इलाममा साहित्य महोत्सव हुने

इलाम । नेपाली साहित्यको विकास गर्ने लक्ष्यका साथ दुई दिने महोत्सव हुने भएको छ । आगामी असोज ३ र ४ गते ‘इलाम साहित्य महोत्सव २०७६’ हुने भएको हो । ‘पर्यटनको लागि साहित्य’ भन्ने मुल नाराको साथ इलाम साहित्य समाजले महोत्सवको आयोजना गर्न लागेको मंगलबार पत्रकार सम्मेलन गरी जनाएको छ ।

पछिल्लो समय इलाममा साहित्यिक कार्यक्रम सुस्ताइरहेको अवस्थामा पुनर्जागरण र पुनःउत्थानका लागि महोत्सवको आयोजना गरिन लागिएको समाजका अध्यक्ष प्रकाश थाम्सुहाङले बताए । यसअघि इलाममा २००९ सालमा करफोकमा नेपालका प्रायः चर्चित साहित्यकारको उपस्थितिमा बृृहत् साहित्यिक सम्मेलन आयोजना गरिएको थियो । त्यसपछि २०४५ सालमा महानन्द पुरस्कार समारोहपश्चात् २०६३ र २०६९ सालमा विशेष साहित्यिक कार्यक्रमपछि कुनै पनि साहित्यिक महोत्सव तथा सम्मेलनहरू आयोजना गरिएको छ्रैन । करिब सात वर्षपछि इलाममा अन्तराष्टिय साहित्यिक सम्मेलन आयोजना गर्न लागिएको समाजले जनाएको छ ।

इलाम सदरमुकाममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका चर्चित साहित्यहस्ती, लेखक, कवि, चिन्तक, विश्लेषक, कलाकार, राजनीतिज्ञको सहभागितामा महोत्सव आयोजना गर्न लागिएको हो ।  महोत्सवले लेखक र पाठकबीच अन्तक्र्रिया गर्ने मञ्च दिनुका साथै सामाजिक बहस र स्वतन्त्र विचार निर्माण गर्न सघाउ पुग्ने, देश विदेशका चर्चित साहित्यकार, लेखक, पत्रकार, राजनीतिज्ञसँग पाठकले प्रत्यक्ष अन्तक्र्रिया गर्ने अध्यक्ष थाम्सुहाङले बताए । महोत्सवले विश्व साहित्यको उतारचढावलाई बुझन मद्दत गर्नुका साथै विषयगत ज्ञानको दायरा फराकिलो पार्ने र वैचारिक मत बनाउन सघाउ पु¥याउने आयोजकको विश्वास छ ।

महोत्सवमा ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई समेत प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ । महोत्सवमा संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई, नेपाली कांग्रेसका प्रवक्ता तथा युवानेता विश्वप्रकाश शर्मा, चिन्तक प्रदीप गिरी, प्राज्ञ वैरागी काइँला, चर्चित अभिनेता दयाहाङ राई, अभिनेतृ ऋचा शर्मासहित ख्यातिप्राप्त साहित्यकार, लेखक, विश्लेषक, कलाकार, राजनीतिज्ञलगायत डेढ सय र भारतको दार्जिलिङ, सिक्किमबाट २० गरी १ सय ७० बढीको सहभागिता रहने आयोजकले जनाएको छ ।

दुई दिनसम्म चल्ने महोत्सवमा विभिन्न ११ वटा विषयमा छलफल हुने कार्यक्रम तय गरिएको छ । समृद्धि कस्तो र कसका लागि, करोड क्लब र अफवाह, सत्ता कि प्रतिपक्ष, मानकमाथि प्रश्न, किन बिक्न छोड्यो ?, दश वर्षपछिको नेपाल, अधिकारको पेवा, ‘अ’ मा अल्झेको इलाम, पछिल्ला साहित्यिक आन्दोलनहरू, गीतको दुःख र पर्यटनको आयाम शीर्षक तयार गरिएको समाजले जानकारी दिएको छ ।

अन्य विषय पनि थप हुन सक्ने जनाइएको छ । प्रस्तुत शीर्षकमा साहित्यकार, लेखक, विश्लेषक, कलाकार, राजनीतिज्ञद्वारा सहभागीबीच छलफल बहस गरिने समाजका सचिव रोशन राईले बताए । महोत्सव सम्पन्न गर्नको लागि करिब २५ लाख लागत लाग्ने इलाम साहित्य समाजका कोषाध्यक्ष सुरेन्द्र राईले जानकारी दिए ।  साहित्यको इतिहासमा इलामले विशिष्ट महत्व राखेको र इलामे भूमिबाट नै सन्त ज्ञानदिल दास, महानन्द सापकोटा, विष्णु नवीन, तारानाथ शर्मा आदि विशिष्ट स्रष्टाले इलामलाई चिनाएका छन् ।

प्रतिक्रिया