‘रविलाई जेलमा नहाल’ गीत सार्वजनिक

काठमाडौँ । गत साउन २० गते चितवनको कंगारु होटेलमा झुन्डिएर मृत अवस्थामा फेला परेका माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनीको प्रकरणमा यतिबेला देशैभर चर्चा चलेको छ ।

पुडासैनीको मृत्यु हुनुभन्दा अगाडी एउटा भिडियो रेकर्डमार्फत न्युज २४ टेलिभिजन सिधा कुरा जनतासँगका कार्यक्रम संचालक एवं चर्चित पत्रकार रबी लामिछानेलगायत सोही कार्यक्रममा कार्यरत युवराज कंडेल र नर्स रुकु अर्थात अस्मिता कार्कीको नाम लिएपछि उनीहरुलाई बिहिबार चितवन जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी प्रमुख दानबहादुर मल्लको टोलीले सिधा कुरा जनतासँग कार्यक्रम संचालन गर्ने तयारी गरिरहेका बेला कार्यकक्षबाटै पक्राउ गरेर अनुसन्धानका लागि चितवन लगिएको छ ।

सोही बिषयलाई लिएर पत्रकार रबि लामिछानेका समर्थकहरुले उनको रिहाइको माग गर्दै प्रदर्शन गरिरहेका छन् । यसैबीच कतिपय कलाकारहरुले पनि रबिकै पक्षमा उनलाई फ़साइयो भन्दै गीतसमेत निकालेर रविको समर्थन गरेका छन् । यसै क्रममा गायक एवं सञ्चारकर्मी राजकुमार रायमाझीले पनि रबि लामिछानेकै समर्थनमा ‘कसले रच्यो अचम्मको जाल’ बोलको गीत सार्वजनिक गरेका छन् ।

‘रविलाई जेलमा नहाल’ शिर्षक रहेको उक्त गीत राजकुमारको आफ्नै शब्द, संगीत र एकल आवाजमा रहेको छ । लक्षुप्रकाश मल्लले एरेन्ज गरेको गीतको भिडियो धिताल फिल्मस्को युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । होम धितालद्वारा निर्देशन गरिएको भिडियोलाई प्रकाश बराइली (अभिब्यक्ती) ले छायांकन गरेका हुन् । त्यस्तै रोशन धितालले सम्पादन गरेको उक्त भिडियोमा होम धिताल, गायक राजकुमार रयामाजी आफै, सुर्य पुर्वछाने मगर र भिम कुसारी लगायतको अभिनय छ ।

प्रतिक्रिया