युनाइटेड बराबरीमा रोकियो

एजेन्सी, लण्डन । चेल्सीलाई हराउँदै यस सिजनको इंग्लिस प्रिमियर लिगको सुरुआत गरेको म्यानचेस्टर युनाइटेडले उल्भरह्याम्टनविरुद्ध भने अंक बाँडेको छ ।  उल्भरह्याम्पटनको मैदानमा सोमबार राती युनाइटेड १–१ गोलको बराबरीमा रोकिएपछि अंक बाँड्न बाध्य भएको हो । उल्भरह्याम्पटनको घरेलु मैदानमा युनाइेटडले एक गोलको अग्रता जोगाउन सकेन भने पाएको पेनाल्टीको पनि सदुपयोग गर्न सकेको थिएन । २७ औँ मिनेटमा एन्टोनी मार्सियलको गोलबाट युनाइटेडलाई अग्रता लिएको थियो ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको युनाइेटडविरुद्ध उल्भरह्याम्पटनले दोस्रो हाफमा भने गोल फर्कायो । ५५औँ मिनेटमा उल्भरह्याम्पटनका रुवेन नेभेसले उत्कृष्ट गोल गर्दै टिमलाई बराबरीमा पु¥याए । तर, ६८औँ मिनेटमा युनाइटेडले अग्रता लिने अवसर पाएको थियो । यद्यपि, पेनाल्टीमा पोग्बा चुक्न पुगे ।

त्यससँगै यो सिजनको पहिलो खेलमा चेल्सीमाथि ४–० को प्रभावशाली जित निकालेको युनाइेटड उल्भरह्याम्पटनसँग भने अंक बाड्न बाध्य भयो । खेलपछि प्रशिक्षक ओले सोल्सजायर गनरले रासफोर्ड र मार्सियन अग्रपंक्तिमा अझ चुस्त हुन आवश्यक रहेको बताए । यो बराबरीसँगै युनाइटेडले २ खेलबाट ४ अंक बनाएको छ ।

यता, विश्वकप विजेता फ्रान्सका स्टार पाउल पोग्बाले पेनाल्टी अवसर चुकाएपछि भएको रंगभेदी टिप्पणीप्रति उनको क्लब म्यानचेस्टर युनाइटेडले कडा निन्दा गरेको छ । इंग्लिस प्रिमियर लिगमा सोमबार उल्भरह्याम्पटनसँगको खेलमा पोग्बाले पेनाल्टी अवसर गुमाएपछि युनाइटेड १–१ गोलको बराबरीमा रोकिँदा उनीप्रति समर्थकले रंगभेदी टिप्पणी गरेका थिए । सोही किसिमको व्यवहार निकै निन्दनीय भएको युनाइटेडले जनाएको छ ।

गत संस्करणदेखि २६ वर्षे फ्रान्सेली स्टार पोग्बाले चारपटक पेनाल्टी अवसर चुकाउँदा प्रिमियर लिगमै धेरै पेनाल्टी गुमाउने खेलाडीसमेत भए । उनको टोलीका मार्कुस रासफोर्डले पनि आफ्ना चारै पेनाल्टीलाई गोलमा परिणत गरेका छन् । जसको कारण पनि पोग्बा सामाजिक सञ्जाल प्रयोगकर्ताको निसानामा परे । गत हप्ताभित्र मात्र पेनाल्टी अवसर गुमाउँदा इंग्ल्यान्डमा रंगभेदी टिप्पणी खेप्ने पोग्बो तेस्रो खेलाडीका भएका छन् ।
युनाइटेडले सो किसिमको टिप्पणीलाई घृणालाग्दो व्यवहार भएको विश्लेषण गर्दै क्लबले निन्दनीय रहेको जनाएको छ । ‘जो व्यक्तिले त्यस किसिमको खराब धारणा व्यक्त गरेका छन्, त्यसले हाम्रो क्लबको मानलाई गिराएको छ । हाम्रा समर्थकहरूलाई खराबतर्पm लगिरहेको छ,’ युनाइटेडले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । युनाइटेडले त्यस्ता टिप्पणीप्रति शून्य सहनशीलता हुने उल्लेख गरेको छ ।

‘त्यस्ता गतिविधिप्रति हामी शून्य सहनशीलता अपनाउनेछौँ । रंगभेदी, विभेद र क्याम्पेनको पूर्ण विपक्षमा छौँ,’ युनाइटेडले भनेको छ, ‘हामी त्यो घटनाको विषयमा पनि छानबिन गर्नेछौँ । साथै हामी त्यस किसिमको घटना रोक्न क्याम्पेन नै चलाउनेछौँ ।’रासफोर्डले पनि पोग्बाको समर्थनमा ट्वीट गर्दै भनेका छन्, ‘उनी हाम्रो परिवारका सदस्य हुन् । पोग्बाप्रति आक्रामण हुनु हामी सबैप्रतिको आक्रामण हो ।’

गत हप्ता पनि चेल्सीका टमी अब्राहम र च्याम्पियनसिप क्लब रिडिङका याकोयु मेइटेलाई पनि रंगभेदी टिप्णी गरिएको थियो । अब्राहमले गत बुधबार सुपर कपको फाइनलमा लिभरपुलविरुद्धको पेनाल्टी सुटआउटमा अन्तिम पेनाल्टी चुमाउँदा चेल्सीले उपाधि गुमाएको थियो । त्यससँगै अब्राहममाथि पनि तीव्र रंगभेदी आक्रामण भए । चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले त्यस्तो टिप्पणीलाई घृणित व्यवहार भएको प्रतिक्रिया दिएका छन् ।

प्रशिक्षक लाम्पार्डले सामाजिक सञ्जाल प्रयोगकर्तालाई त्यस्ता खराब टिप्पणी रोक्ने अभियान चलाउन पनि अनुरोध गरेका छन् । अब्राहमले पनि आफूलाई घृणा गर्नेप्रति केही नभन्ने बताइसकेका छन् । यसअघि चेल्सीले नै गत जुलाईमा म्यानचेस्टर युनाइटेडका रहिम स्टर्लिङप्रति रंगभेदी टिप्पणी गर्नेलाई आजीवन प्रतिबन्ध लगाइसकेको छ । पाँच समर्थकलाई चेलसीले एक वर्ष र दुई वर्ष प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया