सुन तोलाको ३०० ले बढ्यो, खपत घट्यो

काठमाडौं । पछिल्लो एक महीनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा आज फेरि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँ र चाँदीमा प्रतितोला ५ रुपैयाँले वृद्धि भएको छ । छापावाला सुन प्रतितोला ७१ हजार ३ सय पुगेको छ । मङ्गलबार छापावाला सुन प्रतितोला ७१ हजारमा कारोवार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य पनि प्रतितोला ३ सयले वृद्धि भएको छ । स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रतितोला ७१ हजार पुगेको छ । मङ्गलबार तेजाबी सुन प्रतितोला ७० हजार ७ सयमा कारोवार भएको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ । आज चाँदीको मूल्य पाँचले वृद्धि भएर प्रतितोला ८ सय ३० पुगेको महासङ्घले जनाएको छ । मङ्गलबार चाँदी प्रतितोला ८ सय २५ मा खरीदबिक्री भएको थियो । भदौ लागेसँगै स्थिर भएको सुनको मूल्य आज वृद्धि भएको हो । गत साउनको शुरुआतदेखि नै सुनको मूल्य उकालो लाग्न थालेको थियो । साउन महीनामा सुनको मूल्य प्रतितोला सात हजार र चाँदीको मूल्य प्रतितोला ९५ ले वृद्धि भएको छ ।

साउन १ गते छापावाला सुन प्रतितोला ६४ हजार ५ सय, तेजाबी सुन ६४ हजार २ सय र चाँदी प्रतितोला ७ सय ४५ मा कारोबार भएको थियो । साउनको अन्तिममा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको थियो । साउन ३१ र ३२ गते छापावाला सुन प्रतितोला ७१ हजार ५ सय, तेजाबी सुन ७१ हजार २ सय तथा चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा बुधबार सुनको मूल्य प्रतिऔँस एक हजार ५ सय अमेरिकी डलर पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा परेको हो । चीन–अमेरिका व्यापार टकराव, इरान–अमेरिका विवादले पनि सुनको भाउ बढाउन सहयोग गरेको बताइन्छ । सुनको मूल्य वृद्धि भएसँगै सुनको खपत भने ह्वात्तै घटेको छ । दैनिक २०÷२५ किलो सुन खपत हुने नेपाली बजारमा पछिल्लो समय मुस्किलले १० किलो पनि बिक्री हुन नसकेको महसङ्घले जनाएको छ । अहिले सुन किन्नेभन्दा पनि गहना बेच्नेको घुइँचो लाग्ने गरेको छ ।

प्रतिक्रिया