन्द्र जात्रा के हो ?

इन्द्र स्वर्गका राजा हुन् । यो पर्व उनै इन्द्रदेवका नाममा समर्पित छ । इन्द्रदेवलाई नेपाल भाषामा ‘यमाद्य’ भनिन्छ । यही यमाद्यबाट ‘येँ’ शब्द उत्पत्ति भएको हो । काठमाडौंलाई नेपाल भाषामा ‘येँ’ भनिन्छ भने इन्द्रजात्रालाई ‘यँया’ भनिन्छ । जसको अर्थ ‘काठमाडौंको जात्रा’ भन्ने बुझिन्छ ।

राजागुण कामदेवले व्यवस्थित काठमाडौँ शहर बसालेपछि त्यसैको सम्झनास्वरुप इन्द्रजात्रा अर्थात ‘यँया’ पर्व चलाएको विश्वास गरिन्छ । इन्द्रजात्रा काठमाडौंकै नामबाट चलाइएको पर्व भएको कारणले पनि काठमाडौं महानगरपालिकाले यो जात्रालाई विशेष महत्व दिई अन्तर्राष्ट्रिय रुपमै प्रचार हुने शैलीमा मनाउन लागिएको हो ।

आठ दिनसम्म चल्ने यस जात्रा हनुमानढोकामा लिंगो उठाएपछि सुुरु हुन्छ । त्यसपछि जीवित देवताहरू श्री कुमारी, श्री गणेश र श्री भैरवको रथ काठमाडौंको माथिल्लो र तल्लो भेगमा तान्ने, इन्द्रको आमाकीरुपमा परिचित दागिं निकालिने, मरु टोलको बीचमा इन्द्रदेवलाई बाँधेर पूजा गर्ने, राति बौमत निकालिने, पुरानो काठमाडौँको सीमा क्षेत्र परिक्रमा गर्ने गरी उपाकू घुम्ने, हनुमानढोकामा अवस्थित स्वेत भैरव (हाथुद्य) र इन्द्रचोकमा अवस्थित आकाश भैरव (आजुद्य) को मुखबाट पितृका नाममा तर्पण दिने आदि जस्ता सांस्कृतिक कार्यहरू यो जात्रामा गरिन्छ । इन्द्रजात्राकै बेलादेखि काठमाडौँमा कुहिरो लाग्न सुुरु हुने विश्वास गरिन्छ ।

प्रतिक्रिया