बन्द हुँदै युएनएचसीआरको उपशाखा

दमक । राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायोगको कार्यालय (युएनएचसीआर) को दमकस्थित उपशाखा बन्द हुने भएको छ । भुटानी शरणार्थीको रेखदेखमा संलग्न उक्त निकाय २७ वर्षअघि स्थापना भएको थियो ।

युएनएचसीआरले सन् २०२० को अन्त्यसँगै उपशाखा बन्द गर्ने जानकारी नेपाल सरकारलाई गत जेठमा दिइसकेको शरणार्थी मामिला हेर्ने गृह मन्त्रालयको केन्द्रीय शरणार्थी समन्वय एकाइले जनाएको छ । झापाको पूर्वी नाका काँकडभिट्टा बाटो हँुदै नेपाली मूलका भुटानी भुटानबाट नेपालमा खेदेकामा तत्कालीन सरकारले सन् १९९२ मा राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायोगलाई पत्र लेखेपछि उक्त निकायले सहायताको काम थालेको थियो ।

आयोगको उपशाखा उठ्ने क्रममा भूटानी शरणार्थीका लागि सिमेन्ट र जस्ताका छाप्रा अर्धस्थायी घर बनाउने क्रम तीव्र पारिएको छ । उपशाखा हटने भएपछि शरणार्थीलाई शिविरमा प्रदान गरिएका कतिपय आधारभूत सेवा शिविर बाहिरका सरकारी सेवाप्रदायकबाट लिने वातावरण पनि बनाउँदै लगिएको छ ।

पुनर्वासमा तेस्रो देश लैजाने क्रम सन् २०१८ को डिसेम्बरमा बन्द भएपछि हाल दुवै शरणार्थी शिविरमा ६ हजार ५ सय भुटानी शरणार्थी छन् । शिविरमा बाँकी रहेका शरणार्थीको बसाइँ केही लम्बिने भएपछि युएनएचसीआरले उनीहरूका लागि अर्धस्थायी प्रकृतिका छाप्रा बनाउन थालेको बताइएको छ । यसअघि शिविरका १ लाख १३ हजार ५ सय शरणार्थी अमेरिका, क्यानडा, अस्ट्रेलिया, नेदरल्यान्ड, नर्बे, न्युजिल्यान्ड, डेनमार्क र बेलायतमा पुनर्वास भएका थिए ।

प्रतिक्रिया