एट्लेटिकोको विजयी सुरुआत

एजेन्सी, स्पेन । स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले विजयी सुरुआत गरेको छ । आइतबार राति भएको खेलमा गेटाफेविरुद्ध १–० को संघर्षपूर्ण जित निकाल्यो ।  दुईजना खेलाडीले रातो कार्ड पाएको खेलमा एट्लेटिकोको जितमा अल्भेरो मोराटाको एक मात्र गोल निर्णायक बन्यो । चार मिनेटभित्र दुवै टोलीका १/१ खेलाडीले रातो कार्ड पाउनुअघि नै ट्रिपिइरले गोलका लागि अवसर सिर्जना गरेका थिए । पहिलो हाफ अगावै दुवै टोली १०/१० खेलाडीमा सीमित भएका थिए ।

गेटाफेका स्ट्राइकर जर्ग मोलिना र एट्लेटिकोका डिफेन्डर रेनन लोडी रातो कार्ड खाँदै बाहिरिएका थिए । ३८औं मिनेटमा मोलिनाले सीधै रातो कार्ड पाएपछि गेटाफे १० खेलाडीमा सीमित भएको थियो । तर, त्यसको चार मिनेटभित्र रेननले लगातार दोहोरो पहेंलो कार्ड पाएपछि घरेलु टोली एट्लेटिको पनि १० खेलाडीमा सीमित भयो । यद्यपि, पहिलो हाफमा एट्लेटिको १–० ले अगाडि रह्यो ।

दोस्रो हाफको ५६औं मिनेटमा एट्लेटिको अग्रता बनाउनबाट चुक्यो । मोराटाले नै पेनाल्टी अवसर चुकाएका थिए । बेनफिकाबाट १ सय २६ मिलियन युरोमा एट्लेटिकोमा आबद्ध भएका जाओ फेलिक्सलाई लडाएपछि एट्लेटिकोले पेनाल्टी अवसर पाएको थिए । उनै फेलिक्स ६६औं मिनेटमा मैदानबाट बाहिरिँदा समर्थकले भव्य बधाई दिएका थिए ।

फेलिक्सले मैदानभित्र एट्लेटिकोका लागि निकै प्रभाव छोड्न सफल भए । यस सिजन एन्टोनी ग्रिजमेनलाई बार्सिलोनामा बचेपछि फेलिक्सले प्रशिक्षक डिएगो सिमोन्सलाई ग्रिजमेनको अभाव खड्किन दिएनन् । १९ वर्षे फेलिक्सले निकै सुन्दर शैलीमा प्रदर्शन गर्दै टोलीमा राम्रो छाप छोडे । उनले सहकर्मीलाई निकै चुस्त पास उपलब्ध गराएका थिए ।

यस सिजनको समरमा एट्लेटिकाले करिब २ सय ५० मिलियन युरो खर्चिएको छ । फेलिक्ससँगै अर्का डेब्यु स्टार लोडीले पनि रातो कार्ड पाउनुअघि निकै राम्रो प्रदर्शन गरेका थिए । यता, स्पेनिस सिभिल वारपछि एट्लेटिकोका लागि खेल्ने पहिलो इंलिस खेलाडी बनेका ट्रिपिइरले पनि आफ्नो प्रभाव छोड्न सफल भए ।

टोटेनहमका पूर्वडिफेन्डर ट्रिपिइरले निकै उत्कृष्ट पाससँगै विपक्षीको आक्रामणलाई निस्तेज पारेका थिए । गेटाफेले गत सिजनको लिगमा पाँचौँ स्थानमा रहेको छाप प्रतिद्वन्द्वीविरुद्धको प्रदर्शनबाट देखाएको थियो । यद्यपि, एट्लेटिकोविरुद्ध गोल फर्काउन सकेन । घरेलु टोलीविरुद्ध शतप्रतिशत अंक सुम्पियो । गत सिजन साँघुरो अंकबाट च्याम्पियन्स लिगको यात्रा गुमाएको थियो ।

पूरै खेलमा ५ उत्कृष्ट प्रहार गरे पनि एट्लेटिकोले एक गोल मात्र गर्न सक्यो । यता गेटाफेले ६ वटा सट पोस्टनजिक प्रहार गरे पनि फ्रेममा परेन । लिगको पहिलो खेलमा जित निकालेपछि एट्लेटिकोले तीन अंक बटुलेको छ ।

प्रतिक्रिया