आन्विकाले ल्याइन् दुई पुस्तक

काठमाडौं । लेखक आन्विका गिरीले लेखेका बालसाहित्यसम्बन्धी दुई पुस्तक ‘आमाले सक्नुहुन्छ’ र ‘सानीका ज्ञानी कुरा’ बजारमा आएका छन् । कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा चारजना बालिकाले उक्त पुस्तकलाई संयुक्त रूपमा विमोचन गरे ।

कार्यक्रममा शिक्षाविद् तथा पूर्वउपकुलपति केदारभक्त माथेमाले सार्वजनिक बाल पुस्तकले बालबालिकामा सकारात्मक प्रभाव पार्ने बताए । उनले अन्यभन्दा भिन्न र फरक ढंगले पुस्तक आएको बताउँदै उनले भने, ‘लेखिकाले असाध्यै राम्रो पुस्तक लेख्नुएको छ, यस्तो कुरा अरू कसैले बाल साहित्यमा लेखेको छैन ।’ माथेमाले अब अभिभावकको लागि पनि अर्को पुस्तक लेख्न जरुरी रहेको भन्दै लेखिकालाई आग्रह गरे ।

सांसद सरिता गिरीले पुस्तकमा बालबालिकाले आफ्नो समस्यालाई सहजै समाधान गर्ने उपाय पाउन सक्ने जिकिर गरिन् । उनले भनिन्, ‘लेखन निकै सरल र सशक्त छ । लेखन र चित्रको सम्मिश्रणले पुस्तकलाई निकै राम्रो बनाएको छ ।’

त्यस्तै, पुस्तकमाथि टिप्पणी गर्दै डा. अरुणा उप्रेतीले आन्विकाको लेखकीय क्षमताले आफू निकै प्रभावित भएको बताइन् । उनले ‘सानीका ज्ञानी कुरा’ पढेपछि मलाई ठूलो ईष्या लागेको सुनाइन् उनले भनिन्, ‘यो विषयमा मैले किन लेखिनँ ? यदि मैले लेखेको भए यस्तो सजिलो तरिकाले लेख्न सक्दिन थिएँ ।’

डा. उप्रेतीले लेखिकाले बालबालिकाप्रति हुने यौन हिंसाका विषयलाई निकै सरल रूपमा बुझाउने कोसिस गरेको भनाइ व्यक्त गरिन् । उनले समाजमा हुने बालबालिकाप्रतिको यौनहिंसाका विषयलाई सरल ढंगले प्रस्तुत गरेको हुँदा स्कुलका पाठ्यक्रममै समावेश गर्नुपर्ने जिकिर गरिन् । दुवैलाई पुस्तक सांग्रीला बुक्सले प्रकाशित गरेको हो ।

लेखिका आन्विकाका यसअघि ‘कम्युनिस्ट’ कथा संग्रह, ‘मान्छेको रङ’ उपन्यास र बालकथा संग्रह ‘हाम्रा पनि कुरा सुन्नुस्’ प्रकाशित छन् ।

प्रतिक्रिया