सिनो हाइड्रोलाई मेलम्चीको ठेक्का

काठमाडौं । सरकारले यो आर्थिक वर्षभित्र मेलम्चीको पानी काठमाडौं ल्याउने तयारी गरेको छ । लामो समयदेखि अन्यौलमा रहेको सो आयोजनाको काम ठेकदार भागेपछि अलपत्र अवस्थामा छ । तर, निर्माणका बाँकी कामको ठेक्का चिनियाँ कम्पनी सिनो हाइड्रोलाई दिँदै ०७७ असार मसान्तसम्म पानी ल्याउने तयारी थालेको हो ।  प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअगाडि खानेपानी मन्त्री बिना मगरसँग गरेको कार्यसम्पादन सम्झौतामा मेलम्चीको काम असार मसान्तसम्ममा सक्नुपर्ने उल्लेख गरिएको थियो । सोहीअनुसार काम अगाडि बढाइएको खानेपानी मन्त्रालयले जनाएको छ । मेलम्ची खानेपानी आयोजनाको काम चलिरहेका वेला इटालियन कम्पनी सिजिएमसी भागेपछि विगत केही महिनादेखि अलपत्र परेको छ । स्थानीय ठेकदारले पनि विगतको रकम नपाएको भन्दै अवरोध गरिरहेका वेला मेलम्ची खानेपानी विकास समितिले ठेक्का लगाउने तयारी गरेको हो ।

मंगलबार बसेको समितिले बैक ग्यारेन्टीसहित प्रकिया पु¥याएर सम्झौता गर्न आउन पत्र पठाएको आयोजनाका सिनियर डिभिजन इन्जिनियर राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । उनका अनुसार ऋणदाता एसियाली विकास बैक (एडिबी)ले चिनियाँ कम्पनीलाई दिन स्वीकृति दिएसँगै सम्झौताका लागि बोलाइएको हो । यो कम्पनी हाल माथिल्लो तामाकोसीको प्रमुख ठेकदार हो । सिनोले कुलेखानी तेस्रोमा काम गरेको थियो भने निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनामा यही कम्पनीले काम पाएको छ । मेलम्ची खानेपानी आयोजनाले मुख्य कामलाई दुईवटा प्याकेजमा विभाजन गरेर ठेक्का लगाएको थियो । सुरुङमार्ग फिनिसिङ र हेडवक्र्स निर्माणको जिम्मा सिनो हाइड्रोले नै पाएको छ ।

आयोजनाको मुल्यांकन समितिले चिनियाँ कम्पनीलाई उत्कृष्ट ठहर गर्दै स्वीकृतिका लागि एडिबी पठाएको थियो । करिब एक साता अध्ययन गरेर १२ अगस्टमा एडिबीले चिनियाँ कम्पनीबाट काम गराउन स्वीकृति दिएको हो । आयोजनाले १३ अगस्टमा निकालेको ठेक्कामा निर्माण व्यवसायी छनोट चित्त नबुझेमा सात दिनभित्र दाबी र विरोध अथवा उजुरी गर्न भन्दै सातदिने सार्वजनिक सूचना निकालेको थियो ।

सोमबारसम्मका लागि दाबी विरोध र उजुरी समय तोकिएको थियो । कुनै उजुरी नपरेपछि आयोजनाले चिनियाँ कम्पनीलाई सम्झौताका लागि बोलाएको हो । सिएमसीले मलेम्चीको ठेक्का पाउँदा सिनो हाइड्रो दोस्रो कम रकम कबोल गर्ने कम्पनी थियो । सिएमसी भागेपछि मेलम्चीको थोरै मात्रै बाँकी रहेको काम सकाउने जिम्मा उसैले पाउने भएको हो । कम्पनीले हेडवक्र्सतर्फ २९ प्रतिशत बिलोमा गएर ९० करोडमा ठेक्का सकारेको छ भने सुरुङतर्फ १५ प्रतिशत बिलोमा ७५ करोडमा ठेक्का लिन पाउने भएको छ । हेडवक्र्सका लागि करिब एक अर्ब १२ करोड रुपैयाँ र सुरुङमार्गका लागि ९५ करोड रुपैयाँ इस्टिमेट गरिएको थियो ।

बोलपत्र अनुसार २८ दिनभित्र सम्झौता गरिसक्नुपर्ने हुन्छ । आयोजनाले भने जतिसक्दो छिटो प्रक्रिया सकेर आउन आग्रह गरेको पन्तले जानकारी दिए । चिनियाँ कम्पनी आएपछि उसको बैंक ग्यारेन्टी भेरिफिकेसन गरिने उनले बताए । सम्झौता भएको एक महिनाभित्र ठेकदार कम्पनीले काम सुरु गरिसक्नुपर्छ । तामाकोसी हाइड्रोपावरको काम सकेर मेसिनरी र जनशक्तिसहित तयार अवस्थामा रहेकाले छिट्टै काम सुरु हुने विश्वास गरिएको छ । आयोजनाले दशैँ अघि नै काम सुरु गराउने तयारी गरेको छ ।

चिनियाँ कम्पनी सिनो हाइड्रो र नेपाली कम्पनी हाई हिमालय हाइड्रो र रमण जेभीले आयोजनाका काम गर्न इच्छा देखाएका थिए । चिनियाँ कम्पनीले कम कबोल गरेपछि सिनोले ठेक्का पाएको हो । आयोजनाका अनुसार चिनियाँ कम्पनीले इस्टिमेटभन्दा करिब २५ प्रतिशतमा कममा ठेक्का हालेको छ भने नेपाली कम्पनीले इस्टिमेटमा काम गर्न नसकिने भन्दै थप बढी मूल्य राखेर आर्थिक प्रस्ताव हालेको थियो । सार्वजनिक खरिद नियमावलीअनुसार कम कबोल गर्ने चिनियाँ कम्पनीले ठेक्का पाएको हो ।

मेलम्चीका दुईवटा प्याकेजमा खुला बोलपत्र आह्वान गरिएको थियो भने बाँकी आठवटा प्याकेज पुराना स्थानीय ठेकदारलाई दिइएको छ । हेडवक्र्सतर्फ पानी थुन्ने इन्टेक संरचना, पहुँच मार्गको सुधार, कफर ड्यामको डिजाइन र निर्माण, पहुँचमार्गको स्टिल ब्रिजको निर्माण, क्याम्प साइटको मर्मत, फ्लसिङ सिस्टमको जडानलगायतका काम गर्नुपर्ने छ । यस्तै हाइड्रोमेकानिकल गेट, एसएस पाइपको आपूर्ति जडान र इन्स्टुमेन्टेसन कामको ठेक्का पाउने ठेकदारसँग समन्वयको काम पनि गर्नुपर्छ ।

सुरुङमार्गतर्फ सिनोले सुरुङको अन्तिम तबरको संरचना निर्माण, डाइभर्सन सुरुङ र अडिट सुरुङको लाइनिङ र फिनिसिङ, अडिट सुरुङसम्मको पहुँचमार्ग सुधार, ग्याल्थुमको पहुँचमार्ग पुलको पुनर्निर्माण, क्याम्पहरूको मर्मत सुधारलगायतका काम गर्नुपर्छ । सुरुङमा भेन्टिलेसन बनाउने काम गरिरहेका र विभिन्न स्थानमा पाइप आपूर्ति र जडानको काम पनि यसमा छ ।

प्रतिक्रिया