कर बुझाउँदैनन् सिनेमा हल

काठमाडौं । राजधानीमा सञ्चालित ठूलादेखि सानासम्मका सिनेमा हलहरूले मनोरञ्जनबापतको कर नतिरेको पाइएको छ । काठमाडांै महानगरपालिकाको फितलो नीतिका कारण सिनेमाहलहरूले मनोरञ्जन कर तिर्न अटेर गरेका हुन् ।  हाल राजधानीमा ४२ वटा सिनेमा हलहरू सञ्चालनमा छन् । जसमध्ये ३८ वटा फिल्महलले मनोरञ्जन कर नबुझाएको काठमाडौं महानगरपालिका राजस्व विभागका निर्देशक नुरनिधि न्यौपानेले जानकारी दिएका छन् । उनका अनुसार हालसम्म चारवटा फिल्महलहरूले मात्र मनोरञ्जन करबापतको रकम बुझाएका छन् ।

प्रदेश–३ को आर्थिक ऐन २०७६ को व्यवस्थाबमोजिम चलचित्र घरहरूले चलचित्र प्रदर्शन गर्दा प्रति टिकट बिक्रीमा मनोरञ्जन करबापत लिएको पाँच प्रतिशतले हुन आउँछ । सो मनोरञ्जनबापतको कर व्यवसायीले काठमाडौं महानगरपालिकालाई बुझाउनु पर्ने हुन्छ । एक वर्ष बितिसक्दासमेत ३८ वटा हलहरूले सो कर तिरेका छैनन् ।

ऐनअनुसार राजस्व संकलनको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ । तर, सिनेमा हलले विभिन्न बहाना बनाएर राजस्व बुझाउन नमानेको महानगरको भनाइ छ । विभिन्न समयमा पत्र काटेर ताकेता गर्दासमेत राजस्व बुझाउन आनाकानी गर्दै आएको महानगरको भनाइ छ । महानगरसँग यस क्षेत्रमा ठूला र साना गरी ४२ को संख्यामा सिनेमा हल रहेको तथ्यांक छ । गत आर्थिक वर्षमा चारवटा हलले मात्रै कर बुझाएका छन् । पटक–पटक ताकेता गर्दासमेत ती हल सञ्चालकले कर तिर्न अटेर गर्दै आएको न्यौपानेले बताए ।

अधिकांश हलवालाले मनोरञ्जन शुल्क नबुझाएको भन्दै कामपाले अन्तिम सूचना जारी गरेको छ । महानगरको राजस्व विभागले भदौ १७ गतेसम्मको म्याद दिएर सम्पर्कमा आउन सूचना जारी गरेको हो । न्यौपानेले भने,‘टिकट बिक्रीसँगै संकलन भएको शुल्क पनि महानगरमा नबुझाएपछि यसमा हामी गम्भीर भएका छौँ । गतवर्ष चारवटा हलले मनोरञ्जनबापतको शुल्क बुझाउँदा १९ लाख रुपैयाँ संकलन भएको थियो । महिना सकिएको २५ दिनभित्र सो कर बुझाउन चेतावनीसहितको पत्र पठाएको छ ।’

महानगरले हालसम्म लागेको जरिवानासहित आर्थिक वर्ष ०७५÷७६ को कर बुझाउन निर्देशन दिएको छ । ऐनले मनोरञ्जन प्रदान गर्ने सबै संस्थाबाट राजस्व संकलन गर्ने व्यवस्था गरेको छ । डान्सबार, क्यासिनो, जुम्बा र फुटसल, कन्सर्ट, नाटकघर, फनपार्कबाट कर संकलन गर्न पाउने तयारी गरिरहेको महानगरले जनाएको छ ।

प्रतिक्रिया