दीक्षितको निधनमा शोकसभा

काठमाडौं । नेपाली साहित्यमा महत्वपूर्ण योगदान दिएका चर्चित साहित्यकार एवं मदनमणि दीक्षितको निधनमा शोकसभाको आयोजना गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति, आजीवन सदस्य एवं मूर्धन्य साहित्य साधक दीक्षितको निधनमा प्रज्ञा–प्रतिष्ठानले शोकसभाको आयोजना गरेको हो । प्रतिष्ठानद्वारा आयोजित शोकसभामा कुलपति गंगाप्रसाद उप्रेतीले पूर्वीय दर्शन र वैदिक वाङ्मयका विशिष्ट साधक दीक्षितले प्रज्ञा–प्रतिष्ठानमा उपकुलपति हुँदा नेपाली साहित्यलाई विश्वस्तरमा पु¥याउन महत्वपूर्ण भूमिका खेलेको बताए । उनले भने, ‘उहाँको भौतिक शरीर हामीबिच नरहेता पनि उहाँका सत्कर्म, कृति र योगदानका कारण उहाँ सदैव अमर रहिरहनुहुनेछ ।’

दीक्षित उपकुलपति हुँदा प्राज्ञ परिषद् सदस्य रहेका पूूर्वकुुलपति बैरागी काइँलाले दीक्षितसँग काम गर्दाका सम्झनाहरू सुनाउँदै उनी अभिभावक भएको बताए । विशिष्ट विद्वान्हरूमा फरक स्वभाव र चरित्र पाइने दाबी गर्दै त्यस्तो स्वभाव दीक्षितमा पनि पाएको उल्लेख गरे । वैदिक वाङ्मयका विशिष्ट साधक दीक्षित आफ्नो ब्रम्हले देखेका कुरा लेख्ने आँटिला लेखक भएको काइँलाको दाबी थियो । दीक्षितको व्यक्तित्व तथा कृतित्वमाथि प्रज्ञा–प्रतिष्ठानका पूर्व उपकुलपति तथा वरिष्ठ समालोचक प्राडा वासुदेव त्रिपाठीले प्रकाश पारे । उनले माक्र्सवादी दर्शन र पूर्वीय तथा वैदिक दर्शनलाई फ्युजन गरेर उत्कृष्ट सिर्जना गर्ने दीक्षितले नेपाली आख्यान साहित्य जगत्लाई समृद्ध बनाएको विचार व्यक्त गरे । उनले भने, ‘दीक्षित युगको पनि महायुग हुनुहुन्थ्यो ।’

नेपाली पत्रकारिता क्षेत्रमा समेत उल्लेखनीय योगदान दिएका दीक्षित जीवनको उत्तराद्र्धमा पनि निरन्तर साधनामा तल्लीन थिए । प्राडा. त्रिपाठीले भने, ‘आफ्नो हात कलम चलाउन असमर्थ हुँदा पनि लेखन सहयोगी राखेर उहाँले लेखिनै रहनुभयो ।’ आफैँले लेख्न असमर्थ अग्रज स्रष्टालाई प्रज्ञा–प्रतिष्ठानले लेखन सहयोगीको व्यवस्था गरिदिनुपर्ने उनको सुझाब थियो ।

शोकसभामा सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले प्रज्ञा–प्रतिष्ठानद्वारा तयार पारिएको शोकप्रस्ताव पढेर सुनाएका थिए । पूर्वउपकुलपति तथा आजीवन सदस्य स्व. दीक्षितको शोकमा भदौ २ गते सोमबार प्रतिष्ठानले बिदा दिएको छ । निमोनियाबाट ग्रसित दीक्षितको ९८ वर्षको उमेरमा साउने ३० जनैपूर्णिमाका दिन आफ्नै निवासमा निधन भएको थियो । दर्जनभन्दा बढी उत्कृष्ट कृतिका स्रष्टा दीक्षितले ‘माधवी’ उपन्यासका लागि मदन पुरस्कार प्राप्त गरेका थिए ।

प्रतिक्रिया