जहाँ जेठो सन्तानलाई बलि दिइन्छ …

दार्चुला । यो वर्षको अपिहिमाल गाउँपालिकाको शुर्मा भवानीको जात्रा सकिएको छ । श्रावण शुक्ल एकादशीका दिनदेखि सुरु हुने शुर्मा भवानीको जात्रा भाद्र कृष्ण प्रतिपदा तिथीका दिन सकिने परम्पराअनुसार शुक्रबार शुर्मा भवानीको जात्रा समापन भएको छ ।

दार्चुलाको अपिहिमाल गाउँपालिका–३ क्षेत्ति घाँजिरमा लाग्ने जात्रा सम्पन्न भएसँगै भक्तजनहरू फर्किन थालेका छन् । ‘नङमाथि मासु नाई, क्षेत्तिमाथि गाउँ नाई’ भन्ने स्थानीय उखान नै रहेको पाइएको छ । क्षेत्ति घाँजिर बस्तीभन्दा माथि कुनै पनि मानवीय बस्ती नभएको स्थानीय धनपति लोथ्यालले बताएका छन् ।

अपिहिमाल गाउँपालिकाको घाँजिर गाउँमा जात्रा सुरु हुने गरेको र क्षेत्ति जाने र क्षेत्तिबाट बिरेहरू (शुर्मा सरोवर जाने व्यक्तिहरू) शुर्मा सरोबर स्थानका लागि जाने गरेका छन् । बिरेहरू शुर्मा सरोवरबाट फर्किर आउँदासम्म भक्तजनहरू क्षेत्ति घाँजिरमै बस्ने गरेका छन् । भक्तजनहरूले शुर्मा देवीका लागि लगेको चिनो बिरेहरूले शुर्मा सरोवर लग्ने र शुर्मा देवीको बासस्थानमा चढाउने परम्परा रहेको स्थानीय धनपति लोथ्यालले बताएका छन् ।

जात्रा नियन्त्रणका लागि उक्त क्षेत्रमा बसोवास गर्ने ओइरे समुदायकाहरूलाई ‘मुला’ (जात्रा नियन्त्रण गर्ने, व्यवस्थापन गर्न व्यक्ति) बनाइने र उसैले जात्रा व्यवस्थित गर्ने तथा नियन्त्रण गर्ने गरेको छ ।

मन मागेको तथा चिताएको पुग्ने भएकाले दर्शकहरूको निकै भीड लाग्ने गरेको छ । प्रचारप्रसार नहुँदा अझै शुर्मा भवानीको जात्रा ओझेलमा परेको स्थानीयहरूको भनाइ छ । सडक सञ्जाल पहुँच पुगे अझै भक्तजनहरूको भीड लाग्ने स्थानीय तथा अपिहिमाल गाउापालिका–४ का वडा सचिव धनपति लोथ्यालले बताए । मल्देशको नामले चिनिने अपिहिमाल गाउँपालिकाको क्षेत्ति, घाँजिरमा लाग्ने शुर्मा भवानीको जात्रा एक फरक पहिचान र बिशेषताको भए पनि प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको स्थानीय लोथ्यालको भनाइ छ ।

जात्रा हुने स्थानहरूमा रहेका विभिन्न प्राकृतिक दृश्यहरू समेत आश्चर्य लाग्दा रहेकाले पर्यटकहरूलाई भित्र्याउन प्रचारप्रसारको आवश्यकता देखिएको छ । उक्त जात्रामा गएका जानकारहरूका अनुसार करिब एक मिटरको ब्यासको गोलाइको ढुंगा एक हातले हल्लिने, ढुंगे चट्टानमा मानिसहरू जस्तो देखिने आकृतिहरू, धर्मी गुफा लगायतका आश्चर्यलाग्दा दृश्यहरू रहेका छन् ।

यस्ता मन लोभ्याउने र अपत्यारिला दृश्य भएको उक्त ठाउँ र जात्राको प्रचारप्रसार हुनसके पर्यटकहरू भित्र्याउन सकिनेमा स्थानीयहरू आशावादी देखिएका छन् । शुर्मा सरोबरबाट बिरेहरू फर्किएपछि भक्तजनहरूका लागि प्रसाद बाँडेर जात्रा सकिने परम्परा रहेको छ । शुर्मा भवानी जात्रा शुक्रबार सम्पन्न भए पनि क्षेत्ति घाँजिरमा बसोवास गर्ने समुदायका जेठो सन्तानको छठ दिने चलन छ ।

शुर्मा भवानीको जात्राको भाद्र कृष्ण प्रतिपदाकै दिन सम्पन्न हुने भए पनि औपचारिक रूपमा भने भाद्रकृष्ण द्वितीयाका दिन छठ अर्थात् पशु बलि दिएर सम्पन्न हुने गरेको छ । क्षेत्ति घाँजिरमा बसोवास गर्ने स्थानीयहरूको जेठो सन्तानको नाममा छठ अर्थात् पशु बलि दिने चलन रहेको स्थानीय एवं अपिहिमाल गाउँपालिका–४ का वडासचिव धनपति लोथ्यालले बताए ।

पहिलेपहिले क्षेत्ति घाँजिरमा बसोवास गर्ने स्थानीयहरूले जेठो सन्तानको बलि दिनुपर्ने परम्परा रहेको थियो । उक्त क्षेत्रमा बसोवास गर्ने स्थानीयहरूले शुर्मा भवानीको जात्रा समापन भएको भोलिपल्ट जेठो सन्तानको बलि दिनुपर्ने परम्परा रहेको स्थानीय लोथ्यालले बताए । तर, पछिल्लो समय भने जेठो सन्तानको नाममा पशु बलि दिने चलन रही आएको उनले बताए । सन्तानको बलि दिनुपर्ने परम्परालाई टार्न पशु बलि दिने चलन कायम भएको जानकारहरूको भनाइ छ ।

क्षेत्ति घाँजिर बासस्थान रहेका स्थानीयहरूले जेठो सन्तानको बलि दिनुपर्ने र बलि दिँदा जेठो सन्तानका लागि नयाँ लुगा कपडा लगाई दिनुपर्ने चलन थियो । जेठो सन्तानको बलि दिने क्रममा एक स्थानीयले मानव र पशुको मासु राक्षसलाई दिएको र राक्षसले मानवको भन्दा पशुको मासु स्वादिलो रहेको प्रतिक्रिया दिएदेखि मानव बलिको अन्त्य भएको किम्बदन्ती छ । त्यो दिनदेखि त्यहाँका स्थानीयहरूले जेठो सन्तान गुमाउनु नपर्ने अर्थात् जेठो सन्तानको बलि दिन नपर्ने भएको बुढापाकाहरूले बताउने गरेका छन् ।

अहिले पनि जेठो सन्तानका नाममा क्षेत्ति घाँजिरका स्थानीयहरूले जेठो सन्तानको छठ अर्थात् जेठो सन्तानको नाममा पशुबलि दिने प्रचलन छ । शुर्मा भवानीको जात्रा सकिएको भोलिपल्ट जेठो सन्तानका रूपमा जन्मिएकाहरूको नाममा एकपटक अनिवार्य रूपमा छठ अर्थात् पशु बलि दिने चलन अहिले पनि कायमै छ । क्षेत्ति घाँजिरका स्थानीयहरूले जेठो सन्तानको नाममा संयुक्त रूपमा पशु बलि दिने प्रचलन छ ।

प्रतिक्रिया