थापाथली पार्कद्वारा उपाधि रक्षा

ललितपुर । तुल्सीलाल अमात्यस्मृति पाँचौँ राष्ट्रिय क्लब टिम बुद्धिचाल प्रतियोगिताको उपाधि थापाथली चेस पार्क चेस क्लबले रक्षा गरेको छ ।
शनिबार सम्पन्न फाइनल खेलमा थापाथली र गजुरमुखी चेस क्लब इलामबीच पहिलो म्याच २–२ बराबरी भयो । जसमा थापाथलीका फिडेमास्टर रुपेश जैसवाल र फिडेमास्टर मनिष हमाल तथा क्षितिज भण्डारी र प्रकाश नेपालको खेल बराबरी भयो भने थापाथलीका आशिष फुँयालले गजुरमुखीका कृष्ण थापालाई माथ गरे भने थापाथलीका सुमित पन्त गजुरमुखीका रिजेन्द्र राजभण्डारीसित पराजित भए ।

त्यसपछि, ब्लिट्ज टाइब्रेक ३ मिनेट र २ सेकेण्ड थप समयमा पनि २–२ बराबरी भयो । जसमा थापाथलीका आशिषले कृष्णलाई तथा क्षितिजले प्रकाश नेपाललाई माथ गरे भने गजुरमुखीका लागि मनिषले रुपेशलाई र रिजेन्द्रले सुमितलाई हराएका थिए । अन्तिम टाइब्रेकमा थापाथलीका क्षितिज भण्डारी र गजुरमुखीका मनिष हमालबीच मात्र रोचक भिडन्त भयो । जसमा क्षितिज विजयी भई थापाथलीलाई उपाधि दिलाए ।

उपाधिसँगै थापाथलीले नगद एक लाख ७५ हजार रुपैयाँ प्राप्त गरे भने दोस्रो हुने गजुरमुखीले नगद एक लाख रुपैयाँ पाए । त्यसैगरी गोल्डेनगेट इन्टरनेसनल कलेज र लुम्बिनी इभेन्ट म्यानेजमेन्ट रूकुमबीच तेस्रो स्थानको लागि भएको खेलमा गोल्डेनगेटले ३–१ अंकले विजयी रहे । गोल्डेनगेटका पुरुषोत्तम चौलागाईं र लुम्बिनीका विवेक श्रेष्ठ, भुपेन्द्र निरौला र सुश्रुत दाहालबीचको खेल बराबरी भयो भने सुरवीर लामाले मिलन लामा र मदनकृष्ण कायस्थले युवराज पौडेललाई पराजित गरेका थिए ।

गोल्डेनगेटले नगद ६० हजार हात पारे भने लुम्बिनीले नगद ४० हजारमा चित्त बुझाए । ६ दिने प्रतियोगितामा स्वीस लिग ७ राउन्डको खेलमा व्यक्तिगतरूपमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू एडभान्स गोल्डेनगेटका शुरवीर लामा, गजुरमुखीका मनिष हमाल, थापाथलीका क्षितिज भण्डारी, एडभान्स गोल्डेनगेटका मदनकृष्ण कायस्थ र सहिद शुक्र क्लबका प्रेमकृष्ण महर्जनले जनही नगद पाँच हजार प्राप्त गरे ।

प्रतियोगिताका विजयी तथा सहभागी क्लब टिमहरूलाई राखेप सदस्यसचिव रमेश सिलवाल, राजेशहरि जोशी, एकालाल श्रेष्ठ, तुल्सीलाल स्मृति प्रतिस्थानका सुरेन्द्र मोहन शर्मालगायतले नगद, ट्रफी, मेडल, प्रमाणत्र प्रदान गरे । तुल्सीलाल स्मृति प्रतिष्ठानसित सहकार्यमा नेपाल बद्धिचाल संघको आयोजना र ललितपुर स्पोर्टस क्लबको व्यवस्थापनमा सञ्चालित प्रतियोगितामा देशभरका २१ क्लब टिमहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया