सर्प संरक्षण गर्दै सापकोटा परिवार

चितवन । भरतपुर महानगरपालिका–१५ जयनगरका अनिरुद्र सापकोटाका परिवार सर्प जोगाउन लागिपरेका छन् । उनी सर्पलाई समातेर जंगलमा लगेर छाडिदिन्छन् । सापकोटा परिवार सर्पलाई सन्तानसरह माया दिन्छन् ।

गाउँमा कतै सर्प देखापर्नासाथ सापकोटा परिवारलाई बोलाइन्छ । खबर प्राप्त भएपछि उद्धारका लागि परिवार जुटिहाल्छ । ‘घरमा सर्प पस्यो भन्दै फोन आउँछ’, उनले भने, ‘सर्पलाई समाउने औजार र बोरा लिएर जान्छु, करिब १० मिनेटमा उद्वारको काम सकिन्छ ।’ उनी सर्पलाई बचाउनुपर्ने तर्क राख्छन् । ‘सर्पलाई उद्वार गर्र्दा सन्तुष्टि मिलेको छ’, सापकोटाले भने, ‘सर्प जोगाउन सकिएन भने मानव अस्तित्व पनि समाप्त हुन्छ ।’ सर्प लोप भएमा भावी सन्ततिले कथाका रूपमा कल्पना गर्नुपर्ने दिन आउने बताउँछन् । सर्प उद्वार गरेबापत उनी कुनै रकम लिँदैनन् ।

चितवनमा मात्रै नभई उनले नवलपुरसम्म पनि पुगेर उद्धार गरेका छन् । ५२ वर्षीय अनिरुद्र नेपाली सेनाबाट ०६३ सालमा अवकाश पाएका थिए । नेपाली सेनामा हुँदा उनले कहिल्यै सर्पको उद्धार नगरेको भए पनि सर्प संरक्षणमा जुटेका छोरा सुनील सापकोटाबाट प्रभावित भएर उनी पनि सर्प संरक्षणमा लागे । ‘छोराले सर्प बचाउनुपर्छ भन्यो, ‘जियोग्राफी, एनिमल प्लानेटजस्ता विदेशी टेलिभिजन हेर्दा विदेशीले संरक्षण गरेको देखेँ’, उनले विगत सम्झदै भने, ‘विदेशीले सर्पलाई चिडियाखानामा पालेको देखेँ । वातावरणलाई यथावत राख्न सर्प बचाउनैपर्ने रहेछ भन्ने थाहा भएपछि यसतर्फ लागेको हुँ ।’

उनी सर्प मार्न नहुनेमा अडिग छन् । ‘मार्दा एकछिन सुरक्षित भएको अनुभव होला तर यसले वातावरणलार्ई धेरै घाटा हुन्छ र मानव अस्तित्वलाई नै संकट पु¥याउँछ’, उनले भने, ‘सर्पको विष औषधिका रूपमा समेत प्रयोग हुन्छ, ‘एन्टी स्नेक भेनम’ बन्छ, अन्य रोगविरुद्धको औषधि पनि बन्दो रहेछ ।’ उनी सर्पलाई सम्पत्तिका रूपमा चित्रण गर्छन् । उनले पछिल्लो समय घरभित्र प्रवेश गरेका करेत, अजिंगर, धामनको उद्धार गरेर ल्याएको जानकारी दिए । अहिलेसम्म चार सयभन्दा बढी सर्पलाई उद्वार गरी जंगलमा छाडेको उनको भनाइ छ ।

अहिले उनले सर्प राख्नकै लागि काठको कोठा भएको दराज बनाएका छन् । कम विषालु सर्पलाई दराजमा राखे पनि विषालु सर्पलाई प्लास्टिकको भाँडामा जम्मा गर्दै आएका छन् । उद्वार गरेर जम्मा भएका सर्पलाई नजिकैको देवनगरको जंगलमा लगेर छाड्ने गर्छन् । ‘जंगलमा राम्रो वातावरण मिल्छ, हुर्किन पाउँछन्, स्वतन्त्र भएर डुल्न पाउँछन्’, उनले भने, ‘बस्तीमा आउँदै सबैले खेद्छन्, जोगाउन जंगल नै उपयुक्त छ ।’

उनी सर्पको महत्व बुझाउने अभियान पनि चलाउँछन् । उनी भन्छन्, ‘घातक रोगहरूको औषधि बन्छ । करेतमा धेरै विष हुन्छ, जसलाई प्रशोधन गरेर धेरै मात्रामा औषधि बनाउन सकिन्छ, धामनले धानका मुसा खान्छ, फाइदा किसानलाई नै पुग्छ ।’ खानाको खोजीमा सर्प घर पस्ने गरेको उनी बताउँछन् । घरमा पस्यो भन्दैमा मारिहाल्न नहुने उनको तर्क छ । सापकोटाले अहिलेसम्म सर्प उद्वारसम्बन्धी कुनै औपचारिक तालिम भने लिएका छ्रैनन् । उनी भन्छन्, ‘टिभीबाटै सिकेको हुँु, हेरेर सिकेको ज्ञानका आधारमा सर्पलाई समात्ने गरेको छु ।’

उनलाई सर्प संरक्षण गरेका कारण यसको संख्यामा वृद्धि भएको आरोपसमेत लाग्ने गरेको छ । सापकोटाले उद्वार गरेका सर्पबारे तथ्यांक राख्न थालेका छन् । उनी भन्छन्, ‘विषालु मानिएको राज गोमन (किङ कोब्रा) र करेत समातेपछि मलाई थप हौसला बढ्यो ।’ तीन वर्षअगाडि गैँडाकोटको प्रहरीचौकीको भ्यानको इञ्जिनबाट ९ फिट ६ इन्चको राज गोमन (किङ कोब्रा) उद्वार गरेको स्मरण गरे ।

सर्पसँग जति नजिक भइन्छ, डर भाग्दै जाने उनको भनाइ छ । ‘सर्पलाई जिस्क्याएमा मात्रै प्रतिकारमा उत्रन्छ’, उनले भने । सापकोटाले सर्प संरक्षणका लागि सरकारले छुट्टै बजेट छुट्याउन माग गरे । अनिरुद्र आजभोलि गोही संरक्षणमा पनि जुट्न थालेका छन् । उनी मात्र होइन, घरका सबै सदस्य अहिले सर्पको संरक्षण लागेका छन् । घरपरिवार सबै सर्प संरक्षणमा सकारात्मक देखिएपछि उनलाई यो काम गर्न निकै सजिलो भएको छ । उनकी पत्नी जानकी भन्छिन्, ‘कम विषालु सर्प मैले पनि उद्वार गर्छु ।’

सर्पले वातावरणमा रहेका हानिकारक विषादी खाने भएकाले यसको संरक्षण नगरे मानवजातिलाई नै प्रत्यक्ष असर पुग्ने उनको बुझाइ छ । सुत्ने पलङभित्र परेका कैयौँ सर्पलाई उद्वार गरेको उनको स्मरण छ । उनीहरूका छोरा सुनील अहिले सर्पको विष बारेको अध्ययन अनुसन्धान गर्न भुटानमै छन् । सुनीलले भुटानमा अध्ययनसँगै त्यहाँका सर्पको प्रकार र संख्या गणना गर्ने काम गरिरहेको आमा जानकी बताउँछिन् ।

अहिले सापकोटा परिवारले सर्पबारे जनचेतना फैलाउन श्रव्यदृश्य (भिडियो) निर्माण गरी सामाजिक सञ्जालमा समेत हालेर सर्पको बहुउपयोग गुणबारे सबैलाई बुझाउने प्रयासमा छन् । सर्पबारे भिडियो निर्माण गर्न उनका तीन वर्षका नातिदेखि छोरी, बुहारी र पत्नीले सहयोग गर्दै आइरहेका छन् । नेपालमा दुई सयभन्दा बढी प्रजातिका सर्पहरू पाइन्छ ।

प्रतिक्रिया