‘क्षेत्रीय शान्तिमा असर नपरोस्’

काठमाडौं । कश्मीरको विकसित घटनाक्रमलाई नेपालले नजिकबाट नियालिरहेको प्रतिक्रिया दिएको छ । लामो समयसम्म मौन बसेको नेपालले दक्षिणी छिमेकी राष्ट्र भारतमा भएको घटनाका बारेमा पहिलो चरणको प्रतिक्रिया दिएको हो ।

भारत प्रशासित कश्मीरलाई दिएको विशेषाधिकार खोसेर केन्द्र प्रशासित बनाएपछि यसले अहिले क्षेत्रीय राजनीति तातिरहेको छ । केही देशले भारतको कदमको स्वागत र केहीले विरोध गरे पनि नेपालले भने मौनता साधेको थियो । तर, सोमबार परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कश्मीरमा विकसित घटनाक्रमलाई नेपालले नजिकबाट नियालिरहेको बताएका हुन् ।

‘कश्मीर मुद्दालाई नेपालले नजिकबाट हेरिरहेको छ । त्यहाँ रहेका करिब ८० हजार नेपाली नागरिकको सुरक्षामा नेपालले चासो व्यक्त गरेको छ’, मन्त्री ज्ञवालीले भने । यद्यपि नेपाल क्षेत्रीय शान्तिका पक्षमा रहेको भन्दै उनले कश्मीर मुद्दाको समाधान वार्ताबाटै खोजिनु पर्नेमा जोड दिए ।

नेपाल सदैव छिमेकमा शान्ति र स्थिरताको पक्षमा छ र यो क्षेत्रमा पनि शान्ति र स्थिरताको पक्षमा छ । समस्याहरू आउँदा तिनीहरूको वार्ताबाट समस्या समाधान हुनसक्छ भन्ने हाम्रो विश्वास छ । त्यस्तै त्यहाँ रहेका करिब ८० हजार नेपाली नागरिकको सुरक्षामा नेपालले चासो व्यक्त गरेको छ

मन्त्री ज्ञवालीले यो मामिलामा नेपालको खासगरी दुईवटा चासो रहेको बताएका छन् । उनले कश्मीर क्षेत्रमा विभिन्न ठाउँमा कार्यरत नेपालीहरूको स्थितिबारे र क्षेत्रीय शान्ति र स्थिरताबारे चिन्ता रहेको उल्लेख गरे । दिल्लीस्थित नेपाली दूतावास भारत सरकारसँग निरन्तर सम्पर्कमा रहेको र हालसम्म त्यहाँ रहेका नेपालीलाई कुनै अप्ठेरो परेको जानकारी नआएको मन्त्री ज्ञवालीले पत्रकार सम्मेलनमा बताए । उनले कश्मीर मुद्दामा कुटनीतिक तवरले उत्तर दिँदै नेपालले केवल क्षेत्रीय शान्ति र स्थिरता नखलबलियोस् भन्ने चाहेको मात्र उल्लेख गरे ।

‘नेपाल सदैव छिमेकमा शान्ति र स्थिरताको पक्षमा छ र यो क्षेत्रमा पनि शान्ति र स्थिरताको पक्षमा छ । समस्याहरू आउँदा तिनीहरूको वार्ताबाट समस्या समाधान हुनसक्छ भन्ने हाम्रो विश्वास छ’, मन्त्री ज्ञवालीको भनाइ छ । नेपालले पनि सबै कुरा वार्ताबाटै टुंगोमा पुगोस् भन्ने चाहेको बताए । ‘भारतको नेतृत्वमा ती कुराहरूको समाधान गर्ने क्षमता छ भन्ने पनि हामीलाई विश्वास छ । क्षेत्रीय शान्तिमा कहीँकतै प्रतिकूल प्रभाव पर्नेछैन भन्ने हामीले आशा गरेका छौँ । सार्कको अध्यक्षको हिसाबले हामी त्यही सन्देश प्रवाहित गर्न चाहन्छौँ’, उनले भने ।

मन्त्री ज्ञवालीले नेपाली कांग्रेसका नेताले दिएको अभिव्यक्तिप्रति पनि आपत्ति जनाएका छन् । नेता प्रदीप गिरिले भारतले सकेको खण्डमा नेपाललाई पनि सिक्किमजस्तै बनाउन चाहन्छ भनेर भनेको सुनेर आपूmलाई नमज्जा लागेको बताए । ‘प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा त्यसो बोलेको भन्ने कुरा आएको छ । पहिलो कुरा त उहाँ जत्तिको परिपक्व राजनीतिज्ञले यो ढंगको कुरा गर्नुभयो होला भनेर पत्याउन गाह्रो भएको छ । यदि सत्य हो भने यो अस्वीकार्य वक्तव्य हो’, मन्त्री ज्ञवालीलको भनाइ छ । उनले यस्ता अभिव्यक्तिले दुई देशबीचको सम्बन्धमा चिसोपना ल्याउने भएकाले यति गम्भीर विषयमा यति हलुको ढंगले टिप्पणी नगर्न पनि आग्रह गरे ।

मन्त्री ज्ञवालीले नेपाल दक्षिण एशियाली क्षेत्रिय सहयोग संगठन (सार्क)को सक्रियता बढोस् भन्ने पक्षमा रहेको पनि स्पष्ट पारे । सार्कको अध्यक्षको हैसियतले यसको सक्रियता बढाउनु नेपालको दायित्व पनि रहेको उल्लेख गरे । भारत र पाकिस्तानबीचको तिक्तताकै कारण लामो समयदेखि सार्कको सम्मेलन हुन सकेको छैन । नेपालमा सन् २०१४ मा सार्क शिखर सम्मेलन भए यता यसको अर्को शिखर सम्मेलन भएको छैन । ‘सार्कको विषय द्विपक्षीयभन्दा पनि सार्कका सबै सदस्य राष्ट्रहरूको साझा चासोको विषय हो’, उनले अगाडि भने, ‘संयुक्त राष्ट्रसंघको आगामी ७४ औँ महासभाको छेको पारेर न्युयोर्कमा हामीले सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीहरूको अनौपचारिक बैठक आयोजना गर्दैछौँ ।’

परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बुधबारबाट हुने नेपाल भारत संयुक्त आयोगको बैठकका एजेण्डाका बारेमा जानकारी दिइएको थियो । सो बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर बुधबार नै काठमाडौं आउने कार्यक्रम तय भएको छ । मन्त्री ज्ञवालीले सो बैठकले राजनीतिक सम्बन्ध र सुरक्षा चासोदेखि लिएर ऊर्जा, सम्पर्क सञ्जाल, वाणिज्य र पारवहनसहित सबै पाटोमा छलफल गरिने जानकारी दिए । पुराना समझदारीको कार्यान्वयनको समीक्षा गर्नुका अतिरिक्त लामो समयदेखि कार्यान्वयन नभएका र असान्दर्भिक भइसकेका विगतका केही आयोजनाबारे फरक ढंगले सोच्नेबारे पनि कुराकानी हुन सक्ने परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।

प्रतिक्रिया