जिल्लाको आदेश उच्चद्वारा सदर

काठमाडौं । उच्च अदालत पाटनले गोदामचौर सामूहिक बलात्कार काण्डमा जिल्ला अदालतको आदेशलाई सदर गरिदिएको छ । ललितपुरको गोदामचौरमा सामूहिक बलात्कारपछि हत्याको प्रयास सम्बन्धी घटनामा उच्च अदालतले जिल्लाकै फैसलालाई सदर गरेको हो ।

जिल्ला अदालतले उक्त घटनाका तीनजना अभियुक्तलाई १० वर्ष जेल सजाय सुनाएको थियो । सोमबार पाटन उच्च अदालतका न्यायाधीशद्वय रमेशबहादुर थापा र यज्ञराज भट्टको इजलासले जिल्ला अदालतकै फैसलालाई सदर गरेको फैसला सुनाएका हुन् । जिल्ला अदालतले अभियुक्तहरू रघु सिलवाल, पवन कुवँर र विशालध्वज कार्कीलाई सामूहिक बलात्कारमा १० वर्ष, ज्यान मार्ने उद्योगमा १० वर्ष र चोरीमा ६० दिन जेल सजाय सुनाएको थियो । त्यसविरुद्ध उनीहरुले पाटन उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

उनीहरूमाथि २१ वर्षीय गोदामचौर ‘क’ (पीडितको परिवर्तित नाम) लाई २ मंसिर ०७४ मा सामूहिक बलात्कार र मार्ने उद्देश्यले टाउकोमा ढुंगा प्रहार गरेर बेहोस बनाएका थिए । पीडितको साथमा भएको ब्याग, पैसा, गरगहनालगायतका सामग्री पनि अभियुक्तहरूले चोरेर भागेका थिए । माइतबाट घर फर्कने क्रममा जबरजस्ती करणीमा परेकी गोदामचौर ‘क’ ३ मंसिर ०७४ बिहान बेहोस अवस्थामा तोरीबारीमा फेला परेकी थिइन् । उनको एक सातापछि बल्ल होस आएको थियो । एक महिनाको निरन्तर उपचारपछि मात्रै बोल्न सक्ने भएकी थिइन् ।

२६ पुस ०७४ मा जिल्ला अदालत ललितपुरका न्यायाधीश बालमुकुन्द दवाडीको एकल इजलासले अभियुक्तहरूलाई साधारण तारेखमा छाड्ने आदेश दिएको थियो । घट्नास्थलमा पीडिकले उच्चारण गरेको नाम, हुलिया र व्यक्ति पहिचान भइसकेको मुद्दामा दवाडीले आरोपीहरुलाई तारेखमा छाडेका थिए । त्यसपछि पुन किटानी जाहेरी दिएपछि मुद्दा दायर गरेको थियो ।

जबरजस्ती करणी, ज्यान मार्ने उद्योग र चोरीसम्बन्धी सो मुद्दा न्यायाधीश धनसिंह महराको एकल इजलासमा परेको थियो । पीडितको सनाखत र कागज किटानीका आधारमा महराले पीडितका पक्षमा फैसला गरेका थिए । प्रहरीले अनुसन्धानका क्रममा शंकास्पद १५ जनालाई लाइनमा राखेर यीमध्ये पीडक को हुने भनेर सोध्दा पीडित युवतीले सिलवाल, कुँवर र कार्कीलाई पहिचान गरेकी थिइन् ।

पीडितको टाउकोमा ३० भन्दा बढी टाँका लगाउनु परेको थियो । उनको हात पनि टुक्रा टुक्रा परेको थियो । घटना भएको १६ महिनापछि पनि उनको उपचार जारी छ । घटनापछि पीडित परिवार विस्थापित भएका छन् ।

प्रतिक्रिया