सिटी र टोटनह्यामले अंक बाँडे

एजेन्सी । म्यानचेस्टर सिटी र टोटनह्यामले प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा अंक बाँढेका छन् । सिटीको मैदानमा भएको खेलमा टोटनह्यामले घरेलु टिमसँग एक अंक खोस्न सफल भएको हो । सिटीको मैदान इतियाद स्टेडियममा भएको खेलमा सिटीले दुई पटक लिएको अग्रतामा टोटनह्याम खेलमा फर्किएको थियो । भिडियो साहायक रेफ्री(भिएआर)ले अन्तिम मिनेटमा ग्याब्रियल जिससले गरेको गोललाई मान्यता निदएसँगै इंग्लिस प्रिमियर लिगमा शनिबार टोटेनह्यामसँग २–२ को बराबरीमा रोकिएपछि म्यानचेस्टर सिटीका प्रशिक्षकले यसमा अझै कमजोरी रहेकाले सच्याउन आग्रह गरेका छन् ।

साबिकको विजेता सिटीले गत सिजनपछि प्रिमियर लिगको १६ खेलमा पहिलो पटक जितविहीन बनेको हो । खेलको अन्तिम मिनेटमा जिससको गोलमा सिटीले माउरिसियो पोचेटिनोको टोलीविरुद्ध स्पष्ट तीन अंक खोस्ने संघारमा पुगेको थियो । तर, भिएआरमा एमरिक लापोर्टेको ह्यान्ड बल भएको भन्दै गोल अमान्य भएको थियो ।

पछिल्लो ४ महिनामा सिटी टोटेनह्यामविरुद्ध भिएआरमा निराश भएको यो दोस्रो पटक हो । यसअघि गत सिजन च्याम्यिन्स लिगको क्वाटरफाइनल दोस्रो लेगमा रहिम स्टर्लिङले अन्तिम मिनेटमा गरेको गोल भिएआरले अफसाइड देखाइदिएको थियो । सो खेलमा टोटेनह्यामका फर्नान्डो लोेरेन्टोले गरेको सम्भावित ह्यान्ड बल गोललाई भने भिएआरले मान्यता दिएका थियो ।

‘हामीले च्याम्पियन्स लिग क्वाटरफाइन दोस्रो लेगमा टोटेनह्यामलाई नतिजा सुम्पिदा भिएआरमा देखिएको समस्या अझै समाधान भएको रहेनछ,’ ग्वार्डिओलाले भने, ‘अवस्था उस्तै छ । रेफ्री र भिएआरले हाम्रो गोललाई मान्यता दिएन । यो दोस्रो पटक भएको हो । भिएआर कठिन छ तर त्यसमा सुधार अवश्य गर्न सकिन्छ । गत साता उल्भरह्यामटन र लेस्टर सिटी तथा बुधबार युइएफए सुपर कपमा चेल्सी र लिभरपुलविरुद्धको खेलमा पनि भिएआरमा समस्या देखिएको थियो ।’

२० औँ मिनेटमा स्टर्लिङले गरेको गोलमा सिटी खेलमा अघि बढेको थियो । तर, सिटीले आफ्नो अग्रता लामो समय भने टिकाउन सकेन । त्यसको ३ मिनेटपछि नै इरिक लामेलाले टोटेनह्यामलाई खेलमा फर्काएका थिए । ३५ औँ मिनेटमा सर्जियो अग्विरोले बललाई जाली चुमाउँदै सिटीलाई पुनः खेलमा अघि बढाएका थिए । ५६औँ मिनेटमा लुकास मौराले पुन टोटेनह्यामलाई खेलमा फर्काएका थिए ।

यता टोटेनह्यामका प्रशिक्षक माउरिसियो पोचेटिनोले भने प्रविधिसँग अभ्यस्त हुनुपर्ने भन्दै भिएआरलाई दोष दिन नहुने बताएका छन् । ‘भिएआरको निर्णय कहिले तपार्इंको पक्षमा आउँछ त कहिले विपक्षमा । हामी आज र च्याम्यिन्स लिगमा गरी दुई पटक भाग्यमानी भयौ,’ पोचेटिनोले भने, ‘यो भन्दा अघि रेफ्रीको निर्णय अन्तिम हुन्थ्यो तर, अहिले रेफ्रीको गल्ती भिएआरले सुधारी दिन्छ ।’

यसअघि शनिबारै भएको खेलमा लिभरपुलले प्रिमियर लिगमा लगातार दोस्रो जित हात पार्ने क्रममा भिएआर साउथह्यामटनलाई २–२ ले हराएको छ ।  पहिलो हाफको अन्तिम मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई खेलमा अघि बढाएका थिए । ७१ औँ मिनेटमा रोबेर्टो फिर्मिनोले बललाई जाली चुमाउँदै लिरभपुलको अग्रता दोब्बर पारेका थिए । खेल सकिन ७ मिनेट बाँकी हुँदा साउथह्यामटनका ड्यानी इङसले टोलीलाई खेलमा फर्काउने प्रयास गरेपनि त्यो पर्याप्त भएन ।

प्रिमियर लिगअन्तर्गत शनिबारै भएको खेलमा नवप्रवेशी नर्विचले सिजनको पहिलो जित हात पार्ने क्रममा न्युक्यासल युनाइटेडलाई ३–१ ले निराश बनायो भने एभर्टनले वाट्फोर्डलाई १–० ले हरायो । त्यस्तै बर्नमाउथले एस्टन भिल्लालाई २–१ ले हराउँदा वेस्ट ह्याम र ब्राइटोनले १–१ को बराबरी खेले ।

प्रतिक्रिया