कस्तो पानी पिउने ?

हरेक प्राणीहरूको जीवन पानीले नै धानेको हुन्छ । सम्पूर्ण प्राणीहरूको जीवन प्रक्रियाहरूमा पानीले महत्वपूर्ण भूमिका खेल्छ । खानेकुराको पाचन प्रक्रियामा पनि पानीको प्रचुर मात्रा उपयोग हुन्छ । मानव शरीरको बोसो बाहेकको पिण्डमध्ये लगभग ७२ प्रतिशत पानीले ओगटेको हुन्छ । शरीरले दैनिक कार्यहरू सहजरूपमा गर्न १ लिटर देखि ७ लिटर सम्म पानीको आवश्यकता पर्छ । जलवियोजनबाट बच्न दैनिक क्रियाकलाप, आद्रता, तापक्रमअनुसार फरक मात्रामा पानीको सेवन गर्नु जरुरी हुन्छ । हाम्रो शरीरमा भएको पानी पिसाब, पसिना, दिसा र सास फेर्दा बाफको रूपमा बाहिर जाने गर्दछ ।

मानिसलाई पिउनका लागि धेरै लवण नमिसिएको र प्रदूषित नभएको पानी चाहिन्छ । साधारणतया विषालु रसायनहरू र किटाणुहरूले पानीलाई प्रदुषित बनाउछन्। पानीमा घुल्ने केही रसायनहरू शरीरले ग्रहण गर्न सक्छ यस्ता तत्वहरूले पानीको स्वाद बढाउने गर्दछन् । विश्वको जनसंख्याको वृद्धिसँगै खानेपानीको उपलब्धता पनि घटिरहेको छ । खानेपानीको धेरै उत्पादन गरेर, आवश्यकताअनुसार सही वितरण गरेर र खानेपानीलाई खेर जान नदिएर यसलाई समाधान गर्न सकिन्छ ।

पानी तातो कि चिसो ?
जसलाई दम, ब्रोंकाइटिस, कफजन्य रोग, गठिया, वाथरोग, जार्नी दुख्ने तथा सुन्निने रोग, माटोपन, ज्वरो आदि समस्या छन्, तिनका लागि तताएर सेलाएको मनतातो पानी लाभकारी हुन्छ । चिल्लो, तारेको, बढी भुटेको खाद्यपदार्थ खानेबित्तिकै पानी पिउनुपर्दा मनतातो पानी पिउने गरे शरीरलाई रोगमुक्त राख्न मद्दत पुग्दछ । स्वस्थ व्यक्तिका लागि सामान्य तापक्रमयुक्त शीतल जल उपयोगी हुन्छ । बिहान खालिपेटमा गरिने उषापानमा हलुका मनतातो पानी पेट र पाचन दुवैका लागि अत्युत्तम मानिन्छ ।

वाणभट्ट सूत्रअनुसार तातोपानीको सेवनले खानेकुराको सहज पाचन, घाँटप्का लागि लाभकारी, पच्नमा हलुका, मुत्रथैलीलाई सफा गर्ने, वात एवं कफ रोगविरुद्ध लड्ने, शरीर सफाइ गर्न उपयोगी, नयाँ ज्वरो तथा पिनासमा हितकारी, भोकको कमीमा लाभकारी र लगातारको बाडुली तथा सासको समस्यामा अति स्वस्थकर मानिएको छ । सुश्रुत सूत्र (अध्याय ४५) मा उल्लेख भएअनुसारमा उम्लिएको पानिको भुल्को हराउनुका साथै भुल्कोसँग निस्किएको फिँज मेटिएपछि जब सफा देखिन्छ, त्यो पानि पिउनलाई सबैभन्दा उत्तम हुन्छ । उम्लिएर चार भागमध्ये तीन भाग बाँकी रहेपछि पिउनका लागि त्यस्तो पानी सबै गुणले युक्त मानिन्छ ।

उम्लिएर सेलाएको पानि क्लेशरहित र पच्नमा हलुका हुन्छ । पित्तसम्बन्धी रोग (अपच, कब्जियत, अजीर्ण, एसिडिटी, भोक नलाग्ने) मा अति लाभकारि हुन्छ । तर, उमालेको पानी बासी पारेर पिएमा त्यसले त्रिदोषलाई विकृत बनाउँछ । सुश्रुत सूत्रमा भनिएको छ–उमालेर सेलाएको पानीले पेट पोल्ने, रगतमासी, जन्डिस, मूर्छा, नशापान, विष सेवन, अधिक प्यास, वमन तथा भ्रममा निकै फाइदा पु¥याउँछ । त्यसैगरी, जाँडरक्सी सेवनबाट उब्जने रोग र पेटका रोगहरूमा पनि उत्तम मानिन्छ । जसको शरीरमा त्रिदोष असन्तुलन र पेटको पाचन प्रणाली अस्तव्यस्त छ, रोगबिमारीले गर्दा अति दुब्लो भएको छ, उसका लागि उमालेर चिसो भएको पानि एक घुट्की मात्रै पनि अहितकारी र त्रिदोषकारक हुन्छ ।

‘जलपात्रन्तु ताम्रस्य तदभावे मृदो हितम्’ । अर्थात्, पानी राख्नका लागि सबैभन्दा उत्तम पात्र तामाको भाँडा हो । तामा पछाडि दोस्रो नम्बरमा माटाको भाँडो हितकारी हुन्छ । तामा किटाणुनाशक धातु हो । हाइड्रोजनको दुईवटा र अक्सिजनको एउटा परमाणु मिलेर पानीको अणु बन्दछ । पानीमा भएको अक्सिजनको प्रभाव तामाको अणुमाथि पर्ने हुनाले त्यसको घुलनशीलता कम हुन्छ । फलस्वरूप तामाद्वारा पानीमा भएको किटाणु नाश गर्ने प्रभाव उत्पन्न हुन्छ ।

तातोपानीका कुण्ड
नेपालमा प्राकृतिक रूपमा तातोपानीका कुण्डहरू धेरै छन् । लाखौँ खर्च गर्दा निको नभएको बिमार सञ्चो हुन्छ । लाखौँ रकम खर्च गरी स्वदेश तथा विदेशका महँगा र ठूला अस्पतालमा पुगेर उपचार गर्दा पनि रोग निको नभएपछि दीर्घरोगीहरू पनि तातोपानी कुण्डमा डुबेर बाफिई उपचार गरेपछि निको भएर फर्केका कयौँ उदाहरणहरू छन् । तातोपानी कुण्डमा नेपालको अधिकांश जिल्लाका साथै स्नान गर्नका लागि भारत, जापान र बंगलादेशबाटसमेत बर्सेनि सयौँ विदेशीहरू आउने गरेका छन् ।

प्रतिक्रिया