ओलीले प्रधानमन्त्री वा अध्यक्ष छाड्नुपर्छ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी सञ्चालनमाथि नै गम्भीर प्रश्न उठाएका छन् । उनले पार्टी नै विधानविपरीत चलेको आरोप लगाउँदै नेतृत्व र सरकारप्रति गम्भीर प्रश्न उठाएका हुन् ।  पछिल्लो समय सचिवालय बैठकमा एक्लै परेका भनिएका नेता नेपालले ‘शुक्रबार र आइतबारका बैठकका केही निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखेका छन् । उनले आफ्ना सातबुँदे लिखित असहमति पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दर्तासमेत गरेका छन् ।

मंगलबार सचिवालय बैठकमा यही विषयमा कुरा उठाउने बताएका नेता नेपालले सो बैठक बुधबारसम्मका लागि सरेपछि कार्यालयमा दर्ता गराएका हुन् । कुनै विषयमा असहमति भए केन्द्रीय कार्यालयमा पत्र दर्ता गराउनुपर्ने नियम छ । सोहीअनुसार उनले पत्र दर्ता गरेका हुन् । पार्टी नेतृत्वको शैली, एकता गर्दा गरिएका गल्ती, आपूmले उठाएका सही कुरा र सरकारका कामकारबाहीका विषयमा उल्लेख गरेका छन् । नेता नेपालले ‘एक व्यक्ति एक पद’ अध्यक्ष केपी शर्मा ओलीदेखि नै लागू हुनुपर्ने माग गरेका छन् । उनले अध्यक्ष ओलीलाई कि प्रधानमन्त्री छाड्न कि अध्यक्ष छाड्नसमेत प्रस्ताव गरेका छन् ।

नेता नेपालले कसैलाई पदको खातै खात त कसैलाई अपमानित गर्न खोजिएको आरोपसमेत लगाएका छन् । पार्टी विधानको धारा ४६ (क) बमोजिम स्थानीय तहदेखि संघीय सरकारसम्मका कार्यकारी जिम्मेवारी बहन गरेकालाई दोहोरो मुख्य जिम्मेवारी हुने गरी पार्टीको कार्यकारी जिम्मा नदिन आपूmले गरेको आग्रहलाई बेवास्था गरेको बताएका छन् । जिम्मेवारीमा नभएका नेतालाई निश्चित मापदण्डका आधारमा पार्टीको कार्यकारी जिम्मा दिन गरेको प्रस्ताव पनि पार्टी अध्यक्षले कुनै मापदण्डबिना आपूm खुसी निकटकालाई मात्र जिम्मा दिने कोसिस जारी राखेको आरोपसमेत लगाएका छन् । ‘वरिष्ठता एवम् योग्यतालाई बेवास्ता गर्दै बिना कुनै मापदण्ड कसैलाई जिम्मेवारीमाथि जिम्मेवारीको खातैखात कसैलाई जिम्मेवारीविहीन बनाएर अपमानित गर्ने कुरालाई न्यायोचित मान्न सकिन्न’, उनले अगाडि भनेका छन्, ‘अतः एक व्यक्ति एक प्रमुख जिम्मेवारीको वैधानिक व्यवस्थालाई पार्टी अध्यक्षद्वयदेखि सबै व्यक्तिमा लागू गरियोस् ।’

वरिष्ठता एवम् योग्यतालाई बेवास्ता गर्दै बिना कुनै मापदण्ड कसैलाई जिम्मेवारीमाथि जिम्मेवारीको खातैखात कसैलाई जिम्मेवारीविहीन बनाएर अपमानित गर्ने कुरालाई न्यायोचित मान्न सकिन्न । अतः एक व्यक्ति एक प्रमुख जिम्मेवारीको वैधानिक व्यवस्थालाई पार्टी अध्यक्षद्वयदेखि सबै व्यक्तिमा लागू गरियोस् ।

नेता नेपालले यति ठूलो ऐतिहासिक एकता प्रक्रियालाई गुटगत स्वार्थका कारण अनावश्यकरूपमा लम्ब्याएर एकताबाट पार्टी पंक्तिमा उत्पन्न भएको उत्साहलाई निरुत्साहमा बदल्ने काम गरेको गम्भीर आरोप पनि लगाएका छन् । स्पष्ट र पारदर्शी मापदण्ड बनाएर एकतालाई एकैचोटी टुंगोमा पु¥याउने सकिनेमा अमुक व्यक्ति छनौटको गलत चाहना राख्दा प्रक्रिया लम्बिएको उल्लेख गरेका छन् । ‘विधानमा व्यवस्था भए अनुरूप पोलिटब्यूरो गठन गर्नुपर्दछ भनेर मैले बारम्बार जोड दिएँ तर, उक्त विषयलाई विभिन्न बहानामा टार्दै आइएको छ’, नेता नेपालले लिखित असहमतिमा उल्लेख गरेका छन्, ‘मेरो प्रश्न छ विधानको व्यवस्थालाई लागू गर्ने कि नगर्ने ?’

प्रदेश पदाधिकारी र कमिटी गठन गर्दा मुख्यमन्त्री, मन्त्री, मेयरजस्ता राज्यको पदमा रहेकाहरूलाई जिम्मेवारी दिनु गलत भएको नेता नेपालले उल्लेख गरेका छन् । ‘साविक कमिटीमा रहेका सिनियरहरूलाई नियतवस छुटाई नयाँ तथा जुनियरहरू समावेश गरिएको छ ।’, नेता नेपालले भने, ‘त्यसमा पनि कतिपय स्थानमा पार्टी सदस्य नै नभएका, नवप्रवेशी तर पार्टी सदस्यताको सपथग्रहण नै नगरेका तथा माक्र्सवादको सामान्य ज्ञानसमेत नभएका एवं पार्टीप्रतिको निष्ठाको परीक्षणबाट नगुज्रेकालाई कमिटीमा राख्ने काम भएको छ ।’ उनले त्यस्ता व्यक्तिमाथि छानबिन गरेर कारबाही गर्न पनि माग गरेका छन् ।

नेता नेपालले एकताकै वेलामा वरिष्ठ नेता चयन गर्दा झलनाथ खनाललाई आपूmभन्दा अगाडि राख्न आफैँले गरेको प्रस्ताव अध्यक्ष ओलीले नमानेको आरोपसमेत लगाएका छन् । उनले अहिले आफ्नो मानमर्दन गर्न खोजेको आरोप लगाउँदै पूर्वएमालेका तीन उपाध्यक्षलाई पनि सचिवालयमा ल्याउन माग गरेका छन् । नेता नेपालले युवा, विद्यार्थी, महिला, मजदुर जस्ता संगठनहरूमा पूर्वाग्रही भएर वरीयतामा अगाडि रहेका नेतालाई पन्छाएर कनिष्ठ व्यक्तिलाई जिम्मेवारी दिइएकोमा आफ्नो गम्भीर असहमति रहेको उल्लेख गरेका छन् ।

नेता नेपालले सरकारको काम कारबाहीप्रति पनि गम्भीर प्रश्न उठाएका छन् । उनले सरकार पार्टीको नीति निर्णय र योजनाअनुसार काम नगरेको आरोप लगाएका हुन् । ‘जनअपेक्षा अनुरूप काम गर्न नसक्दा सरकार र पार्टीप्रति समेत जनतामा नकारात्मक धारणा बढ्दै गएको छ’, नेता नेपालको भनाइ छ । पार्टी नेता, कार्यकर्ता तथा जनप्रतिनिधिहरूले समेत कतिपय सार्वजनिक मञ्चहरूमा उठेका प्रश्नहरूको डटेर सामना गर्न नसक्ने स्थिति उत्पन्न भएको उल्लेख गरेका छन् । ‘स्थायी कमिटीको विगतका बैठकमा सरकारका कामको समीक्षाका निम्ति अलग्गै बैठक बस्ने निर्णय भएकोमा त्यसलाई उपेक्षा गर्दै आजसम्म न त कुनै बैठक बसेर छलफल गरिएको छ न त कार्यशैलीमा नै सुधार गरिएको छ’, नेता नेपालले अगाडि भनेका छन्, ‘सरकारले पार्टीको नीति, निर्णय र योजनामा चल्नुका साथै राष्ट्र र जनताको हितमा समर्पित भएर काम गर्नुपर्दछ । त्यसो नगरिए सरकारसँगै पार्टीलाई समेत गम्भीर धक्का लाग्नेछ ।’

प्रतिक्रिया