न नदी न सडक तर छ पुल !

बाँके । नदी छैन, सडक पनि छैन । नदी र सडक नभएको ठाउँमा पक्की पुल भने बनिसकेको छ । पुलमा न गाडी गुड्छन, न त मानिसको आवतजावत नै हुन्छ । हुलाकी सडक आयोजनाको अभिलेखमा राप्ती नदीमाथि पुल रहेको उल्लेख छ ।

आयोजनाको अभिलेखमा उल्लेख भएजस्तै पुल न राप्ती नदीमाथि छ, न त यो पुल सडकले छुनेगरी नै बनेको छ । चार करोड १२ लाख ९० हजार दुई सय २५ रुपैयाँको लागतमा बनेको पुल प्रयोगविहीन बनेको छ । हचुवाका भरमा पुल निर्माण गर्दा प्रयोगमा आउन नसकेको राप्तीसोनारी गाउँपालिका–६ का वडाध्यक्ष जनकराम थारूले बताए । ‘त्यहाँ पूरै बालुवा छ । राप्ती नदीको बगर क्षेत्र पूरै बालुवायुक्त छ । त्यहाँ वारपार नै पुल बनाउन पहिले नै अध्ययन थालिनुपथ्र्यो’, उनले अगाडि भने, ‘हचुवाका भरमा काम सुरु गर्दा सडकबिनाको पुल मात्र बन्न पुगेको छ । सडक कार्यालयको सुझबुझबिना हतारको निर्णयले फुर्सदमा समस्या देखिएको हो ।’

वडाध्यक्ष थारूका अनुसार राप्ती नदीमा सञ्चालनमा रहेको अर्को पुलसँगै जोडेर एक किलोमिटर लामो पुल निर्माण भए मात्रै समस्या समाधान हुन्छ, त्योबाहेक अरू विकल्प छैन । नेपालगञ्ज–नरैनापुर हुलाकी सडक खण्डको राप्ती नदी किनार नजिकै बनाइएको ५० मिटर लामो पुल प्रयोगमा नआउँदा सवारी साधन कच्ची बाटो हुँदै आवतजावत गर्दै आएका छन् । हुलाकी सडक आयोजना नेपालगञ्जका अनुसार सो स्थानमा करिब एक किलोमिटर लामो पुल निर्माण गर्नुपर्ने अवस्था देखिएपछि सडक निर्माण कार्य रोकिएको हो । पूरै बगर क्षेत्रमा पुल निर्माण गर्नुपर्ने भएपछि सडक निर्माणको काम रोकिएको हुलाकी सडक आयोजना नेपालगञ्ज कार्यालयका इञ्जीनियर रामसागर हरिजनले बताए ।

विसं ०७१ असार २५ मा ठेक्का सम्झौता भएर निर्माण सुरु भई ०७६ जेठ ३० मा सम्पन्न गरिसक्नुपर्ने पुलको निर्माण कार्य प्रगति ७३ प्रतिशत रहेको आयोजनाले जनाएको छ । उनले भने, ‘पहिले बीचमा पुल बनाएर प्रयोग गर्न सकिन्छ कि भन्ने थियो । त्यो सम्भव नभएपछि सडक निर्माण रोकिएको हो ।’ अहिले सडक बनाउँदा लगानी खेर जाने भएपछि निर्माण रोकिएको बताउँदै उनले थप एक किलोमिटर क्षेत्रमा पुल निर्माणका लागि अध्ययन भएर डिजाइनको काम भइरहेको जानकारी दिए । स्थानीय भने पुल प्रयोगमा नआउँदा वैकल्पिक सडकबाटै सवारी साधन आवतजावत गर्दै आएका छन् । वर्षायाममा बाढी आइहाल्यो भने आवतजावतमा समस्या हुने गरेको स्थानीयवासीको भनाइ छ ।

बाँके राप्तीपारिका धेरै गाउँका मानिस अहिले पनि डुंगाकै भरमा राप्ती नदी वारपार गर्दै आएका छन् । राप्ती नदीको एउटा भंगालो खल्ला झगडिया हुँदै गंगापुरतिर अघि बढेपछि त्यही भंगालो वारपार गर्न राप्तीपारिका आधा दर्जन गाउँका स्थानीयवासीलाई दैनिक डुंगा चढ्नुपर्ने बाध्यता रहेको डुंगा सञ्चालक जगत पालले बताए ।

उनका अनुसार खल्ला झगडिया गाउँभन्दा दुई सय मिटर पर नदी किनारमा वारपारका लागि डुंगालाई तयारी अवस्था राख्ने गरिन्छ । खल्ला झगडिया, कुडुवा, पिप्रहवालगायतका आधा दर्जन गाउँका स्थानीय आफ्ना खेतबारी, आफन्त, हाट बजार गर्न डुंगा चढेर जानुपर्ने बाध्यता रहेको पालले बताए । सिधनियाघाटमा पुल बने पनि तटीय क्षेत्रका धेरै गाउँका मानिस अहिले पनि डुंगाकै भरमा राप्ती नदी वारपार गर्दै आएका छन् ।

प्रतिक्रिया