जनगायक शर्मा सम्मानित

तनहुँ । गीत संगीतमार्फत जनसाधारणका आवाज गाउँदै आएका जनगायक जीवन शर्मा सम्मानित भएका छन् ।

प्रगतिशील लेखक संघ तनहुँले शर्मालाई जनवादी गायनका क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै सम्मान गरेको जनाएको छ । दमौलीमा आयोजित कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य, गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री आशा कोइरालाले जनगायक शर्मालाई दोसल्ला र प्रशंसापत्रले सम्मान गरिन् ।

कार्यक्रममा केन्द्रीय सदस्य कोइरालाले गायक शर्माले जनताको पक्षमा गीत गाएर नै निरंशुकतामाथि प्रहार गरेको बताइन् । नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले कम्युनिस्ट पार्टीका कार्यकर्तामा अध्ययनको कमी भएको भन्दै समाजवादको यात्रामा जान पनि पहिला अध्ययनशील बन्नुपर्ने जिकिर गरे । उनले कम्युनिस्ट पार्टीका सदस्यले विश्वका इतिहासहरूको बारेमा जानकारी राख्नुपर्ने बताए ।

कार्यक्रममा जनगायक शर्माले जीवनको लामो कालखण्डमा निरंकुशताविरुद्धको आन्दोलनमा गीत–संगीतले राम्रो प्रभाव पारेको बताए । उनले भने, ‘समाजमा सबै वर्गका मानिसले समान अवसर पाउनुपर्दछ । भेदभाव र अवसरबाट कसैलाई पनि वञ्चित गरिनुहुन्न ।’ सो अवसरमा न्यौपानेले लेखेको संघर्षको इतिहास नामक पुस्तकमाथि वामबुद्धिजीवीहरू शेषमणि आचार्य र डम्बरदेव कैनीले परिचर्चा गरेका थिए ।

प्रतिक्रिया