काम नगर्ने ठेकदारको पनि म्याद थपिँदै

काठमाडौं । सरकारले तोकिएको समयमा काम सम्पन्न नगर्ने ठेकेदारलाई पनि म्याद थप्ने तयारी गरेको छ । सार्वजनिक खरिद नियमावली संशोधनले अधिकार दिएको भन्दै सडक विस्तार आयोजनाले यस्ता आयोजनाको सूची तयार पारेर भौतिक निर्माण तथा यातायात मन्त्रालय पठाउन लागेको हो ।

सार्वजनिक खरिद (छैठौँ संशोधन) नियमावली, ०७५ ले ०७७ जेठसम्म काम सम्पन्न हुने गरी आयोजनालाई म्याद थप्नसक्ने भएकाले दिएकाले आयोजना कार्यालयलाई ठेक्काको म्याद थप्न मन्त्रालयको स्वीकृति लिनुपर्ने भएको हो । उपत्यकाका सडक निर्माणका लागि आयोजनाले यसअघि १–१ वर्ष गरेर दुईपटक म्याद थप गरिसकेको छ । तेस्रोपटक म्याद थप गर्न आयोजनाले फाइल तयार गरेको आयोजना कार्यालयले जनाएको छ ।

उपत्यकाका विस्तार र निर्माणका क्रममा रहेका अधिकांश सडकहरू अलपत्र अवस्थामा रहेका छन् । निर्माणमा ढिलाइ हुँदा स्थानीयले हिउँदमा धुलो वर्षामा हिलोको सास्ती खेप्दै आएका छन् । सडक निर्माणको ठेक्का पाएको वर्षौं बितिसक्दासमेत अलपत्र छोड्ने ठेकदारलाई कारबाही गर्नुको सट्टा सरकारले पुनः म्याद थप गर्न लागेको हो ।

चाबहिल–साँखु सडक, कपन सडक, टोखा सडक, जोरपाटी–सुन्दरीजल सडक, त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडक, सितापाइला सडक, बालाजु सडकखण्ड यसको ज्वलन्त उदाहरण हो ।

सडक विभाग, काठमाडौं उपत्यका सडक विस्तार आयोजना, सडक डिभिजन कार्यालय, निर्माण व्यवसायी र ठेकेदार कम्पनीको ढिलासुस्ती र आलटालले उपत्यकाका सडक वर्षांैदेखि लथालिंग अवस्थामा छन् । स्थानीयले सडक कालोपत्रेको माग गर्दै पटकपटक आन्दोलनमा उत्रे पनि सडकको अवस्थामा सुधार आउन सकेको छैन ।

०७५ साउन २४ मा चाबहिल–साँखु सडक निरीक्षणमा पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले भदौ १२ पछि सडकमा खाल्डा नदेखिने बताएका थिए । मन्त्रीले प्रतिबद्धता जनाएको एक वर्षसम्म पनि परिवर्तन आएको छैन । ठेकेदारसँग भएको सम्झौताको म्याद सकिँदासमेत सडक कालोपत्रे हुने कुनै संकेत देखिएको छैन । चाबहिल–साँखुको १२ किमि चौडा सडक विस्तार गरेर चार लेन बनाउने र सडकको दुवैतर्फ फुटपाथ र दुर्ई–दुई मिटर अपांगमैत्री संरचना गरी २२ मिटर चौडा बनाउने सम्झौता भएको थियो ।

सडक निर्माणका लागि युनाइटेड बिल्डर्स एन्ड इन्जिनियर्स, बज्रगुरु÷च्याङमिला÷खानी जेभी, बज्रगुरु÷बिरुवा÷खानी जेभी र बिटी÷सुनकोसी÷वल्र्डवाइड जेभी कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । पछि लामा÷समानान्तर जेभी कम्पनी पनि यही सडक निर्माणमा थपिएको छ ।

सम्झौताअनुसार ०७४ सम्ममा उक्त सडक विस्तार काम सकिनुपर्ने हो । म्याद सकिएपछि फेरि थपेर सरकारले एक वर्षभित्रमा कालोपत्रे हुने बताएको थियो । तर, हालसम्म कालोपत्रे भएको छैन । सरकारले फेरि सोही कम्पनीलाई म्याद थप्ने तयारी गरेको छ ।

त्यसैगरी, आकाशेधारादेखि रामन्दिरसम्मको करिब एक किमि सडक ६ करोड ५५ लाख रुपैयाँमा निर्माणका लागि ०७३ असार ३१ गते शैलुङ कन्ट्रक्सन प्रालिसँग ठेक्का समम्झौता भएको थियो । सम्झौताबमोजिम ०७४ असोजमा काम सकिनुपथ्र्यो । तर, काम भएको छैन ।

त्यस्तै साततलेदेखि आनीगुम्बासम्मको करिब एक किमि सडक सात करोड ३८ लाख रुपैयाँमा निर्माणका लागि ०७५ साउनमा मृतसञ्जीवनी÷वाइबा एन्ड लामा जेभीसँग ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार निर्माण सम्पन्न गर्ने समय १५ साउनदेखि सकिएको छ । ललितपुरकोे चाकुपाट, इमाडोल, च्यासललगायत क्षेत्रका सडक पनि हिलाम्मे देखिन्छन् । कोटेश्वरदेखि महादेवस्थान जाने सडक भासिएको छ । दक्षिणकाली–कुलेखानी सडकको अवस्था उस्तै छ ।

टोखा क्षेत्रका सडक साढै दुई किमिको उक्त सडक १८ करोड ८२ लाखमा पिच गर्न सुनौला÷खिम्ती÷रफिना निर्माण कम्पनीले २०७४ पुसमा ठेक्का पाएको थियो । सम्झौताअनुसार उक्त कम्पनीले ०७६ असारसम्म काम सक्नुपर्ने थियो तर सकिएन । सीतापाइला–रामकोट सडकको पाँच किमि ०७६ असारमा मर्मत सक्नेगरी २०७३ साउनमा आशिष÷सिम÷जयाबाबा जेभीले ठेक्का पाएको थियो ।

प्रतिक्रिया