अवैध घरटहरा भत्काइयो

काठमाडौं । चाँगुनारायण नगरपालिकाले नगरकोट सडकको दायाँबायाँ सामुदायिक वन क्षेत्र अतिक्रमण गरी बनाएका घरटहरा आइतबार डोजर लगाएर भत्काएको छ । डोजर लगाएर अतिक्रमण गरी अवैधरूपमा बनाएका तीन सय ओटा घरटहरा भत्काउन गएको डोजरलाई घरटहरा सञ्चालकले अवरोध गरेपछि प्रहरी र सञ्चालकबीच झडप भएको छ ।

नगरपालिका, वन कार्यालय, जिल्ला प्रशासन र प्रहरीसमेतको निर्णयबाट अतिक्रमण गरी बनाएका घरटहरा भत्काउनेक्रममा अवरोध गरी ढुंगा हान्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

प्रहरीले केहीबेर लाठी प्रहार गरेपछि अवरोध गर्न गएको भीड तितरवितर भएको थियो । त्यसपछि स्थानीयले सडकका बीचमा टायर बालेर केहीबेर अवरोध पु¥याएका थिए । वन क्षेत्रमा अवैधरूपमा निर्माण गरी सञ्चालन भएको २० वटा व्यावसायिक घरटहरा एक महिना अगाडि नगरपालिकाले भत्काएको थियो । त्यसपछि नगरपालिकाले पटकपटक सूचना जारी गर्दा पनि घरटहरा भत्काउन अटेर गरेपछि नगरपालिकाले आइतबार डोजर लगाएर भत्काएको हो ।

नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले यहाँका घरटहरा हटाउन १० वर्ष अघिदेखि नै निर्णय भए पनि कार्यान्वयन नभएको र अहिले त्यसलाई कार्यान्वयन गरेको बताए । नगरपालिका क्षेत्रमा सामुदायिक वन र सडकसमेत अतिक्रमण गरी बनाएका घरटहरामा रेस्टुरेन्ट एवं खाजा घरलगायत विभिन्न व्यवसाय सञ्चालन हुँदै आएपछि नगरपालिकाले आफँै भत्काउन पटकपटक सूचना जारी गर्दा पनि नभत्काई अटेर गरेपछि डोजर लगाएर भत्काएको उनले बताए ।

व्यवसायीले वन क्षेत्र अतिक्रमण गरी घरटहरा बनाएको, व्यवसाय दर्ता नगरेको र करसमेत छली गर्दै आएको भन्दै स्थानीय बासिन्दाले अवैध घरटहरा भत्काउन माग गर्दै आएका थिए । नगरकोट बजार क्षेत्रमा काठमाडौँ, भक्तपुर र काभ्रेपलाञ्चोकमा समेत गरी करीब तीन सय घरटहरा बनेको जग्गा अतिक्रमण गरी बनेका छन् । नगरकोटमा भक्तपुरतर्फको अवैध घरटहरा भत्काएपछि काभ्रेतर्फको घरटहरा भत्काइने भएको छ ।

प्रतिक्रिया