सार्कलाई सक्रिय बनाउन माग

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा गोलाबारी र तनाव बढिरहेकामा चिन्ता व्यक्त गर्दै शान्ति स्थापना गर्न माग गरेको छ ।  समाजले मंगलबार काठमाडौंस्थित भारतीय र पाकिस्तानी राजदूतावासअगाडि एकसाथ धर्ना एवम प्रदर्शन गरी ‘युद्ध निषेधः शान्ति विशेष’ अभियान सञ्चालन गरेको हो । समाजले भारत र पाकिस्तानलाई युद्धको सम्भावनालाई खारेज गर्न र दुई देशबीच वार्ता अघि बढाउन पनि माग गरेको छ ।

तीन दशकअघि स्थापना भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई सक्रिय बनाउनसमेत सो अवसरमा आग्रह गरिएको थियो । समाजले शत्रुता अन्त्य गरी मित्रतालाई प्रगाढ बनाउन आह्वान गरेको छ । समाजले लैनचौरस्थित भारतीय दूतावास र महाराजगञ्जस्थित पाकिस्तानी दूतावास अगाडि मंगलबार एक घण्टा धर्ना दिएको थियो । धर्नामा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकारहरू होमकान्त चौलागाई र डा गंगाधर अधिकारी, सचिवहरू रत्नलक्ष्मी श्रेष्ठ, बलबहादुर गाहा मगर र टेकबहादुर सार्की, कोषाध्यक्ष रामकृष्ण बराललगायत अधिकारकर्मीको सहभागिता थियो ।

धर्नाको अन्त्यमा समाजका तर्फबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई लेखिएको पत्र दूतावासका वरिष्ठ अधिकारीहरूलाई हस्तान्तरण गरिएको थियो । दक्षिण एसियाली राष्ट्रबीच नागरिकस्तरमा मित्रतालाई प्रगाढ बनाउने तथा सद्भाव र भाइचारा कायम गर्ने उद्देश्यले समाजले केही वर्ष अगाडि दक्षिण एसियाली सद्भाव यात्राको प्रारूप अघि सारेको स्मरण गराउँदै अहिंसा, शान्ति, सद्भाव, सहिष्णुता र आपसी समझदारीलाई अभिवृद्धि गर्नुपर्नेमा समाजले जोड दिएको छ ।

प्रतिक्रिया