सम्झनामा नारायणबहादुर

काठमाडौं । नेपाली ललितकला समीक्षा तथा पत्रकारितामा महत्वपूर्ण योगदान दिएका नारायणबहादुर सिंहको स्मृतिमा कार्यक्रम गरिएको छ । नेपाल ललितकला पत्रकार समाज (सोफाज) को आयोजना भएको कार्यक्रममा कलाकार लक्ष्मण भुजेलले नेपाली कला समीक्षा तथा इतिहासका क्षेत्रमा सिंहले अतुलनीय योगदान दिएको बताए । उनले कला क्षेत्रमा मात्रै नभई पत्रकारिता तथा साहित्यका क्षेत्रमा समेत सिहंले उल्लेख्य काम गरेको जनाए ।

भुजेलले भने, ‘नेपाली ललितकला क्षेत्रलाई सञ्चार माध्यममार्फत आमजनमानससम्म पु¥याउन सिंहले महत्वपूर्ण भूमिका खेल्नुभयो । जसको परिणाम नेपाली पत्रकारितामा ललितकला क्षेत्रले महत्वपूर्ण स्थान पाउन सफल भयो । साथै आम पाठकले कलाका विविध विषयमा जानकारी पाउन सके ।’

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ रमेश खनालले सिंहले लेखेका कृतिको प्रकाशन गर्नुपर्ने धारणा व्यक्त गरे । उनले नेपाली कला जगतलाई चिनाउन सिंहले खेलेको भूमिका निकै प्रभावकारी रहेको बताए । उनले भने, ‘सिंहका पुस्तकको पुर्नप्रकाशन तथा लेखरचना संकलन गरी प्रकाशनमा ल्याउनुपर्दछ ।’

कलाकार तथा कला समीक्षक मुकेश मल्लले सिंहले देखाएको समीक्षाको बाटोमा लाग्न पछिल्लो पुस्तालाई आग्रह गर्दै लेखनविना कला क्षेत्रले गति समात्न नसक्ने जिकिर गरे । उनले भने, ‘कला लेखा तथा समीक्षालाई सही ढंगले अगाडि बढाउनु नै नारायणबहादुर सिंहप्रतिको सच्चा सम्मान हो ।’ उनले ३० को दशकमै नारायणबहादुरसँग आफूले कला लेखन र कलाक्षेत्रका बारेमा महत्वपूर्ण छलफल गरेको सुनाए । उनले थपे, ‘सिंह कलाप्रति निकै अनुराग राख्नुहुन्थ्यो । उहाँको कलाप्रतिको बुझाइ निकै गहन र प्रभावकारी थियो ।’

कार्यक्रममा कलालेखक तथा कलाकार तीर्थ निरौलाले कला समीक्षालाई चुनौतीका रूपमा ग्रहण गर्दै सिंहले नेपाली कला क्षेत्रलाई योगदान दिएको बताए ।  नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सुषमा राजभण्डारीले कला, साहित्य तथा पत्रकारिताका क्षेत्रमा लामो समय काम गरेको बताउँदै पछिल्लो समय सिंहलाई भुल्दै गएकोमा चिन्ता व्यक्त गरिन् । उनले कला समीक्षाले सही बाटो समात्न सक्यो भने नेपाली कलाले गति पाउने बताउँदै कला लेखनले नै कलाकारलाई घच्घचाउन सघाउने धारणा व्यक्त गरिन् । कार्यक्रममा नेपाल ललितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनालले कला पत्रकारितालाई व्यवस्थित ढंगले सिंहले अगाडि बढाएको बताए ।

उनले नेपाली ललितकलालाई जनमानससम्म पु¥याउन सिंहले निकै मिहिनेत गरेको भनाइ राखे । अध्यक्ष खनालले कलाक्षेत्रमा नारायणबहादुर सिंहको उचाई नाप्ने अरू समीक्षक आउन नसकेको दुःखेसो पोखे ।  समाजले विगत चार वर्षदेखि नारायणबहादुर सिंहको स्मृति हरेक वर्ष दुईजना ललितकला पत्रकारलाई पुरस्कृत गर्दै आएको उनले जानकारी दिए । सिंहले लगभग तीन दशक गोर्खापत्रमा काम गरेका थिए । साहित्यिक पत्रिका मधुपर्कको सम्पादकको जिम्मेवारी सम्हालिसकेका सिंहका चारवटा पुस्तक प्रकाशित छन् ।

उनका नेपाली चित्रकार (२०२७), नेपाली समसामयिक चित्रकलाको इतिहास (२०३३), कला एक अनुभूति एक चिन्तन (२०३२) र श्रृंखलाहिन श्रृंखलाहरू (२०४४) उनका कृतिका रूपमा प्रकाशित छन् । वि.सं. १९८७ साल फागुनमा काठमाडौंको ठमेलमा जन्मिएका सिंहले बनारसबाट स्नातक गरेको थिए । उनले इलाम र गौरमा करिब चार वर्ष अध्यापनसमेत गरेका थिए । उनको २०४४ साल भदौ २ गते निधन भएको थियो ।

प्रतिक्रिया