लामिछानेको गिरफ्तारीले दिएको सन्देश

दुई साताअघि युवा पत्रकार शालिकराम पुडासैनी चितवनको एक होटलमा मृत फेला परे । होटलको कोठाभित्र झुन्डिएको अवस्था उनको मृत शरीर फेला परेपछि प्रहरीले आत्महत्या भएको अनुमान गर्यो । अन्तिम अवस्थामा उनले गरेको भिडियो रेकर्ड हरेपछि परिवारले पनि आत्महत्याको ठहरमा पुग्यो । विनाविवाद दाहसंस्कार गरियो । मृत्युअघि पुडासैनीले गरेको भिडियो रेकर्डमाथि प्रहरीले प्रारम्भिक अनुसन्धान गर्यो । प्रारम्भिक अनुसन्धानपछि सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेल, स्वास्थ्यकर्मी रुकु कार्कीलगायतले आत्महत्याका लागि दुरुत्साहन गरेको अनुमान प्रहरीले गर्यो । यसका लागि छानबिन गर्न प्रहरीले स्वास्थ्यकर्मी कार्कीलाई कलंकीबाट र सञ्चारकर्मीद्वय रीव लामिछाने र युवराज कँडेललाई उनीहरूको कार्यकक्षबाटै गत बिहीबार नियन्त्रणमा लियो । उनीहरूलाई बिहीबार राति नै बयानका लागि चितवन लगियो । शुक्रबार चितवन जिल्ला अदालतले अभियुक्त त्रय लामिछाने, कँडेल र कार्कीलाई पाँच दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति प्रहरीलाई दिएको छ ।

पत्रकार पुडासैनीको मृत्यु अस्वाभाविक भए पनि प्रहरीले अघि बढाएको छानबिन प्रक्रिया अहिलेसम्म स्वाभाविक ढंगले अघि बढेको छ । यी तीन जनामध्ये मुख्य अभियुक्त लामिछानेले प्रहरीले अघि बढाएको छानबिन प्रक्रियालाई सहयोग गर्ने बताएका छन् । पुडासैनीको भिडियो सार्वजनिक हुनेबित्तिकै उनले आफ्नो फेसबुकवालमा लेखेका थिए–‘विचरालाई भ्रम परेछ ।’ पुडासैनीलाई भ्रम परेको हो कि, लामिछानेले आत्महत्याका लागि दुरुत्साहन गरेका हुन् ? भन्ने यर्थाथता प्रहरीको छानबिनपछि मात्रै थाहा हुनेछ, त्यतिञ्जेलसम्मका लागि धैर्य गरेर बस्नुबाहेक अरू विकल्प छैन । तर, छानबिनका लागि प्रहरीलाई बाधा पुर्याउने ठूलो प्रयास भएको छ । शुक्रबार दिनभरि भरतपुर तनावग्रस्त भयो । अभियुक्तमाथि छानबिन हुन दिने प्रयासहरू भए, उत्तेजना फैलाउने हिसाबले नाराजुलुस भए । केही स्थानमा निषेधाज्ञा लगाउनसमेत प्रशासन बाध्य भयो । अभियुक्तमाथि अनुसन्धान नै हुन नदिने प्रयास भए । कानुन हातमा लिने प्रयास भयो । यस्ता प्रयास निन्दनीय छन् । सञ्चारकर्मी लामिछाने निर्दोष प्रमाणित भइदिए नेपाली पत्रकारिता क्षेत्रको इज्जत जोगिने थियो । तर, भरतपुरमा देखिएको यो उत्तेजनाले थप आशंका उत्पन्न गराइदिएको छ । छानबिनका लागि किन बाधा पुर्याइँदै छ ? बाधा पुर्याउनुका पछाडिको रहस्य के छ ? भन्ने प्रश्न स्वाभाविक रूपमा उठेको छ । यति ठूलो अभियोग लागिसकेपछि अब लामिछानेले सफाइ पाउने ठाउँ भनेको प्रहरी तथा अदालतबाटै हो । उनलाई सफाइ दिने निकाय अरू छैनन् । तर, प्रहरी प्रशासन र अदालतमै ढुंगामुढा गर्ने काम भयो । कानुनका अगाडि दादागिरि चल्दैन । छिमेकी मुलुक भारतमा पनि यस्ता घटना हुने गरेका छन् । भ्रमबस जनताहरू अभियुक्तको पक्षमा उभिने र छानबिन तथा अनुसन्धानका लागि बाधा उत्पन्न गराउने थुप्रै घटना भएका छन् । दोषी प्रमाणित भइसकेपछि पनि समर्थकहरूले विश्वास नगर्ने घटनाहरू धेरै छन् ।

आत्महत्या आफैँमा अपराध हो । तर, के–कस्तो बाध्यतामा परेर आत्महत्या गर्यो ? भन्ने कुराको छानबिन हुनै पर्छ । यो प्रकरणमा आत्महत्या गर्ने व्यक्ति स्वयंको भिडियो रेकर्ड सार्वजनिक भएको छ । त्यो भिडियो रेकर्डलाई प्रहरीले पुष्टिसमेत गरेको छ । उनले भिडियो रेकर्डमा बोलेका कुरा सत्य हुन् भने मुलुकमा गम्भीर अपराध फस्टाउँदै गएको प्रमाणित हुन्छ । पत्रकारिता व्यवसायमाथि गम्भीर आँच आउँछ, जनविश्वास गुम्छ । पत्रकारिताका मर्यादा बाँकी रहँदैन । त्यसैले यो घटनाको गम्भीररूपमा छानबिन हुनु जरुरी छ । भिडियो रेकर्डमा उल्लेख भएका कुराहरू सत्य हुन् या झुठा हुन् ? भन्ने प्रमाणित गर्न अभियुक्तत्रयमाथि गम्भीर छानबिन नगरी सम्भव हुन्न । यो सवाल अभियुक्तत्रयमाथिको मात्रै होइन मुलुकको पत्रकारितामाथिकै सवाल हो ।

प्रतिक्रिया