आपसी द्वन्द्वले महिला आवास सञ्चालन हुन सकेन

बैतडी । सदरमुकाममा रहेको महिला सुरक्षित आवास गृह आरोप प्रत्यारोेपमै जीर्ण हुन पुगेको छ । अन्तरपाटी महिला सञ्जाल र दशरथचन्द नगरपालिकाले एकअर्कालाई आरोप लगाउँदै आएका छन् । कुनै ठाउँमा अवास गृह नहुँदा पीडित र हिंसामा परेका महिला खुला अकास र भाडाका घरमा वस्न वाध्य छन् बैतडीमा भने सरकारले बनाएको आवास गृह आपसी खिचातानीले सञ्चालन हुन सकेको छैन ।

कानुनी उपचार खोज्दै आएका हिंसापीडित महिलालाई सुरक्षित वासका लागि ०७१ सालमा निर्माण गरिएको आवास गृह सुरुदेखि नै सञ्चालनमा हुन सकेन । आवास गृह निर्माणमा दशरथचन्द नगरपालिका र दातृ निकायको आर्थिक सहयोगमा निर्माण गरिएको थियो ।

अहिले आएका हिंसापीडित महिलालाई सदरमुकाममा बस्ने ठाउँ छैन । पीडित महिलाहरूलाई बस्नका लागि पाटनमा रहेको सुरक्षित अवास गृहमा पठाइन्छ । जुन सदरमुकामदेखि ४५ किमी टाढा रहेको छ । कानुनी उपचारका लागि जिल्लामा आएका पीडित महिला बस्ने सुरक्षित आवास गृह नहुँदा पीडित महिलाहरूलाई बस्नका लागि समस्या हुने गरेको महिला अधिकारकर्मी देबु ठगुन्नाले बताइन् ।

आवास गृह निर्माण गर्दा अन्तरपाटी महिला सञ्जालले अगुवाई गरेको हुँदा आवास गृहको जमिन अन्तरपाटी महिला सञ्जालका नाममा रहेको छ । नगरपालिकालाई सञ्चालन गर्नका लागि अनुरोध गर्दा कुनै चासो नदेखाएको अन्तरपाटी महिला सञ्जालको आरोप छ । सञ्जालले नगरपालिकालाई हस्तान्तरण नगरेको नगरपालिकाको आरोप रहेको छ ।

जमिनसहित नगरपालिकालाई हस्तान्तरण नगरे नगरपालिकाबाट सञ्चालन नगरिने दशरथचन्द नगरपालिकाकी नगर उपप्रमुख एवं न्यायिक समिति संयोजक मीना चन्दले बताइन् । ‘सञ्जालले सञ्चालन गर्ने भनेर निर्णय गरेको छ पूरै हस्तान्तरण गरेको छैन । जमिनसहित हस्तान्तरण नगर्दा सञ्चालन गर्दैनौँ’, उपप्रमुख चन्दले भनिन् ।

सबै आफ्नै स्वार्थमा लागेकाले अवास गृह सञ्चालनमा कसैको ध्यान नगएकाले अहिलेसम्म सञ्चालन गर्न नसकेको अन्तरपाटी महिला सञ्जालकी पूर्व अध्यक्ष सरस्वती नेपालीले बताइन् । ‘नगरपालिकाभित्र रहेको नगरपालिकाकै सम्पत्ती हो जमिनसहित हस्तान्तरण गर्न सकिँदैन । बाँकी सञ्चालनको जिम्मा दिएकै छाैँ’, उनले भनिन् । जिल्ला प्रहरी कार्यालय, सरकारी वकिल कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालत दशरथचन्द नगरपालिकाभित्र नै पर्दछन् । जिल्लाभरीका हिंसापीडित महिलाहरू सदरमुकामै आउने हुँदा यो महिला अवास गृह सञ्चालन हुन अनिवार्य देखिन्छ ।

प्रतिक्रिया