प्रदेश– ३ ले सयौँ नर्स करारमा लिँदै

काठमाडौं । एक सरकारी माध्यमिक विद्यालयमा एक नर्सको व्यवस्था हुनेगरी सामाजिक विकास मन्त्रालय प्रदेश नं. ३ ले एक सय एक नर्सलाई करारमा लिने भएको छ । मन्त्रालयले मंगलबार निकालेको सूचना अनुसार इच्छुक उम्मेद्वार नर्सले २१ दिन भित्र कार्यालय समयमा दरखास्त दिन सक्ने बताइएको छ । १३ वटा जिल्ला रहेको प्रदेश नं. ३ का विभिन्न स्थानीय निकायमा यो कार्यक्रम सञ्चालन गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

साथै एक स्थानीय तह अन्तर्गत एक जना नर्सको व्यवस्था हुनेछ । प्रदेश सरकारले गरेको यस कार्यक्रमले अब एक सय एक स्थानीय तहमा नर्सका लागि रोजगारीको अवसरसमेत खुल्ला भएको हो । सूचनाअनुसार रामेछापको ७, सिन्धुली ८, दोलखा ८, सिन्धुपाल्चोक १०, काभ्रेपलाञ्चोक १२, ललितपुर ५, भक्तपुर ३, काठमाडौं ९, नुवाकोट १०, रसुवा ४, धादिङ ११, मकवानपुर ८, चितवनको ६ स्थानीय तहका एक विद्यालयका लागि नर्स नियुक्त गर्न लागेको हो ।

प्रदेश ३ को एक सय १९ स्थानीय तहको एक सय २१ विद्यालयमा गर्ने कार्यक्रमको यस लक्ष्यअनुसार प्रदेश सरकारले ६ करोड ६५ लाख बजेट पनि विनियोजन गरेको हो । यसअघि पनि मन्त्रालयले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम केही विद्यालयमा कार्यान्वयनमा ल्याइसकेको छ ।

प्रतिक्रिया