खर्च भएन पर्यटनको बजेट

काठमाडौं । प्रदेश ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको पर्यटन विकास आयोजनाले आर्थिक वर्ष २०७५÷७६ मा पर्यटन क्षेत्रका लागि छुट्याइएको बजेट पर्याप्त खर्च गर्न नसकेको पाइएको छ । आयोजनाका लेखाफाँटका अनुसार पर्यटन आयोजनाको लागि ढिलो गरी बजेटको अख्तियारी प्राप्त भएकाले बजेट न्यून खर्च भएको हो । पर्यटन विकासका लागि छुट्याइएको कूल बजेटमध्ये करीब ६४ प्रतिशत खर्च हुन नसकी फ्रिज भएको छ । आयोजनाका लागि कूल ८४ करोड ७३ लाख ५० हजार विनियोजन गरिएकामा रु ३० करोड ८२ लाख ३ हजार अर्थात ३६ दशमलव ३७ प्रतिशत मात्र खर्च भएको छ ।

आयोजनाका लागि पूँजीगत तर्फ ७८ करोड ५४ लाख ४५ हजार छुट्याइएकामा २७ करोड २९ लाख ७३ हजार मात्र खर्च गरिएको छ । पूँजीगततर्फ प्रगति ३४ दशमलव ७५ प्रतिशत मात्रै छ । चालुतर्फ छ करोड १९ लाख छुट्याइएकोमा रु तीन करोड ५२ लाख मात्र खर्च भएको छ । चालुतर्फ प्रगति भने ५६ दशमलव ९१ प्रतिशत छ । आयोजनाका लेखा फाँटका सुमन घिमिरेका अनुसार आयोजनाअन्तर्गत पदमार्ग सञ्चालनको लागि दुई करोड २० लाख छुट्याइएकोमा खर्च हुन सकेन ।

त्रिभुवन राजपथलाई पर्यटकीय मार्ग घोषणा तथा विकास कार्यक्रमअन्तर्गत झिरघारीमा २३ लाख ३३ हजार खर्च गरी मैत्री बगैँचा निर्माण गरिएको छ । लामिडाँडा र टिस्टुङमा २८ लाख ४४ हजारखर्च गरी विश्रामघर निर्माण गरिएको छ । आयोजना कार्यालयको तथ्याङ्क अनुसार १० जिल्लामा पर्यटकीय क्षेत्रको पहिचानसहितको हिल स्टेशन निर्माण गर्ने भनिए पनि त्यसले सार्थकता पाउन सकेन । हिल स्टेशनका लागि छुट्याइएको रु ३७ करोडमध्ये सर्भे, डिजाइनलगायतमा दुई करोड २१ लाख मात्र खर्च भएको छ । अन्य रकम खर्च हुन सकेन् ।

प्रदेश मन्त्रालयले सिन्धुपाल्चोकको मुडे, दोलखाको जिरी, धादिङको सोम्दाङग, रुबी भ्याली, मकवानपुरको चित्लाङ, सिमभञ्ज्याङ, रामेछापको शिवालय, सिन्धुलीको सिन्धुलीगढी, नुवाकोटको चिम्टेश्वर र ककनीलाई हिल स्टेशनको रुपमा विकास गर्न बजेट विनियोजन गरेको थियो । ऐतिहासिक तथा पुरातात्विक विकास कार्यक्रमअन्तर्गत स्वयम्भू गीता परिसरस्थित गीता मन्दिर भवन निर्माण, मकवानपुरगढी, चिसापानीगढी, हरिहरपुरगढी र सिन्धुलीगढी प्रवद्र्धन कार्यक्रम आयोजना कार्यालयले गरेको छ । सूर्यगढी, रसुवागढी, दुगुनागढी, उपरदाङगढीलगायत पर्यटन विकास गुरुयोजना निर्माण गरिएको छ ।

राष्ट्रिय व्यक्तित्वको जन्मस्थान पहिचान तथा प्रवद्र्धन कार्यक्रमअन्तर्गत सिन्धुलीको दुम्जामा बिपी कोइराला र रामेछाप डाँडामा पुष्पलालको स्मृति उद्यान निर्माण गरिएको छ । चिवतनको परेवाकोटमा जेपी स्मृति उद्यान र गोलघर धर्मशाला सञ्चालनमा ल्याइएको छ । पोष्टबहादुर बोगटी स्मृति बाटिकाका साथै पिसकर–भिमान र दोरम्बा स्मृति उद्यान पनि निर्माण गरिएको छ । मन्त्रालयले गत आवमा पर्यटनतर्फ २१ ठूला आयोजनाकोे डिपीआर तयार भएको छ ।

प्रदेश सरकारले सिन्धुपाल्चोकमा सबैभन्दा बढी सात डिपीआर तयार गरेको छ । आयोजनाले पर्यटकीय पार्क निर्माण, भ्यू टावर, पर्यटकीय पदमार्ग निर्माण, बगैँचा, पार्किङस्थल, पदमार्गको स्तरोन्नति, धार्मिक पर्यटकीय सर्किट निर्माण, तातोपानी क्षेत्रको संरक्षणलगायत कार्यको डिपिआर तयार भएको मन्त्रालयले जनाएको छ । प्रदेश सरकारले मकवानपुरको दामान, कुलेखानी, मार्खु, चित्लाङ, सिन्धुपाल्चोकको मुडे, दोलखाको जिरी, रामेछापको शिवालय, ललितपुरको कालेश्वर, नुवाकोटको ककनी, धादिङको रुभीभ्याली, रसुवाको सोमदाङ र सिन्धुलीको सिन्धुलीगढी खुर्कोटलाई ‘एक जिल्ला एक पर्यटकीय गन्तव्य’को रुपमा विकास गर्ने योजना अगाडि बढाएकोमा करीब पाँच लाख मात्र खर्च भएको छ ।

प्रतिक्रिया