हाम्मा कुडा, हाम्मा मुख्यमन्त्री

कालीकोट । हाम्मा कुडा, हाम्मा मुख्यमन्त्री खष भाषामा उद्रित गरिएका यी शब्द सोचेभन्दा फरक छन् । कर्णाली प्रदेश सरकारद्वारा आयोजित अन्तरक्रिया गर्न गृह जिल्ला कालीकोट पुगेका मुख्यमन्त्री महेन्द्र शाहीले गुनासै गुनासाको भारी बोकेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतले कर्णालीको खसभाषामा आयोजना गरेको ‘हाम्मा कुडा, हाम्मा मुख्मन्त्री’ कार्यक्रममा उनीहरूले गुनासो सुनाएका हुन् ।

पहिलोपटक मुख्यमन्त्रीसँग जिल्लाका जनताले प्रत्यक्ष गुनासो राख्ने मौका पाए । गुनासो राख्दै पलाता गाउँपालिका खिनका चक्र कामीले ‘वर्षौं बित्यो काम गरेको ज्याला पायौँ न त, विद्युत् नै बाल्न पायौँ । अधुरै रहेका योजनाहरूको प्रदेश सरकारले सम्बोधन नगरेको गुनासो गरे । उनले प्रदेश सरकारबाट आएका योजना हुन् वा स्थानीय सरकारका योजनाहरूमा व्यापक दुरुपयोग भइरहेको सूचना बाहिर आउँदा पनि प्रदेश सरकारले अनुगमन र नियगमन गर्न नसक्नुको कारण राखेका छन् ।

यस्तै पलाता गाउँपालिका खाडागाँउका आगलागी पीडितहरूले एक वर्ष पुग्नलाग्यो पालमुनि जीवन बिताउन बाध्य बाढीपीडितको समस्या समाधान गर्न प्रदेश सरकारसँग आग्रह गरे । ‘अहिलेसम्म पनि हामीले पालमै बस्नुपरेको पीडा मुख्यमन्त्रीलाई सुनाए,’ उनले भने, ‘सरकार भएको महसुस गर्न चाँडै पाइयोस् ।’

यस्तै कार्यक्रममा पूर्वशान्ति सुमितिका संयोजक धुर्वविक्रम शाहिले, द्वन्द्वपीडितको समस्या अझैसम्म उस्तै रहेकाले अहिलेसम्म पीडितले न्यायको अनुभूति नपाएको, केही सहिद परिवारले अहिलेसम्म राहत नपाएकोमा प्रदेश सरकारले पहल नगरेको प्रति गुनासो गरे । यस्तै एकल महिला रादीका शाहीले कर्णालीमा विद्यमान छाउपडी प्रथा र सुत्केरी हुन नसकेर कतिपय महिलाले जीवन गुमाउनु गरेको भन्दै छाउपडी प्रथाको अन्त्य र सुत्केरी महिलाको ज्यान जोगाउन आवश्यक पहल कदम चाल्नुपर्ने बताइन् ।

गुनासो सुनुवाई कार्यक्रममा पलाताका स्थानीय नागरिक मात्र होइनन्, अधिकांश सहभागीले, तीनदशक पूरा हुँदा पनि जिल्लाकै एक मात्र अधुरो विमानस्थल सुचारु नहुनु, कर्णाली राजमार्गदेखि कर्णाली करिडोर जोड्ने खुलालुको पक्की पुलको निर्माण अधुरो रहनु, सेरि पान्तडी सडक अहिलेसम्म निर्माण नहुनु, विद्युत्को राष्ट्रिय प्रसारण लाइन अहिलेसम्म जिल्लामा नपुग्नुजस्ता गुनासो मुख्यमन्त्रीसँग राखेका छन् ।

स्थानीयवासीले राखेका भारी जिज्ञासाको क्रमशः जवाफमा मुख्यमन्त्री शाहीले, कर्णालीको मुख्य समृद्धिको आधार भनेकै कर्णाली करिडोरसँग जोडिएको हिल्सा सडक हो । यसको एक वर्ष भित्रै निर्माण सम्पन्न गरी सिधै चीनसँगको व्यापार हुने बताए । यस्तै जिल्लाका अधुरा आयोजनाहरू सम्पन्न गर्न ठेक्का रद्द गरेर भए पनि नयाँ टेन्डर प्रक्रिया सुरु गरी काम सम्पन्न गर्न प्रदेश सरकार तयारीमा लागेको बताए ।

उनले भने, सबैको चिन्ता र चासोको विषय रहेको करिडोर जोड्ने खुलालु पुल निर्माण सम्झौता पूरा भएको वर्षाै बित्दा पनि अहिलेसम्म निर्माण हुन सकिरहेको छैन । अब यसको टेन्डर रद्द गरेर नयाँ टेन्टर खोलेर काम रफ्तारमा लिन लगाउने बताए । यस्ता आयोजनाहरूमा प्रदेश सरकारले मात्र गर्न नसक्ने भन्दै संघीय सरकारसँग पहल गरिरहेको बताए । उनले भने, ‘कर्णालीका जनता अझै पनि परनिभर्तामा छौँ । यसको अन्त्य गर्नुपर्छ भन्नेमा हामी लागिरहेका छौँ ।

आउँछ खाउँला भन्ने प्रवृत्तिले गर्दा आज कर्णाली पछाडि परेको हो, अझै पनि कर्णालीका जनता गरिबीकै रेखामा रहेका छन् । यसको अन्त्यका लागि हरेक व्यक्तिले उत्पादनशील हुनुपर्छ । सबैभन्दा बढी बजेट आप्mनै जिल्लामा दिएको छु । अझै विकास हुन सकेन भन्नुहुन्छ ? आएको बजेटको सही तरिकाले सदुपयोग गर्न नसक्ने अझै गुनासै गुनासो गर्नुहुन्छ ?’

समाजका विभिन्न सबै खालका समस्या समाधान गर्न आवश्यक कानुन निर्माण र त्यसको कार्यान्वयनका लागि सहजीकरण गर्न प्रदेश सरकारले पहल गरिरहेको मुख्मन्त्री शाहीले बताए । ‘जनताका समस्या धेरै छन्’ उनले भने, ‘सबै समस्या समाधान गर्न आवश्यक कानुन निर्माण गर्न प्रदेशसभामा पहल भइरहेको छ ।’ कतिपय कानुन निर्माण भए पनि कार्यान्वयनको अभावमा समस्या भइरहेको उनले बताए । नागरिकका समस्या समाधान गर्ने गरी सरकारलाई आवश्यक प्रक्रिया बढाउन प्रदेश सरकारले निर्देशन दिएको उनको भनाइ छ ।

कार्यक्रममा संघीय सरकारका प्रतिनिधि दुुर्गबहादुर रावत, प्रदेश सदस्य कुर्मराज शाहीलगायत स्थानीय तहका प्रमुखहरूको सहभागितामा सदरमुकाम मान्मको खुलाचौरमा खसभाषामा ‘हाम्मा कुडा मुख्मन्त्री’ कार्यक्रम सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया