श्रीमान्को हत्यारासँग पैसा असुल्ने महिला पक्राउ

भोजपुर । श्रीमान्को हत्याको घटना लुकाउन हत्यारासँग पैसा लिएको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–४ सिद्धेश्वर दावाकी मीना मिजार सार्की रहेकी छन् । घटनामा संलग्न रहेको आरोपमा अन्य पाँच जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

विसं २०७४ माघ २७ गते स्थानीय पूर्णबहादुर सुयललाई छिमेकी मोहनबहादुर रम्तेलले चम्पिरा खोलाको भिरबाट धकेलेर हत्या गरेको आरोप छ । घटनापछि छिमेकी हरिबहादुर लम्सालले घटना लुकाउन अभियुक्तसँग रु तीन लाख मागेको बयानमा उल्लेख छ ।

केही समय पश्चात मृतक पूर्णबहादुरकी श्रीमती मीनाले मुख्य अभियुक्त रम्तेलसँग पैसा मागेको खुल्न आएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले जानकारी दिए ।स्थानीय मनकुमार मिजार, सन्तोष मिजार र विष्णु बयलकोटीले मीनालाई हत्याराबाट पैसा दिलाउन सहयोग गरेको आरोप लागेको छ ।

रम्तेलसँग मीनाले रु दुई लाख लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । आफ्नै पतिको हत्याराबाट लिएको सो रकम सदरमुकामस्थित एक सहकारी संस्थामा रु एक लाख ७० हजार र रु ३० हजार आफ्नी सासूलाई भैँसी किन्न दिएको बयानमा खुलेको छ ।

प्रतिक्रिया