नेपाली धावक गुरुङलाई तेस्रो स्वर्ण

काठमाडौं । चीनको छेन्दुमा भइरहेको विश्व पुलिस एन्ड फायर गेम्समा नेपाली धावक निमेश गुरुङले तेस्रो स्वर्ण जितेका छन् ।  सिंगापुर पुलिस फोर्समा कार्यरत उनले आफूले भाग लिएका तीनवटै विधामा स्वर्ण जित्ने क्रममा आइतबार १० हजार मिटर दौडमा पनि स्वर्ण जितेका हुन् । प्रतिस्पर्धामा विभिन्न देशका ५५ खेलाडीले भाग लिएका थिए । निमेशले निर्धारित दूरी ३१ मिनेट १७ सेकेन्डमा पार गर्दै स्वर्ण जिते । उनले चीन र भारतका खेलाडीलाई पछि पारेका थिए । दोस्रो भएका रेलवे पुलिस चीनका जेनुफेङ दाईले ३१ मिनेट ३५ सेकेन्डमा दौड पूरा गरेका थिए ।

भारतीय राष्ट्रिय पुलिसका गोभा रामले ३२ मिनेट २१ सेकेन्डमा दौड पूरा गरेर कांस्य पदक हात पारे । उनले गत आइतबार भएको १० हजार मिटरको क्रस कन्ट्री इभेन्टमा पनि स्वर्ण जितेका थिए । सो प्रतिस्पर्धामा उनले भारत र चीनका खेलाडीलाई पछि पारेका थिए । त्यसअघि उनले हाफ म्याराथनमा १ घन्टा ९ मिनेट २६ मिनेटमा निर्धारित दूरी पार गरेर स्वर्ण जितेका थिए ।

पुलिस फायर गेम्समा विश्वभरका प्रहरीमा कार्यरत खेलाडीहरूको प्रतिस्पर्धा हुने गरेको छ । सन् १९८५ मा अमेरिकाबाट सुरु भएको प्रतियोगिताको चीनमा १८औँ संस्करण भइरहेको हो । एक दशकदेखि सिंगापुर पुलिस फोर्समा कार्यरत निमेशले सन् २०१७ मा अमेरिकाको लस एन्जलजसमा भएको अघिल्लो संस्करणमा पनि हाफ म्याराथन र १० हजार मिटर दौडमा स्वर्ण जितेका थिए ।

संखुवासभामा जन्मिएका निमेश सिंगापुरका नाम चलेका धावकमा पर्छन् । विना प्रशिक्षकका धावक निमेशले सन् २०१३ देखि दौडिन थालेका हुन् । उनले सन् २०१४ मा ५ हजार मिटर दौडमा सिंगापुरको २५ वर्ष पुरानो कीर्तिमान भंग गरेका थिए भने १० हजार मिटरको राष्ट्रिय कीर्तिमान पनि भंग गरेका थिए ।

सिंगापुर हुने स्थानीय प्रतियोगितमा हरेक साता जस्तो पदक जित्ने निमेशले २०१४ देखि हालसम्म झन्डै ६ दर्जन स्वर्णसहित ३ सयभन्दा बढी पदक जितिसकेका छन् । यस वर्ष उनले विभिन्न खेलका खेलाडीलाई पछि पार्दै सिंगापुर पुलिसको पिएसए उत्कृष्ट खेलाडीको अवार्ड पनि जितेका थिए ।

प्रतिक्रिया