सिम्रिक एयरको उडानमा रोक

काठमाडौं । मनोमानी ढंगले जहाजको पाटपुर्जा फेरेका कारणले सिम्रिक एयरको उडान बन्द भएको छ । हवाई नियमक संस्था नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका सबै उडान बन्द गराएको हो ।  दुईवटा बिजक्राफ्ट जहाजमार्फत आन्तरिक उडान गर्दै आएको निजी हवाई सेवा प्रदायक कम्पनी सिम्रिक एयरको उडान मंगलबारबाटै बन्द भएको छ । दुईवटै जहाज अहिले ग्राउन्डेड गरेर उडानमा रोक लगाएको छ । नियामक निकाय प्राधिकरणले जहाजको पार्टपुर्जा परिर्वतनमा मनोमानी गरेको भन्दै सबै जहाज ग्राउन्डेड गरिदिएको प्राधिकरण महानिर्देशक राजन पोखरेलले जानकारी दिए ।

यसअघि पनि सो एयरलाइन्सले यस्तै गल्ती गरेको थियो । जतिवेला सामान्य स्पष्टीकरण सोधेर छाडिएको थियो । तर, पुनः सो गल्ती दोहो¥याएका कारण उडानमै रोक लगाउनु परेको प्राधिकरणले जानकारी दिएको छ । ‘बारम्बार एउटै कमजोरी दोहो¥याउन थालेपछि मंगलबारबाटै लागू हुने गरी सबै उडान प्रतिबन्ध लगाएका छौँ । एयरलाइन्ससँग स्पष्टीकरण पनि सोधिएको छ,’ महानिर्देशक पोखरेलले भने, ‘कम्पनीको प्रत्युत्तर आएपछि थप कारबाहीको निर्णय हुन्छ । हवाई सुरक्षामा आँच आउने गरी काम गर्न कुनै पनि कम्पनीलाई छुट हुँदैन ।’

एयरलाइन्सले प्राधिकरणले स्वीकृत नगरेका पाटपुर्जा जहाजमा प्रयोग गरेको भन्दै जहाज ग्राउन्डेड गरिदिएको उनको भनाइ छ । एयरलाइन्सले हवाई सुरक्षाको विषयमा गम्भीर असर आउने काम गरको ठहर गर्दै भदौ ३ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि उडानमा रोक लगाउने निर्णय गरेको छ । सिम्रिकले हाल दैनिक भरतपुर, पोखरा र भैरहवा उडान गरिरहेको थियो । सिम्रिक एयरलाइन्स सन् २००९ स्थापनादेखि नै सञ्चालनरत छ ।

प्रतिक्रिया