सिस्नुपानीको ‘खाईजात्रा’

काठमाडौं । गाईजात्राको अवसर पारेर कुञ्ज नाटक घरमा सिस्नुपानी समूहका कलाकार तथा कविले ‘खाईजात्रा’ कार्यक्रम गरेका छन् । सिस्नुपानी नेपाल, कुञ्ज नाटकघर र आरम्भको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा २१ जना कविले व्यंग्य कविता सुनाएर मज्जाले हँसाए ।

कार्यक्रममा राजनीतिक, सामाजिक, आर्थिक विसंगतिविरुद्ध कविहरूले कवितामार्फत तिखो व्यंग्य प्रहार गरे । उक्त अवसरमा पप्पु बस्यालले स्वागत गर्दै मादल र गीतारको आवाज निकालेर दर्शकलाई हँसाए । त्यस्तै, उनले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेपाली कांग्रसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेता तथा कलाकारको क्यारिकेचर गर्दै दर्शकलाई दर्शकलाई मनोरञ्जन प्रदान गरे ।

लेखक देवी घिमिरेको सभापतित्वमा भएको उक्त कार्यक्रममा चट्याङ मास्टरले ‘रक्सी महात्म्य’ कविता वाचन गरे । लेखिका ललिता दोषीले लेखकमाथि नै व्यंग्य गर्दै ‘क्या क्या कोर्छौ’ कविता सुनाइन् ।

कार्यक्रममा पुण्य आचार्य, केशवराज अर्याल (केरा), नरनाथ लुइँटेल, डम्बर घिमिरे, बालचन्द्र मिश्र, बमबहादुर जिताली, डिल्लीराम दाहाल, प्रेम ओली, द्वारिका कुइँकेल, थरेन्द्र बराल, टेकबहादुर कोइराला, अर्जुन पराजुली, सुमी लोहनीले आफ्ना रचना सुनाएका थिए । त्यस्तै, सिस्नोपानीका हरिकला उप्रेती, लक्ष्मण गाम्नागे, टंक आचार्य र चक्र दवाडीले व्यंग्य प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया